नेपाल बैंकको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको जेठ १ गतेको निर्णयअनुसार पौडेल अध्यक्षमा नियुक्त भएका हुन् । मंगलबार उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्रालयको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेकी सञ्चालक माया आचार्यले दिएको राजीनामा स्वीकृत भएपछि उक्त पद रिक्त बनेको थियो । त्यसपछि पौडेलको नियुक्ति गरिएको बैंकले जनाएको छ ।  यसअघि अध्यक्ष रहेका प्रा. डा. डिल्लीराज शर्माले गत वैशाख २४ गते राजीनामा दिएका थिए । जेठ १ गतेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो ।

नेपाललाई ग्रे-लिस्टबाट बाहिरिने दबाब, एपीजी टोली र गभर्नर पौडेलबीच भेट

काठमाडौं । गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र नेपाल भ्रमणमा रहेको एशिया प्यासिफिक ग्रुप अन मनि लाउण्डरिङ (एपीजी) का डेपुटी कार्यकारी सेक्रेटरी डेभिड शानन नेतृत्वको टोलीबीच आज भेटवार्ता भएको छ ।  सो अवसरमा उनीहरूबीच फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को सघन अनुगमन सूची (ग्रे-लिस्ट) मा सूचीकृत भएपश्चात् नेपालले गरेको प्रगतिको अवस्था र आगामी रणनीतिबारे छलफल भएको छ ।  साथै, बैंकिङ क्षेत्रको सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम मूल्याङ्कन तथा जोखिममा आधारित सुपरिवेक्षण, कानुनी तथा नीतिगत सबलीकरण, पारदर्शिता प्रवर्द्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय र निजी क्षेत्रसँगको समन्वय, इन्टरनेशनल को-अप्रेसन रिभ्यू ग्रुप (आईसीआरजी) मा गरिने रिपोर्टिङ लगायतका विषयमा समेत छलफल भएको छ ।  भेटवार्तामा ‘ग्रे-लिस्ट’को सूचीबाट बाहिरिने सन्दर्भमा संस्थागत क्षमता विकास र अन्तर्राष्ट्रिय वित्तीय निकायबाट प्राप्त हुनसक्ने सम्भाव्य प्राविधिक सहयोगका विषयमा समेत उनीहरूबीच छलफल भएको छ । त्यस क्रममा गभर्नर पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा सम्बद्ध अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सुझावको कार्यान्वयनका निम्ति नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको धारणा राखे ।  नेपाल एफएटीएफको ‘ग्रे-लिस्ट’मा परेपश्चात् एपीजीको तर्फबाट भएको यो पहिलो भ्रमण हो । भेटवार्तामा एपीजीका पोलिसी अफिसर किया सासल र विश्व बैंकका अधिकारीहरूको समेत उपस्थिति थियो । सो बैठकमा बैंकका सम्बद्ध विभागका कार्यकारी निर्देशक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, वित्तीय जानकारी इकाइका प्रमुख लगायतको उपस्थिति थियो । 

गौतमबुद्ध विमानस्थलमा ३ बैंकका एटीएम राखिने, भाडा १.९२ लाख रुपैयाँ

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फरक फरब बैंकका तीन वटा एटीएम मेशिन सञ्चालन गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक आगमन (डोमेस्टिक अराइभल) भवन बाहिर एटीएम लाउन्ज सञ्चालन गरिने भएको हो ।  विमानस्थल नागरिक उड्डयन कार्यालय सिद्धार्थनगर, रूपन्देहीले बैंकहरूलाई एटीएम सेवा सञ्चालनका लागि ठेक्का प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । कार्यालयका अनुसार आन्तरिक आगमन भवन बाहिर प्रत्येक एटीएमका लागि २ वर्गमिटर क्षेत्रफलका दरले जम्मा ३ वटा फरक-फरक बैंकका एटीएम राखिनेछ । यसको ठेक्का अवधि ५ वर्ष रहनेछ । प्रति एटीएम न्यूनतम ठेक रकम १ लाख ९२ हजार ९६० रुपैयाँ तोकिएको छ । विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार बढाबढ प्रक्रियाबाट ठेक्का बन्दोबस्त गरिने कार्यालयले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वा ‘ख’ वर्गको इजाजत प्राप्त इच्छुक बैंकहरूले २१ दिनभित्र तोकिएको दस्तुर बुझाएर बोलपत्र फारम खरिद गर्न सक्नेछन् ।