संस्थापक र सर्वसाधारण सेयर भएका सेयरधनीले सर्वसाधारण कोटाबाट सञ्चालन बन्न नपाउने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको संस्थापक र सर्वसाधारण दुवै समूहको सेयर धारण गरेका सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक पदमा उम्मेदवारी दिन नपाउने सर्वोच्च अदालतले फैसला गरेको छ । सिटिजन्स बैंकको १९औँ वार्षिक साधारणसभाको क्रममा संस्थापक र सर्वसाधारण दुवै समूहको सेयर धारण गरेका एक सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक बन्न पाउनुपर्ने भन्दै विवाद उठाएपछि सर्वोच्च अदालतले सो विषयमा अन्तिम व्याख्या गरेको हो । उत्पन्न विवादका कारण सञ्चालक समिति निर्वाचन नै रोकिएको थियो । साधारणसभा अघि बैंकको संस्थापक र सर्वसाधारण दुवै समूहको सेयरधनी रहेका रत्नेश्वरप्रसाद शर्माको उम्मेदवारी निर्वाचन समितिले अस्वीकृत गरेको थियो । तर, अन्तिम फैसलामा सर्वोच्चले उनको रिट खारेज गर्दै निर्वाचन समितिको निर्णय सदर गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले २०८२ चैत १५ गते गरेको फैसलाअनुसार शर्माको मौलिक हक हनन भएको नदेखिएको ठहर गरेको हो । यससँगै अब बैंक तथा वित्तीय संस्थामा संस्थापक र सर्वसाधारण दुवै समूहको सेयर धारण गर्ने सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक पदमा उम्मेदवारी दिन नपाउने भएका छन् । उनीहरूले संस्थापक समूहबाट मात्र उम्मेदवारी दिन पाउने व्यवस्था कायम रहनेछ । फैसलाको पूर्ण पाठमा बैंकिङ क्षेत्रमा स्वार्थको द्वन्द्व रोक्न र संस्थागत सुशासन कायम गर्न यस्तो व्याख्या गरिएको उल्लेख छ । सर्वोच्चले बैंकिङ संस्थाहरू सर्वसाधारणको निक्षेपमा आधारित हुने भएकाले संस्थागत सुशासन अत्यन्त महत्त्वपूर्ण हुने ठहर गर्दै स्वार्थको द्वन्द्व हुने सम्भावना औंल्याएको छ । संस्थापक समूहमा संलग्न व्यक्ति सर्वसाधारण समूहबाट सञ्चालक हुँदा वास्तविक प्रतिनिधित्व हुन्छ वा हुँदैन भन्ने प्रश्न गम्भीर हुने र यसले पारदर्शितामा असर पार्न सक्ने देखिएको फैसलामा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले राष्ट्र बैंकलाई नियमनकारी अधिकार दिएको र सोही आधारमा निर्देशन जारी गर्ने अधिकार वैध रहेको पनि अदालतले स्पष्ट गरेको छ । यससँगै रत्नेश्वरप्रसाद शर्माको रिट खारेज भएको छ र बैंक तथा वित्तीय संस्थामा सञ्चालक चयनसम्बन्धी कानुनी व्यवस्था थप स्पष्ट बनेको छ ।
एनएमबि बैंकद्वारा तमु समुदायका ४० विद्यार्थीलाई शैक्षिक सहयोग
काठमाडौं । एनएमबि बैंक लिमिटेडले तमु धिं नेपाल सँगको सहकार्यमा तमु समुदायका ४० जना जेहन्दार विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको ४२औँ स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो । कार्यक्रममार्फत गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा बैंकका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित लगायतले संयुक्त रूपमा वितरण गरेका थिए । कार्यक्रममा बोल्दै राजिव रञ्जितले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासका क्षेत्रमा बैंकको सहकार्य निरन्तर रहने बताए । एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
एसएमई कर्जामा सुरक्षण योजना सुरु, राष्ट्रिय वाणिज्य बैंकको पहल
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच भएको सम्झौताअनुसार ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ कार्यान्वयनमा आएको छ । साना तथा मझौला कर्जा लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको उक्त योजना स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजना अन्तर्गत सञ्चालनमा ल्याइएको हो । यस योजनाअन्तर्गत कोशी प्रदेशका साना तथा मझौला उद्यम व्यवसायहरूमा प्रवाह हुने कर्जाको सुरक्षणका लागि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषको सहकार्यमा स्थापना गरिएको ‘कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष’ मार्फत कर्जा सुरक्षण गरिनेछ । बैंकको आरबीबी एसएमई लोन प्रोडक्टअन्तर्गत कृषि, उद्योग तथा सेवा क्षेत्रका साना तथा मझौला व्यवसायलाई ३० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइनेछ । उक्त कर्जामा बैंकको नियमानुसार न्यूनतम ब्याजदर तथा प्रशोधन शुल्क कायम गरिएको छ । वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रहरूमा ३१४ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३३४ एटीएम र ९९ शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।