ऋण नतिर्दा बैंकहरूको एनबीए ४६.१० अर्ब रुपैयाँ पुग्यो, ७ बैंकले घटाए

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति (एनबीए) ४६ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४६ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत अर्थात् ७ अर्ब ६९ करोड ६० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को चैतसम्म बैंकहरूमा ३८ अर्ब ४१ करोड १४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो । तथ्याङ्कअनुसार बैंकहरूमा गैरबैंकिङ सम्पत्ति निरन्तर बढ्दै गएको देखिएको छ। ऋणीहरूले कर्जा चुक्ता गर्न नसकेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्ने अवस्था आएको छ। तर, लिलामीमा धितो बिक्री हुन नसकेपछि बैंकहरू आफैंले ती सम्पत्ति सकार्न बाध्य भएका हुन् । बैंकहरूका अनुसार गैरबैंकिङ सम्पत्ति वृद्धिमा कर्जा डिफल्टको प्रभाव स्पष्ट देखिएको छ । ऋण असुली हुन नसक्दा त्यस्ता कर्जालाई खराब कर्जा (एनपीएल) मा वर्गीकरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।  बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढ्नु सकारात्मक संकेत मानिँदैन । त्यसैले नेपाल राष्ट्र बैंकले निष्क्रिय तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । तर, उक्त कम्पनी सञ्चालनको मोडालिटी र कार्यप्रक्रियाबारे हालसम्म ठोस पहल अघि बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म हिमालयन बैंकमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति (एनबीए) रहेको छ । बैंकको गैरबैंकिङ सम्पत्ति ६ अर्ब ८ करोड १२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.२३ प्रतिशत अर्थात् ९३ करोड ७७ लाख रुपैयाँले बढी हो। गत वर्ष चैतसम्म बैंकमा ५ अर्ब १४ करोड ३५ लाख रुपैयाँ बराबरको एनबीए रहेको थियो । समीक्षा अवधिमा सबैभन्दा धेरै प्राइम बैंकको गैरबैंकिङ सम्पत्ति वृद्धि भएको देखिन्छ । बैंकको एनबीए १०९.३५ प्रतिशत अर्थात् २ अर्ब ६० करोड ९६ लाख रुपैयाँ ४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकमा २ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा १२ बैंकको गैरबैंकिङ सम्पत्ति वृद्धि हुँदा ७ बैंकको भने घटेको छ । चालु आवको चैत मसान्तसम्ममा एनएमबि बैंकको ७६.३९ प्रतिशत अर्थात् ८७ करोड ४५ लाख रुपैयाँ बढेर २ अर्ब १ करोड ९१ लाख रुपैयाँ, सिटिजन्स बैंकको ५२.३१ प्रतिशत अर्थात् ५३ करोड ९६ लाख रुपैयाँ बढेर १ अर्ब ५७ करोड १२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ५२.१९ प्रतिशत अर्थात् ४६करोड ५९ लाख रुपैयाँ बढेर १ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ ।  यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ४८.५४ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड २८ लाख रुपैयाँ बढेर ४ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ, प्रभु बैंकको ४२.४० प्रतिशत अर्थात् ५६करोड ४२ लाख रुपैयाँ बढेर १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४१.४० प्रतिशत अर्थात् ७० करोड ८९ लाख रुपैयाँ बढेर २ अर्ब ४२ करोड १४ लाख रुपैयाँ, कृषि विकास बैंकको ३७.६१ प्रतिशत अर्थात् ३७ करोड ९६ लाख रुपैयाँ बढेर १ अर्ब ३८ करोड ८८ लाख रुपैयाँको सम्पत्ति रहेको छ ।  यस्तै, सानिमा बैंकको २९.७० प्रतिशत अर्थात् २५ करोड ३५ लाख रुपैयाँ बढेर १ अर्ब १० करोड ७१ लाख रुपैयाँ, नेपाल बैंकको १४.४७ प्रतिशत अर्थात् २ करोड ९५ लाख रुपैयाँ बढेर २३ करोड ३६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ७.४१ प्रतिशत अर्थात् ५ करोड ५८ लाख रुपैयाँ बढेर ८१ करोड १ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । तर, समीक्षा अवधिमा विभिन्न ८ वटा बैंकले भने आफ्नो गैरबैंकिङ सम्पत्ति घटाएका छन् । माछापुच्छ्रे बैंकको ३४.८३ प्रतिशत अर्थात् ३३ करोड ७१ लाख रुपैयाँ घटेर ६३ करोड ७ लाख रुपैयाँ, एभरेष्ट बैंकको १७.२८ प्रतिशत अर्थात् १० करोड ५ लाख रुपैयाँ घटेर ५० करोड ६८ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ९.१४ प्रतिशत अर्थात् ४१ करोड ९५ लाख रुपैयाँ घटेर ४ अर्ब १६ करोड ८० लाख रुपैयाँमा गैरबैंकिङ सम्पत्ति सीमित राखेका हुन् ।  यस्तै, नबिल बैंकको ६.६६ प्रतिशत अर्थात् २५ करोड ३१ लाख रुपैयाँ घटेर ३ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २.८० प्रतिशत अर्थात् ८९ लाख रुपैयाँ घटेर ३१ करोड ९ लाख रुपैयाँ, कुमारी बैंकको १.३८ प्रतिशत अर्थात् ३ करोड ५१ लाख रुपैयाँ घटेर २ अर्ब ५१ करोड ११ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १.२६ प्रतिशत अर्थात् ७ करोड ६१ लाख रुपैयाँ घटाएर ५ अर्ब ९२ करोड १८ लाख रुपैयाँमा गैरबैंकिङ झारेका छन् । 

कर्मचारीलाई थप काममा लगाउँदा बैंकहरूले अतिरिक्त पारिश्रमिक दिनुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूलाई अतिरिक्त समयमा काममा लगाउँदा अतिरिक्ति सेवा सुविधा दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै कार्यालय समयका अतिरिक्त काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्ति पारिश्रमिक दिन भनिएको हो । ‘कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।  साथै बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन नं. १४ को बुँदा नं. ३. बमोजिम हुने गरी काममा लगाउनु पर्नेछ । यस्तै, राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।  ‘ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन संस्थाले त्यस्ता ग्राहकहरूका लागि विशेष काउण्टर तोकी सेवा प्रदान गर्नुपर्नेछ,’ निर्देशनमा उल्लेख छ ।  बैंक वित्तीय संस्थाले एकापसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्न राष्ट्र बैंकको निर्देशन छ ।  बैंक तथा वित्तीय संस्थाले ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका सङ्केत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ ।  राष्ट्र बैंकका अनुसार अपाङ्गता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्नसक्ने स्वघोषणा गरेको खण्डमा इजाजतप्राप्त संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ । आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता  भएका व्यक्तिलेसमेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ । त्यस्तै, क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधिसमेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

कृषि विकास बैंकद्वारा मण्डन देउपुरमा २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण

काठमाडौं । कृषि विकास बैंकले विभिन्न सामाजिक कार्यहरू सञ्चालन गरेको छ । सोही क्रममा जेठ ७ गते बिहीबार मण्डन देउपुर नगरपालिका–८ स्थित डेडी थुम्का माध्यमिक विद्यालयका २३२ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ । उक्त विद्यालयमा स्थानीय दनुवार समुदायसहित गरिब तथा सिमान्तकृत वर्गका बालबालिका अध्ययनरत छन् । स्रोत अभावका बीच अध्ययन गरिरहेका विद्यार्थीलाई प्रदान गरिएको यस सहयोगले उनीहरूलाई प्रत्यक्ष लाभ पुगेको विद्यालयले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रम विद्यालय परिसरमै आयोजना गरिएको थियो । कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइवाको प्रमुख आतिथ्यता रहेको थियो । उनले नगरपालिकाको मुख्य आयस्रोत कृषि रहेको उल्लेख गर्दै कृषि विकास बैंकसँगको सहकार्यले स्थानीय विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, कृषक तथा कृषि क्षेत्रमा सहकार्य विस्तार गर्न बैंकलाई आग्रह गरे । कार्यक्रममा बैंकका सञ्चालक विनोद कुमार गुरागाईंले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै विद्यालयसँग दीर्घकालीन सहकार्यमार्फत गरिब विद्यार्थीको क्षमता अभिवृद्धिमा काम गर्न इच्छुक रहेको उल्लेख गरे । बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईंले विद्यार्थीहरूको उत्साह र आवश्यकतालाई ध्यानमा राख्दै सही स्थान छनोट गरिएकोमा खुशी व्यक्त गरे । सहयोग कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति उनले धन्यवाद पनि व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल सापकोटाले विभिन्न स्रोत जुटाएर विद्यालय विकासमा काम गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा नगरपालिकाका उपमेयर विष्णु मणि नेपाल, कृषि विकास बैंकका मार्केटिङ तथा सेल्स विभाग प्रमुख वीणा शर्मा, बागमती प्रदेश कार्यालयका निर्देशक चन्द्र सिंह थापा, पाँचखाल शाखा प्रमुख विनोद कोइराला लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।