शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ । चालु आर्थिक वर्षको ५ महिनामा चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँ घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता २९८ अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंकको लाभांश पारित भएको छ । बैंकका‍े ३८ औं वार्षिक साधारण सभा संचालक समितिको प्रस्तावित लाभांश पारित गरेका ३० प्रतिशत लाभांश पारित गरेको हो । बैंकको सञ्चालक समितिले गत आ।व। २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी यस वर्ष २७ अर्ब नाघेको छ । साधरणसभाले संस्थापक सेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ । नबिल बैंक आ.व. २०७८/७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो । बैंकले स्थापनाकालदेखि हालसम्म १९ अर्बभन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ । नबिल बैंकले २४० वटा शाखाहरू, २७५ वटा एटिएम र ८ वटा रेमिट एजेन्टहरूमार्फत सेवा दिइरहेको छ ।

‘५ वर्षभित्र एनआइसी एशिया १० खर्बको बैंक बन्छ, लाभांशमा टप वान हुन्छ’

काठमाडौं । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानले एनआइसी एशिया बैंक अबको ५ वर्षभित्र १० खर्बको बैंक बन्ने धारणा राखेका छन् । बैंकको २५औं वार्षिक साधारणसभामा उनले बैंकले पछिल्लो समय बिजनेसमा एकपछि अर्का छलाङ मार्दै गएकोले अबको ५ वर्षपछि कुल ५ खर्बको सम्पत्ति भएको बैंक हुने बताएका हुन् । उनले बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको बताउँदै हालसम्म ती लक्ष्य र योजनाहरु पनि हासिल गर्दै गएको बताएका छन् । ‘बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको छ, ती योजनाहरुमा हामी सफल पनि भइरहेका छौं, उपलब्धिहरु पनि हासिल भइरहेका छन्, अबको ५ वर्षमा एनआइसी एशिया कुल १० खर्बको बैंक हुन्छ,’ उनले कार्यक्रममा भने । यस्तै, उनले नेपाल राष्ट्र बैंकले क्यापिटल एडुकेसीमा कडाइ गर्दा लाभांश दिन नसकेको पनि प्रष्ट पारेका छन् । वर्षभर नै क्यापिटल एडुकेसी कायम गर्न निर्देशन दिए पनि बैंकले नसक्दा लाभांश वितरणमा रोक लगाएको उनको भनाइ छ । तर, अघिल्लो वर्ष र गत वर्षको नाफाबाट सेयरधनीले लाभांश नपाएपनि उनीहरुको सम्पत्तिमा भने क्षयीकरण नभएको धारणा राखे । यस्तै, बैंकिङ क्षेत्रभन्दा एनआइसी एशियाको तीन गुणा बढी प्रतिसेयर आम्दानी रहेको उनको भनाइ छ । उनले आगामी वर्ष लाभांश दिन कुनै समस्या नभएको बताए । ‘बैंकिङ क्षेत्रकै धेरै लाभांश दिने क्षमता एनआइसी एशिया बैंकसँग छ, सेयरधनिले तत्काल लाभांश नपाएपनि लगानीकर्ताको सम्पत्तिमा कुनै क्षयिकरण हुँदैन, यो दुई वर्ष लाभांश पाउन नसके पनि विगत ५ वर्षमा बैंकका सेयरधनीले धेरै लाभ लिएका छन्,’ उनले कार्यक्रममा भने ।