कृषि विकास बैंकले दुई अस्पतालमा सुरु गर्यो क्युआर सेवा
काठमाडाैं । सिभिल बैंकले दुई अस्पतालमा क्युआर सेवा सुरु गरेकाे छ । बैंकलेकाठमाडाैंकाे सिभिल अस्पताल र भरतपुरकाे वि पि काेइराला क्यान्सर अस्पतालमा क्युआर सेवा सुरु गरेकाे हाे । येसँगै दुई अस्पतालका सेवाग्राहीले बिलमा भएको भुक्तानीका लागि क्यू.आर.कोड स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । बैंकको मोबाइल बैंकिङ सेवाको माध्यमबाट तथा फोन पे नेटवर्कमा आवद्ध विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले क्यूआर कोड स्क्यान गरी सेवाशुल्क सिधै अस्पतालको खातामा जम्मा गर्न सक्ने बैंकले जनाएकाे छ । बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिई डिजिटल नेपाल बनाउन योगदान दिने उद्धेश्यले यस्तो योजना ल्याएको कुरा निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले जानकारी बताए । क्यू.आर.कोडबाट भुक्तानी गर्दा ग्राहकको कारोबार पूर्ण रुपमा सुरक्षित हुने र कारोबारमा फरक परेमा हिसाव मिलान पनि सहज हुने कुरा बैंकको डिजिटल बैंकिङ विभागकका विभागीय प्रमुख गिरीराज रेग्मीले बताए । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा विगतदेखि जोड दिँदै आइरहेको छ ।
बैंकहरुले ग्रेस अवधिको पूँजीकृत ब्याजलाई आम्दानीमा देखाउन नपाइने, यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले ग्रेस अवधिमा पाकेको ब्याजलाई आम्दानी देखाउन नपाउने व्यवस्था गर्न लागेको छ । राष्ट्र बैंकले शुक्रबार ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्थाको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्दै सो व्यवस्था गर्न लागेको बताएको हो । बैंकहरुले अहिले ग्रेस अवधिमा पाकेको ब्याजलाई पूँजीकरण गर्दै ऋण खातामा जोडेर आम्दानी देखाउँदै आएका छन् । राष्ट्र बैंकले अब सो व्यवस्था बदल्न लागेको हो । सामान्यतया एक वर्षभन्दा वढी ग्रेस अवधि राखी आवधिक कर्जा प्रदान गर्न नपाइने व्यवस्था मस्यौदामा छ । तर, व्यवसाय तथा परियोजनाको प्रकृति अनुसार सो भन्दा बढी ग्रेस अवधि प्रदान गर्नुपर्ने भएमा के कति कारणले र कुन कुन आधारमा बढी ग्रेस अवधि कायम गर्नुपरेको हो सोको व्यहोरा खुलाई स्वीकृत गर्ने अख्तियार प्राप्त अधिकारीले ऋणीले पेश गरेको र सोको औचित्यको आधारमा निर्णय गर्न सक्नेछ । र, सो को अनुमोदन कर्जा स्वीकृत गर्न अख्तियार प्राप्त अधिकारी भन्दा एक तह माथिल्लो अधिकारीबाट गराउनु पर्ने उल्लेख छ । यस प्रयोजनको लागि सबैभन्दा माथिल्लो तह सञ्चालक समिति हुनेछ । एक पटक तय गरिएको ग्रेस अवधि थप गरेमा त्यस्तो कर्जालाई पुनरसंरचना/पुनरतालिकीकरण गरेको मानिने र सोहि बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था छ । ग्रेस अवधि भन्नाले कर्जा प्रवाह शुरु भएको मितिदेखि कर्जाको किस्ता भुक्तानी गर्न शुरु हुने मिति हो । ग्रेस अवधिको ब्याजलाई पुँजीकरणगर्दा पुँजीकृत ब्याज रकमलाई ब्याज पूँजीकरण टर्म लोन शिर्षकमा छुट्टै लेखांकन गर्नु पर्ने, टर्म लोनमा लेखांकन भएको पुँजीकृत ब्याज बराबरको रकमलाई ब्याज पूँजीकरण रिजर्व खातामा क्रेडिट लेखांकन गरी कन्ट्रा हिसाब राख्नुपर्ने व्यवस्था गर्ने उल्लेख छ । सो शिर्षकमा लेखांकन गरिएको पुँजीकृत ब्याज रकम प्राप्त भएपश्चातमात्र नाफा नोक्सान हिसाबमा लेखांकन गर्नु पर्ने र सोही बराबरको रकम रिजर्व ब्याज पूँजीकरण खाताबँट घटाउदै लानु पर्ने मस्यौदामा उल्लेख छ । यस्तै, परियोजनको नगद प्रबाह विश्लेषण गरी टर्म लोनको भुक्तानी अवधि तोक्न सकिने व्यवस्था गरिने मस्यौदामा उल्लेख छ । यी हुन् ब्याज पुँजीकरणका लागि तोकिएका क्षेत्र (क) जलविद्युत उत्पादन, प्रशारण तथा वितरण लगायतका उर्जामूलक उद्योग । (ख) स्वदेशी कच्चा पदार्थ प्रयोग हुने क्लिङ्कर तथा सिमेन्ट उत्पादन सम्बन्धी उद्योग । (ग) औषधि उद्योग । (घ) केबुलकार उद्योग । (ङ) चिनी उत्पादन सम्बन्धी उद्योग । (च) दूग्ध जन्य वस्तु उत्पादन उद्योग । (छ) नेपाल सरकारको सम्बन्धित निकायवाट मनसाय पत्र प्राप्त गरेका मेडिकल कलेजहरु । (ज) पर्यटक स्तरीय होटलहरु । (झ) अस्पताल । (ञ) फलफूल, मसला, जडिबुटी लगायतका दीर्घकालीन कृषि परियोजनाहरु । (ट) स्वदेशी कच्चा पदार्थ प्रयोग हुने लेदो रेशा तथा कागज उद्योग ।
ग्राहकलाई जानकारी नदिएरै बैंकहरुले घटाउन थाले बचत खाताको ब्याज, कतिले घट्यो ?
काठमाडौं । बैंकहरुले बचत खाताको ब्याजदर पनि घटाएका छन् । मुद्दति खाताको ब्याज घटाएसँगै बचत खाताको ब्याजदर पनि धमाधम घटाउन थालेका हुन् । नेपाल बैंकर्स संघले माघदेखि मुद्दति खाताको ब्याज घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरुले पनि ब्याज घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । संघको बैठकले निक्षेपको ब्याज १.१३ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको थियो । संघको सो निर्णय सँगै वाणिज्य बैंकहरुले ११ प्रतिशत व्याजदर सार्वजनिक गरेका थिए । यसअघि १२.१३ प्रतिशत रहेको वाणिज्य बैंकको ब्याजदर अहिले ११ प्रतिशत छ । .बचतको ब्याजको विषयमा भने संघले कुनै निर्णय गरेको थिएन । तर, अहिले बैंकहरुले ग्राहकलाई जानकारी नै नगराई बचत खाताको ब्याज धमाधमा घटाइरहेका छन् । यसअघि अधिकांश वाणिज्य बैंकहरुले बचत खातामा ७.१३ प्रतिशत ब्याज दिन्थे तर अहिले घटाएर ६.४२ प्रतिशत कायम गरेका छन् । एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकतले अहिले अधिकांश बैंकहरुले बचतको ब्याज घटाएको बताए । उनका अनुसार बैंकहरुले मुद्दति खाताको ब्याज घटाएसँगै बचत खाताको पनि घटाउनु पर्ने बाध्यता रहेको सुनाए । उनका अनुसार अब नयाँ कर्जाको ब्याज पनि घट्न सक्छ । ‘मुद्दति निक्षेपको ब्याज घटेपछि बचतको पनि अवश्य नै घट्छ, कर्जाको ब्याजदर पनि विस्तारै घट्दै जान्छ, बैशाखसम्म बैंकको आधारदर पनि घट्न सक्छ,’ पुराना ऋणीको ब्याजदर भने पुरानै हुन सक्छ तर नयाँ कर्जामा ब्याजदर घट्न सक्छ,’ ती सीईओले भने । बैंकहरुले संस्थागत मुद्दती निक्षेपको व्याजदर भने ९ प्रतिशतमा झारेका छन् । त्यस्तै रेमिट्यान्स तर्फको मुद्दती निक्षेपको व्याजदर भने १२ प्रतिशत रहेको छ । नयाँ सरकार बनेसँगै अर्थमन्त्रीको दबाबमा राष्ट्र बैंकले पनि सल्लाह दिएपछि बैंकहरु ब्याज घटाउन बाध्य भएका हुन् । बैंकहरुले ब्याज घटे वा बढेमा ग्राहकलाई जानकारी गराउनु पर्ने प्रावधान छ । तर, अहिले बैंकहरुले ग्राहकलाई जानकारी नै नदिई धमाधम बचत खाताको ब्याज घटाइरहेका हुन् ।