सानिमा बैंकको खातावाली अधिकारीले पाइन् तीन लाख रुपैयाँ

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला राम माया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् । राम माया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, ५० हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बंैकले देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा ल्याएको छ ।

नेपाल रेमिट र एनएमबी बैंकबीच सम्झौता, नेपालमा रेमिट्यान्स् रकम पाउन सहज हुने

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र एनएमबी बैकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिने भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे । नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ । यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेशनलका नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।

काठमाडौंका ३ ठाउँको घरजग्गा बेच्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले (साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक गाभिएर बनेको संस्था) को नाममा रहेको दर्ता भएको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले मालपोत कार्यालय कलंकी र डिल्लीबजारमा दर्ता रहेका विभिन्न ठाउँको घरजग्गा बिक्री गर्न लागेको हो । बैंकका अनुसार काठमाडौं महानगरपालिका १३ स्थित कित्ता नम्बर क्रमशः १३५ (१०३.३१ व.मि.), ९३ (१५७.६० व.मि.), १३४ (२७८.६९ व.मि.) र १३२ (१५८.९५ व.मि.) क्षेत्रफल भएको घरजग्गा, साविक मातातिर्थ गा.वि.स. ६ (ख) स्थित कित्ता नम्बर ३३९ (०–७–२–० रोपनी) र कित्ता नम्बर ३४० (०–७–२–०) का घरजग्गाहरु र काठमाडौं महानगरपालिका ३ स्थित कित्ता नम्बर ४० (१३३.८० व.मि.) को घरजग्गा तथा सो जग्गाले चर्चेका सम्पूर्ण सामाग्री बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी असार २४ गते भित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।