राष्ट्र बैंकले मौद्रिक नीतिको लागि संकलन गर्याे निजी क्षेत्रबाट सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि निजी क्षेत्रसँग सुझाव लिएको छ । बिहीबार मेरियट होटलमा एक कार्यक्रमको आयोजना गरी निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग आगामी आर्थिक वर्ष २०८०÷८१ का मौद्रिक नीतिका लागि सुझाव संकलन गरेको हो । राष्ट्र बैंकले आयोजना गरेको सो कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्धय डा. नीलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र लगायत कार्यकारी निर्देशक र सम्बन्धीत विभागका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ लगायतको उपस्थिती थियो । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले कर्जा दुरुपयोग बढ्दै गएकोले रोक्नका लागि चालू पुँजी कर्जा मार्गदर्शन ल्याइएको बताए । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले सो मार्गदर्शन खारेज वा संशोधन हुनु पर्ने आवाज उठाए पनि गभर्नर अधिकारीले आफू पछि नहट्ने बताए । चालू पुँजी कर्जा मार्गदर्शनले ठूलो सुधार गरेको उनको भनाइ छ । उनले बैंकिङ प्रणालीमा रहेको विकृति हटाइरहेको बताए ।

सिटिजन्स बैंकले ज्येष्ठ नागरिक भवन निर्माण गर्नलाई दियो १ लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंकले नेपालगन्ज स्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे छ । ज्येष्ठ नागरिकहरूका लागि क्लब सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको हो । जसले उनीहरूको विभिन्न समस्याहरूलाई एउटै छानामुनि सम्बोधन गर्न र समाजमा कुनै पनि विषयको सन्दर्भमा उनीहरूको आवाजलाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ । जेष्ठ नागरिक क्लबले उनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न, सदस्यहरूद्वारा पारस्परिक रूपमा लाभ उठाउन र पुनः निर्माण गर्न मद्दत गर्ने लक्ष्य राखेको छ । बैंकले नेपालगन्जमा आयोजित कार्यक्रममा एक लाख एक हजार रुपैयाँको चेक संस्थाका अध्यक्ष अजित कुमार शर्मा लाई हस्तान्तरण गरेको छ । ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष अजितकुमार शर्माले जानकारी दिए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । बैंकले धारापानी शाखा सहित देशैभरी फैलिएका आफ्ना १८४ वटा शाखा, १४१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ९० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृति भएको छ । एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो । १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा नबिल बैंक विजेताको रूपमा छनोटमा परेको थियो । बैंकले प्राप्त गरेको यो अवार्ड बैंकले लिएको डिजिटल बैंकिङ र नवीनतम सोचको उपज रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए । यो अवार्डले अझै आफ्ना ग्राहक, कर्मचारी, लगानीकर्ता र बृहत् समुदायका लागि दिगो, सरल र उत्तम बैंकिङ सेवा ल्याउनेमा थप उर्जा दिएको उनले बताए । एनबैंक, बैंकमा ग्राहकको उपस्थिति विनानै डिजिटल बैंकिङ सेवा प्रदान गर्ने नेपालकै पहिलो मोबाइल बैंकिङ प्लेटफर्म हो । ग्राहकहरूलाई कुनै पनि शाखामा भौतिक फारम नभरी वा कुनै शाखामा नगई एन बैंकको सहयोगमा सेवा लिन सकिन्छ । यो अवार्डसँगै बैंकले नेपाली बैंकिङ क्षेत्रमा पुनः एक अगुवा साबित भएको बैंकको बुझाई छ । यस अवार्ड प्राप्तिले थप सृजनशील डिजिटल सेवा दिने संकल्पलाई उत्साहित गरेको बैंकले जनाएको छ । नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । देशभरी २५५ शाखाहरू र २८३ एटिएमहरू सहित, बैंकले ग्राहकको सन्तुष्टि र सेवामा उत्कृष्टताप्रति प्रतिबद्धतालाई सुदृढ गर्दै आफ्ना ग्राहकहरूको विकासशील आवश्यकताहरू पूरा गर्न प्रयासरत छ। आफ्नो डिजिटल फुटप्रिन्टलाई थप विस्तार गर्न र डिजिटल बैंकिङतर्फ विश्वव्यापी परिवर्तनसँग पङ्क्तिबद्ध गर्न, नबिल बैंकले बैंक भित्र भर्चुअल शाखा एनबैंक स्थापना गरेको छ ।