बैंकहरुबीच अन्तर कारोबार बन्द
काठमाडौं । वाणिज्य बैंकहरुबीच अन्तर कारोबार बन्द नै भएको छ । अहिले वाणिज्य बैंकहरुमा प्रयाप्त तरलता भएपछि एक बैंकले अर्को बैंकसँग सापटी लिने प्रक्रिया बन्द भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुको अन्तर बैंकदर नै शून्यमा झरेको छ । यसअघि २.६५ प्रतिशत रहेको अन्तर बैंकदर अहिले शून्यमा झरेको हो । बैंकहरुले लगानी योग्य पुँजीको अभाव भएपछि एक बैंकले अर्को बैंकसँग सापटी लिएर गर्जो टार्ने गर्छन् । तर, प्रयाप्त रकम भएपछि यो प्रक्रिया रोक्छन् । अहिले बैंकहरुसँग प्रयाप्त मात्रामा पैसा भएपछि अन्तर बैंक कारोबार रोकेका हुन् । अन्तर बैंक कारोबार बढेपछि ब्याजदर पनि लगातार बढ्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल बैंकहरुसँग कुल ५५ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप छ भने कुल ४८ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुको सीडी रेसियो पनि सहज अवस्थामा देखिएको छ । हाल बैंकहरुको औसत सीडी रेसियो ८४.०१ प्रतिशत कायम भएको छ । तरलता सहज भएसँगै सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ट्रेजरी बिल, नागरिक बचतपत्र, विकास ऋण पत्रलगायतका सबै उपकरणको ब्याजदर घटेको छ । तरलता बढेपनि बैंकहरुले कर्जा लगानी भने गर्न सकेका छैनन् ।
पूर्वी नेपालको बैंकिङ्ग क्षेत्र अवरोध गर्नेलाई तत्काल कारवाही गर्न सीईओहरुको माग
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग आग्रह आग्रह गरेको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी माथिको ज्यादति रोक्न र शान्ति सुरक्षा कायम गर्न माग गरेको हो । सोमबार पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापास्थित बैंक, वित्तीय तथा लघुवित्त संस्थाको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गरेको, कर्मचारीलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ्ग सेवा लिनबाट बञ्चित गरेका थिए । यस विषयमा सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी÷ग्राहकको सुरक्षाका लागी माग गरेको हो । अर्थतन्त्रको प्रमुख स्तम्भको रुपमा स्थापित संस्थाहरुले मुलुकको विकास, सर्वसाधारण आर्थिक सेवा, आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका, रोजगारी सृजना लगायत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा योगदान गरेको भन्दै उनीहरुले बैंकका कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण श्रृजना गर्न बैंकर्सहरुले माग गरेका हुन् । ‘अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ्ग क्षेत्र निर्वाध रुपमा संचालन गर्न र सेवा पुर्याउन कुनै पनि तत्वहरुले बाधा पुर्याएको खण्डमा सो गैरकानूनी हुन्छ, ग्राहकहरुले सेवा लिन आउँदा कुनै पनि अवरोध गरिएमा वा शाखा संचालनमा कुनै बाधा पुर्याइएको खण्डमा सो उपर सुरक्षा निकायले आवश्यक कदम लिनेछ भन्नेमा हामी विश्वस्त छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याउन सीईओहरुले माग गरेका हुन् । शान्ति÷सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन गर्न सरोकारवाला निकायहरुसँग माग गरेका छन् । साथै, आगामी दिनमा यस प्रकारका गतिविधिहरु भएमा सशक्त विरोध गर्ने उनीहरुले विज्ञप्तिमा भनेका छन् ।
सामूहिक कृषि प्रवर्द्धनका लागि ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत तिलोत्तमा-१०, शान्तिनगर, रुपन्देही स्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ । कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवर्द्धन र कृषकहरुलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचालित धान रोप्ने मेसिन खरिदका लागि बैंकले आर्थिक सहयोग गरेको जनाएको छ । एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका बुटवल क्लस्टर कार्यालय प्रमुख कपिल न्यौपाने र बैंकका मणिग्राम शाखाका शाखा प्रबन्धक खगेन्द्र थापाद्वारा संयुक्त रुपमा उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घनसिह पुनलाई उक्त धान रोप्ने मेसिन औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा लुम्बिनी प्रदेश, कृषि तथा भूमिव्यवस्था मन्त्री भण्डारीलाल अहिर, विभिन्न स्थानीय निकायका पदाधिकारीहरु लगायत स्थानीय कृषकहरुको उपस्थिति रहेको थियो । उक्त धान रोप्ने मेसिन प्रयोगमा आएसँगै सो विकास समितिमा आवद्ध करिबन १०० भन्दा बढी कृषक परिवारहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । साथै, उक्त मेसिनको प्रयोगबाट कृषकहरुलाई धान खेतीमा प्रविधिको उच्चतम प्रयोग गरी कम लागतमा उत्पादकत्व बढाई क्रस फार्मिङ प्रविधिहरू अभ्यास गर्न मद्दत मिल्ने बैंकले अपेक्षा गरेको छ । बैंकको सो सहयोगले कृषिमा निर्भर समुदायको सशक्तिकरण र दिगो तथा आधुनिक कृषि खेती प्रविधिको प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ ।