सिद्धार्थ बैंकको नाफा ३.१९ अर्ब रुपैयाँ, ब्याज आम्दानीमा २३.९७ प्रतिशत छलाङ
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकको गत असारसम्म खुद नाफा ९.९१ प्रतिशत बढेर ३ अर्ब १९ करोड १ लाख रुपैयाँ आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकका खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेर ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंककोे खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेर १ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १४.५७ प्रतिशत बढेर १० अर्ब ७ करोड २८ लाख रुपैयाँ र सञ्चालन नाफा ९.८३ प्रतिशत बढेर ४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको प्रतिसेयर ५.६५ रुपैयाँ वितरणयोग्य गर्ने क्षमता रहेको छ । गत असारसम्म बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेर १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ, जगेडा कोष २५.३६ प्रतिशत बढेर ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । यस्तै, बैंकको निक्षेप १६.७६ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढाएर १ खर्ब ८४ अर्ब ४ करोड ५६ लाख रुपैयाँललगनी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ०.५३ पैसा घटेर २२.६४ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ रहेको छ । असारसम्म बैंकको खराब कर्जा ०.९४ प्रतिशत बढेर २.०१ प्रतिशत पुगेको छ । यस्तै, बैंकको आधार दर ९.९१ प्रतिशत, सीडी रेसियो ७७.१६ प्रतिशत र कस्ट अफ फण्ड ७.८२ प्रतिशत रहेको बैंकले जनाएको छ । वित्तीय विवरण अनुसार बैंकको रिटर्न अफ ईक्विटी (आरओई) १३.५६ प्रतिशत रहेको छ ।
नेपाल मर्चेण्ट बैंकर संघको अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ बिहीबार होटल एम्बेस्डरमा एएमएल/सिएफटी र गोएएमएल एप्लिकेसन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतङ्कबादी क्रियाकलापमा बित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनाका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराइएको थियो । धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्ण रुपमा लागू गराउन सूचक संस्थाहरुले गोएएमएल (प्रोडक्सन इन्भाइरोमेन्ट)मा यथाशीघ्र आवद्ध हुनुपर्ने प्रावधान बमोजिम राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डका बिज्ञहरुबाट जानकारी गराइएको थियो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डमा दर्ता भई संचालनमा रहेका सबै मर्चेण्ट बैंकरका प्रतिनिधिहरुको उपस्थिति थियो ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५ प्रतिशत छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहककले शुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा विशेष छुट सुविधा पाउने भएका छन् । उक्त बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त छुट सुविधा सम्बन्धी बैंक र काठमाडौंको पानीपोखरीमा रहेको शुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरले व्यवसायिक सम्झौता गरेका छन् । त्यसैगरी, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न उक्त बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सक्ने व्यवस्था गरेको बैंकले बताएको छ ।