एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंक
काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इ नामक खुलामुखी योजनाको वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सो योजनाको सेवाहरु सहज, व्यवस्थित तथा प्रभावकारी रुपमा प्रवाह गर्ने उद्देश्यका साथ एनएमबि बैंक र सम्पूर्ण शाखा कार्यालयमार्फत् योजनाको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एआईपी) लगायत अन्य सेवाहरु प्राप्त गर्न सकिने छ । एसआईपी रकम स्वतः बैंक खाताबाट भुक्तानी गर्न एनएमबि बैंकको स्ट्याण्डिङ्ग इन्स्ट्रक्सन सेवा प्रयोग गर्न सकिने क्यापिटलले बताएको छ । सो फण्डको कोष प्रवद्र्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल हो ।
केदार शर्माले ऋण नतिरेपछि नेपाल एसबिआई बैंकले लिलामीमा राख्यो ४ कम्पनी
काठमाडौं । नेपाल एसबिआई बैंकले शिव शिखर सहकारीको अर्बाैं रकम ठगी गर्ने केदारनाथ शर्मा न्यौपाने र गिता शर्माको सम्पत्ति लिलामीमा राखेको छ । बैंकले केदारनाथ शर्मा र गिता शर्माले सञ्चालन गरेका शिखर अर्गनाइजेशन लिमिटेड, शिखर स्पाइस एण्ड फुड फ्रुट इण्डष्ट्रिज प्रा.लि., शिव शिखर खाद्य उद्योग प्रा.लि. र नटराज फुड ईण्डष्ट्रिज प्रा.लि.का सम्पत्ति लिलामीमा राखेको हो । यी कम्पनीको नामबाट एसबिआई बैंकबाट करिब २ अर्ब रुपैयाँ बराबरको कर्जा लिएको बुझिएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । शिखर अर्गनाइजेशन लिमिटेडको नामबाट ऋण लिँदा विभिन्न ठाउँको सम्पत्ति धितो राखिएको देखिन्छ । उक्त ऋण लिँदा केदार नाथ शर्मा, गिता शर्मा र पपुस्कर मल्ल जमानकर्ता थिए । कर्जा लिएर चुक्ता नगरेपछि शिखर अर्गनाइजेशनको नाममा रहेका सम्पत्ति बिक्रीमा राखेको बैंकले जनाएको छ । कम्पनीको नाममा मालपोत कार्यालय विराटनगर मोरङमा दर्ता कायम साविक बैजनाथपुर गा.वि.स. १ स्थित कित्ता नं. १६८, १६९ र १७० को कूल क्षेत्रफल १ हजार ४१० वर्गमिटर जग्गा र राइस मिल तथा दाल मिल, सिराहाको साविक चन्द्रयोध्यापुर गा.वि.स. ४ स्थित कित्ता नं. ३३७६ को क्षेत्रफल २७ हजार ५४७.६६ वर्ग मिटर जग्गा, सर्लाहीको साविक जब्दी गा.वि.स.२ स्थित कित्ता नं. १००, १६९, १७१, १७०, ८६ र ८५ र सोही गा.वि.स.को वडा नम्बर ९ स्थित कित्ता नं. ९१ सहितको कूल क्षेत्रफल १३ हजार ९१६.९९ वर्ग मिटर जग्गा लिलामीमा राखिएको बैंकले जनाएको छ । यस्तै, भक्तपुरको साबिक छालिङ गा.वि.स.६ स्थित कित्ता नं. १६८, १६९, १७०, १७१, १७२८७१ र ८७० को कूल क्षेत्रफल २ हजार ६७८.४३ वर्गमिटर, कैलालीको साविक चुहा गा.वि.स. ४ स्थित कित्ता नं. १५९३, १५८१, १५८५ १५०२, १३४४, १५७५, १५६८, १२५५, १२५७, १०८९, १५६७, ११९८, १२५८, ११९५, ११९७ १२५६, १५९४, १५९५, १६०० १५९७ १८४२२१९५१ को कूल क्षेत्रफल १५ हजार ३५७.०१ वर्ग मिटरजग्गा र राइस मिल तथा दाल मिल लिलामीमा राखेको हो । त्यस्तै बैंकले शिखर स्पाइस एण्ड फुड फ्रुट इण्डष्ट्रिज प्रा.लि.लाई कर्जा वापतको राखेको धितो पनि लिलामीमा बिक्री गर्नेछ । चितवनका साविक भरतपुर नगरपालिका ५ स्थित कित्ता नं. १९६७, १९६२, १९६४ १०४३ र ८२७ को कूल क्षेत्रफल १ हजार ५१९.५६ वर्गमिटर र साविक हाजीपुर गा.वि.स. ६ स्थित कित्ता नं. ६६, ६७ र ६८ को कूल क्षेत्रफल १ हजार ९३०.१७ वर्गमिटर जग्गा बिक्री गर्ने भएको हो । त्यस्तै, शिव शिखर खाद्य उद्योग प्रा.लि.को नाममा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा दर्ता कायम काठमाडौं महानगरपालिका १६ स्थित कित्ता नं. २११, २१६, २१० २०९, २१३, २१२, २१५ र २१४ को कूल क्षेत्रफल ९०६.३० वर्ग मिटर जग्गा बिक्री गर्नेछ । साथै, भक्तपुरको चाँगुनारायण ५ स्थित उद्योगमा रहको हनी प्रोसेसिङ मेशिन, भ्याकुम ड्रायर मेशिन, प्याकिङ मेशिन र बाँकेको बैजनाथ गाँउपालिका ५ स्थित उद्योगमा रहको चना रोष्टिङ मेशिन लिलामीमा राखेको हो । साथै, प्रदेश ३–०१०२४ च ७७६५ नम्बरको इसुजु मोटर्स र बाग्मती प्रदेश–०३ ००१ च १०७५ नम्बरको टाटा मोटर्स पनि बिक्री गर्नेछ । नटराज फुड ईण्डष्ट्रिज प्रा.लि.को नाममा मालपोत कार्यालय मोरङ्गमा दर्ता कायम साविक कटहरी गा.वि.स. वडा नं. २ स्थित कित्ता नं. १८ को क्षेत्रफल ३ हजार १०५.०० वर्ग मिटरजग्गा र जग्गाले चर्चेको बिस्कुट बनाउने प्लान्ट लगायत सम्पूर्ण परियोजना (घर, जग्गा, टहरा, कारखाना, कार्यालय भवन लगायतको सम्पूर्ण निर्माण कार्य), सुनसरीको दुहबी नगरपालिका ८ स्थित अटोमेटिक नम्किन मिक्सिङ लाइन मेशिन, अटोमेटिक नम्किन फ्रायिङ लाइन मेशिन तथा अटोमेटिक मल्टिपर्पोज फ्रायर मेशिन लिलाममा राखेको बैंकले जनाएको छ । यस्तै, बाग्मती प्रदेश–०१ ००३ क ९१६८, बाग्मती प्रदेश–०१ ००३ क ९१६९, बाग्मती प्रदेश–०१ ००३ क ९१७० र बाग्मती प्रदेश–०१ ०२६ च ४०२७ नम्बर प्लेट भएका टाटा मोटर्सका सवारी साधन बिक्रीमा राखेको हो । धितोमा राखिएको उद्योग, घरजग्गा, सवारी साधन र मेशिनरी जहाँ जुन अवस्थामा छ सोही अवधिमा बिक्री गरिने बैंकले बताएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो सम्पत्ति बिक्रीमा राखेको बैंकले जनाएको छ । खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले ३५ दिभित्र बोलपत्र पेश गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरु असोज २५ गते खोलिने बैंकले जनाएको छ । शिबशिखर सहकारी र तुलसी सहकारीका बचतकर्ताको बचत ठग्ने केदार शर्मा, गीता शर्मा, संस्थाका कार्यकारी निर्देशक अमिश राजभण्डारी र शिखर अर्गनाइजेनसका मेनेजर पुष्कर मल्ल जेलमा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो ।
बैंकिङ्ग कारोबारमा ग्लोबलले ल्यायो नयाँ प्रविधि, एटीएमबाटै चेक र नगद खातामा जम्मा गर्न सकिने
काठमाडौं । चेक र नगद बैंकमा जम्मा गर्न बैंकको काउन्टरमै पुगेर लाइन लाग्नुपर्ने झन्झटको अन्त्य भएको छ । अब एक/डेढ मिनेटमै चेक र नगद आफ्नो खातामा जम्मा गर्न सकिन्छ, त्यो पनि बैंक बाहिर बाटै । तर, कसरी ? विदेशमा अत्याधुनिक सुविधा उपयोग गरिरहेका बैंकले जस्तै नेपालमा पनि ग्लोबल आइएमई बैंकले एटीएम मेसिनमार्फत चेक र नगद बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो । बैंकले सोमबारदेखि चेक र क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले एकै साथ पाँच वटा चेक र नगद जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको हो । बैंकका हेड अफ ट्रान्जएक्सन बैंकिङ्ग प्रमुख प्रकाश पौडेलले ग्लोबल आइमएई बैंकले सोमबारदेखि चेक र नगद डिपोजिट गर्ने मेसिनबाट डिजिटल इनोभेसनको सुरुवात गरेको बताए । ग्लोबल आइमएई बैंकको ग्राहक अब चेक र नगद डिपोजिट गर्न बैंकको शाखामा पुगिरहनु नपर्ने उनले बताए । ‘नगद जम्मा र चेक जम्मा गर्न बैंकमै आउनु पर्ने अवस्था बिस्तारै कम हुँदैछ, ग्राहकले बैंकभित्र नगई सेवा लिन पाउन भन्ने उद्देश्यले यो प्रविधिको सुरुवात गरेका हौं,’ उनले भने । बैंकका अध्यक्ष चन्द्र ढकालले ग्राहकलाई छिटो सेवा दिने उद्देश्यले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने मेसिन जडान गरेको बताए । मेसिन जडानसँगै बैंकले ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न सहयोग पुग्ने उनको भनाइ छ । साथै, पूँजी, सेवा, टेक्नोलोजी, नेटवर्क र पहुँच लगायत हरेक हिसाबले ग्लोबल आइएमई नम्बर वान बैंक रहेको उनले बताए । ‘सबैका लागि बैंक भन्ने नाराका साथ बैंक सञ्चालनमा आएको छ, वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै पूँजी भएको बैंक हो, आकार, सेवा, प्रविधि, नेटवर्क पहुँच लगायतको हिसाबले नम्बर वान बैंकका रुपमा अघि बढिरहेको छ, सोही मध्येको एउटा काम यो पनि हो,’ उनले भने । ‘७७ जिल्लामै साना तथा ठूला ऋणीहरुलाई बैंकिङ्ग सेवा दिइरहेको छ, ग्राहकहरुलाई छिटोभन्दा छिटो सेवा दिनका लागि क्यास डिपोजिट मेसिन र चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएका हौं’, ढकालले भने । चौबिसै घण्टा चेक डिपोजिट गर्न सकिने हेड अफ ट्रान्जिक्सन बैंकिङ्ग प्रमुख प्रकाश पौडेल चेकमार्फत् हुने कारोबारमा देखिएका समस्या समाधान चेक डिपोजिट मेसिनले गर्ने दावी गर्छन । अब बैंकको शाखा कार्यालयको काउन्टर बन्द भएको समयमा पनि चौविसै घण्टा चेक डिपोजिट गर्न सकिने उनले बताए । ‘चेकको कारोबार ग्राहकमैत्री बनाउन बैंकमा नगएर २४ सै घण्टा सेवा दिन मेसिन सञ्चालनमा ल्याएको हो, अब जुनसुकै समयमा एटीएममार्फत खातामा चेक र नगद जम्मा गर्न सकिन्छ, यो प्रविधि चेक डिपोजिट मात्रै नभएर सुरक्षाका हिसाबले पनि अत्यन्तै मजबुत छ,’ उनले भने, ‘यसमा चेक जम्मा गर्न आउने मान्छेको विवरण अनलाइनबाट डिजिटल भेरिफाइ हुन्छ, कसले चेक डिपोजिट गरिरहेको छ भनेर अनलाइनबाट नै भेरिफाइ हुने भएकाले विवरण पत्ता लगाउन पनि सजिलो छ ।’ चेक डिपोजिट गर्दा सबै गतिविधि डिजिटल रेकर्ड हुने भएकाले भोलिका दिनमा तथ्याङ्क खोज्न वा रेकर्ड निकाल्न गाह्रो हुँदैन । साथै, यो मेसिन पूर्णरुपमा पेपरलेस भएकाले वातावरणमैत्री रहेको उनको दाबी छ । ‘एउटा चेक जम्मा गर्न एकदेखि डेढ मिनेट लाग्छ, पहिला काउन्टरमा जम्मा गर्दा चेकमा हस्ताक्षर गरिन्थ्यो, अब यहाँ हस्तार हुँदैन, त्यसको सट्टा मोबाइल नम्बर आवश्यक पर्छ, नम्बरमा ओटिपी पठाएर भेरिफाइ गर्छाैं, त्यो भेरिफाइड गरेर मात्रै चेक जम्मा हुन्छ,’ उनले भने । अहिलेका लागि ग्लोबल आइएमई बैंक बाहेकको चेक मात्रै एटीएम मेसिनमार्फत जम्मा गर्न सकिन्छ । तर, दोस्रो चरणमा भने ग्लोबल आइएमई बैंकको चेक पनि जम्मा गर्न मिल्ने व्यवस्था गर्ने उनले बताए । हाल चेक डिपोजिट मेसिन काठमाडौं उपत्यकाभित्र कमलादी, न्यूरोड र कुलेश्वर शाखाबाट सञ्चालनमा आएका छन् । उपत्यका बाहिर भने वीरगञ्ज र पोखराबाट पनि उक्त मेसिन सञ्चालनमा छन् । अब बैंकमा लाइन लाग्नु पर्दैन हेड अफ ट्रान्जएक्सन बैंकिङ्ग प्रमुख पौडेलका अनुसार बैंकको शाखा कार्यालयमा अहिले पनि नगद कारोबार गर्नेको भीड लाग्ने गरेको छ । अब भने एटीएम मेसिनबाटै बैंक खातामा रकम जम्मा गर्न सकिन्छ । तर, क्यास डिपोजिट गर्न आउँदा मोबाइल भने अनिवार्य बोक्नु पर्ने हुन्छ । ‘अहिले पनि बैंकमा नगद जम्मा गर्नेको लाइन लाग्छ, नगद जम्मा गर्दा बैंकमा आउनु पर्ने, भौचर भर्नु पर्ने, लाइन लाग्नु पर्ने, टोकन लिनु पर्ने बाध्यता थियो, ती सबै काम गर्न समय लाग्ने गरेको छ,’ उनले भने, ‘अब मोबाइल नम्बर र एकाउन्ट नम्बर राखेकै आधारमा सिस्टमले भेरिफाइ गरेर खातामा रकम जम्मा गर्न सकिन्छ, अब नोट पनि सुरक्षित हुन्छन् ।’ उनका अनुसार नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन विपरित कुनै ग्राहकले नक्कली नोट जम्मा गर्न खोज्यो भने मेसिनले पत्ता लगाएर सो नोट फिर्ता पठाई सक्कली नोट मात्रै जम्मा हुने उनले बताए । साथै, मेसिनले हरेक नोटको सिरियल नम्बर रेकर्ड राख्ने भएकाले कारोबार गर्न पनि सुरक्षित रहेको उनको भनाइ छ । ‘जस्तो ‘ए’ भन्ने मान्छेले नक्कली नोट जम्मा गर्न खोज्यो भने मेसिनले पत्ता लगाएर फिर्ता पठाउँछ, मेसिनभित्र एआई जडान गरिएको हुँदा नक्कली र सक्कली छुट्याउँछ, एक हजार र पाँच सयको नोटलाई च्यातेर जोडेर जम्मा गरेपनि पत्ता लगाउँछ,’ उनले भने, ‘एक पटकमा ९५ हजार रुपैयाँसम्म नगद जम्मा गर्न पाइन्छ, किनभने ९५ हजार भन्दा बढी रकम जम्मा गर्ने हो भने ग्राहकको परिचयपत्र अनिवार्य भेरिफाइ गर्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ ।’ हाललाई एक हजार र पाँच सय रुपैयाँ दरका नोटलाई मात्रै जम्मा गर्ने व्यवस्था मिलाइएको छ । आवश्यकता अनुसार अन्य नोट पनि जम्मा गर्ने व्यवस्था मिलाइने उनले बताए ।