नेपाल बैंकको वित्तीय क्षमतामा एडिबिको सहायता, साना व्यवसायमा बैंकको लगानी बढ्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंक (एडीबी)सँग वित्तीय क्षमता अभिवृद्धी गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । एसियाली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत यस्तो सम्झौता भएको बैंकका प्रमुख सूचना अधिकारी प्रकाश कुमार अधिकारीले जानकारी दिए । यो सम्झौताले वित्तीय व्यापारको आवश्यकतालाई सम्बोधन गरी व्यापारिक ऋण र आवश्यक सहयोग मार्फत अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पु¥याउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २०२२ मा एडीबीले १० हजारभन्दा बढी व्यवसायीक कारोबार मार्फत ७.७ विलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारको व्यवसायहरु रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो सम्झौतापछि दुई सयभन्दा बढी देशहरुबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग मिल्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौतापछि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने, ‘एसीयाली विकसा बैंकसँग भएको व्यापार वित्तीय सम्झौताले साना तथा मध्यम प्रकृतिका व्यवसायबीच हाम्रो उपस्थिति अझ बढाउँदै ग्राहकको व्यापारिक गतिविधिमा सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर छौं ।’ सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा एडिबिका नेपाल रेसिडेन्ट मिसन प्रमुख अर्नाउड हेकमनको उपस्थिति रहेको थियो ।
घरजग्गा कर्जा ९ प्रतिशतले विस्तार, सबैभन्दा बढी एभरेष्ट बैंकको ५७ प्रतिशतले वृद्धि
काठमाडौं । गत वर्ष नेपाल राष्ट्र बैंकले कडाइ गरेको भए पनि वाणिज्य बैंकहरुले घरजग्गा क्षेत्रमा २ खर्ब भन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंकहरुले २ खर्ब १७ अर्ब ९६ करोड रुपैयाँ बराबरको कर्जा घरजग्गामा गएकाे छ । अनुत्पादनमुलक क्षेत्रमा कर्जा लगानी बढेको भन्दै राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा कडाइ गरेको थियो । तर, बैंकहरुले कडाइका बाबजुत पनि सो क्षेत्रमा उल्लेख्य रुपमा कर्जा बढाएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा घरजग्गा क्षेत्रमा ९.१७ प्रतिशत अर्थात् १८ अर्ब ३२ करोड रुपैयाँ कर्जा बढाएका हुन् । आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ बराबरको कर्जा घरजग्गा क्षेत्रमा लगानी गरेका थिए । गत वर्ष अधिकांश बैंकहरुले घरजग्गामा कर्जा बढाएका छन् । गत असारसम्म घर जग्गामा सबैभन्दा धेरै एभरेष्ट बैंकले ५७.४४ प्रतिशत बढाएर ६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी गरेकाे छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३५.५६ प्रतिशत बढेर २५ अर्ब २७ करोड ६२ लाख रुपैयाँ, नेपाल बैंकको ३४ प्रतिशत बढेर ११ अर्ब ८६ करोड रुपैयाँ, नबिल बैंकको २३ अर्ब ३० करोड रुपैयाँ र प्रभु बैंकको २५.९३ प्रतिशत बढेर १४ अर्ब २४ करोड रुपैयाँ लगानी घरजग्गामा गरेको हुन् । यस्तै, प्राइम बैंकको १३.८६ प्रतिशत बढेर १५ अर्ब १७ करोड, एनआईसी एशिया बैंकको १३.१८ प्रतिशत बढेर २१ अर्ब ९० करोड, हिमालयन बैंकको ३.१३ प्रतिशत बढेर १५ अर्ब ७ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २.७० प्रतिशत बढेर ७ अर्ब ७७ करोड, राष्ट्रिय वाणिज्य बैंकको २.४२ प्रतिशत बढेर १७ अर्ब ३२ करोड र ग्लोबल आइएमई बैंकको १५ अर्ब ९९ करोड रुपैयाँ कर्जा घरजग्गामा लगानी गरेका हुन् । २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले बढाएको भएपनि ९ वटा बैंकले भने कर्जा घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले ६८.४२ प्रतिशत घटाएर १ अर्ब ९१ करोड रुपैयाँमा झारेको हो । यस्तै, कुमारी बैंकको २९.७१ प्रतिशत घटेर १ अर्ब ८६ करोड, नेपाल एसबिआई बैंकको १३.७५ प्रतिशत घटेर ४ अर्ब ९७ करोड, सिद्धार्थ बैंकको ७.८६ प्रतिशत घटेर ५ अर्ब ९१ करोड र कृषि विकास बैंकको ७.६३ प्रतिशत घटेर १ अर्ब ६५ करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेका हुन् । त्यसैगरी एनएमबि बैंकको ७.५३ प्रतिशत घटेर ५ अर्ब २१ करोड, सिटिजन्स बैंकको ६.७३ प्रतिशत घटेर ४ अर्ब ५३ करोड, लक्ष्मी सनराइज बैंकको २ प्रतिशत घटेर १० अर्ब ७२ करोड र सानिमा बैंकको १.६४ प्रतिशत घटेर ६ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् । गत वर्ष घर जग्गा क्षेत्रमा मन्दी छाएको भनिए पनि बैंकहरुले प्रवाह गरेको कर्जाका आधारमा भने त्यो पुष्टि हुँदैन । राष्ट्र बैंकको तथ्याङ्क हेर्दा घरजग्गा क्षेत्रमा बैंकहरु लगानी गर्न अझै उत्साहित देखिन्छन् । घरजग्गा व्यवसायीहरुले तरलताको अभाव देखाउँदै बैंकहरुले कर्जा नदिएको र घरजग्गा कारोबार सुस्ताएको भने पनि घरजग्गा व्यवसायमा लगानी बढाउँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
एम्बिसन्स एन्ड डेभलपमेन्ट एशियन अवार्डबाट नबिल बैंक सम्मानित
काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड पाएको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बंैकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेड गरेवापत पुरस्कृत गरेको हो । भदौ १ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका पूर्वी संयुक्त क्षेत्रीय निर्देशनालयका प्रवन्ध निर्देशक सर्गेइ पुटेनिखिनले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा भएको नबिल बैैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताए । उनले भने ‘यस अवार्डले बैंकलाई हौसला मिलेको छ भने नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवाहरू ल्याएर काम गर्ने थप प्रेरणा मिलेको छ । यो सम्मानले डिजिटल बैंकिङमा ग्राहकहरूको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ ।’ नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली भित्र्याएको थियो । नबिलले ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तर रूपमा भित्र्याउँदै आएको पनि बताएको छ । नबिलले एनएफसी डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्डहरू, कन्ट्याक्सलेस इनबेल्ड पीओएस टर्मिनल्स, देशमा ई–कमर्स कारोबार सहज बनाउनेसहितको काम गरेको छ । यसले पेमेन्ट गेटवे लागू गर्ने, पहिलो पटक क्यास रिसायक्लर मेसिन बजारमा ल्याउने, ग्रीन पिन र कार्डलेस विथड्र सर्भिस, मोबाइल बैंकिङ एपमा कार्ड फिचरसहितको सुविधा पनि दिइरहेको छ । नबिलले भर्चुअल कार्डको कार्यान्वयन र नेपालमा पहिलो पटक सिधै कार्डमा लोड गर्ने मोबाइल बैंकिङ सेवा जस्ता नवीनतम प्रविधिमार्फत बैंकिङ सेवा समेत दिइरहेको छ । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको दाबी पनि बैंकले गरेको छ ।