एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई सहयोग
काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई सहयोग गरेको छ । आश्रमले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ । बैंकले गोरखामा आयेजित एक विशेष कार्यक्रम बीच मानव सेवा आश्रम गोरखालाई रु ५ लाख आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने कुरा उल्लेख गरे । आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गर्नुका साथै बैंक प्रति कृतज्ञता समेत प्रकट गरिन् । सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक इश्वर काजी मास्केको समेत उपस्थिति रहेको थियो । यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
प्रभु बैंकबाट डेढ सय जना कर्मचारी बाहिरिए, चौथो र पाँचौं वरियताका श्रेष्ठ र पाठकले पनि रोजे भीआरएस
काठमाडौं । प्रभु बैंक ल्याएको स्वेच्छिक अवकास सुविधा (भीआरएस)मा १४८ जना कर्मचारीले रोजेका छन् । बैंककी नायव महाप्रबन्धक (डीजीएम) अनुपमा श्रेष्ठ मानन्धर र सहायक महाप्रबन्धक (एजीएम) भोला प्रसाद पाठकसहित १४८ जनाले भीआरएस सुविधा रोजेको बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपानले जानकारी दिए । बैंकका प्रमखु कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, वरिष्ठ डीसीई मनोज न्यौपाने र डीसीईओ मनीराम पोखरेलपछि वरियताका आधारमा डीजीएम श्रेष्ठ चौथो स्थान र एजिएम पाठक पाँचौं स्थानमा थिए । श्रेष्ठ साविक सेञ्चुरी बैंक र पाठक साविक प्रभु बैंकमा थिए । बैंकमा कर्मचारीको संख्या उच्च भएपछि भीआरएस सुविधा ल्याउनु परेको डीसीईओ न्यौपाने बताउँछन् । बैंकको भीआरएस सुविधा लिनेमा उच्च तहका १४ जना कर्मचारी रहेका छन् । जसमध्ये केही कर्मचारीहरु विभागी प्रमुख पनि रहेका छन् । सेञ्चुरी बैंक गाभेको ६ महिनापछि प्रभु बैंकले पनि भिआरएस सुविधा ल्याएको हो । हाल बैंकमा ३ हजार ५ सय कर्मचारी कार्यरत छन् । वरिष्ठ डीसीईओ न्यौपानेका अनुसार ५ वर्षभन्दा कम अवधि भएका कर्मचारीलाई २० महिनाको तलब र ५ वर्षभन्दा बढी समय भएका कर्मचारीलाई २४ महिनाको तलब सुविधा सहित बिदा गरिएको छ । स्रोतका अनुसार बैंकमा कार्यरत कर्मचारीको संख्या अनुसारको प्रतिफल बैंकलाई नदिएका कारण कर्मचारी कटौति गर्नु परेको हो । गत पुस २६ गते सेञ्चुरी बैंकलाई गाभेको प्रभुले सो समयमा भिआरएस सुविधा ल्याएको थिएन ।
प्राइम बैंकका सबै ग्राहकहरुको खाता नम्बर परिवर्तन, एक दिन सेवा बन्द
काठमाडौं । प्राइम कमर्सियल बैंकले ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता नम्बर भदौ २३ गते शनिबारदेखी परिवर्तन गर्ने जनाएको छ । सम्पूर्ण ग्राहकहरूको खाता नम्बर १० अङ्क तथा अक्षरबाट परिवर्तन गरी २० अङ्कको कायम गरिने बैंकले बताएको छ । नयाँ खाताको कारोबार ग्राहकहरुसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने छ । साथै, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गराउने बैंकले जनाएको छ । साथै अन्य सबै निकायहरू जस्तैः स्टक ब्रोकर तथा डिम्याट खातमा ग्राहकहरु आफैंले नयाँ खाता नम्बर अद्यावधिक गराउनु पर्ने बैंकले जनाएको छ । साथै नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यस्तै, प्राइम बैंकको बैंकिङ्ग सेवा एक दिन बन्द हुने भएको छ । बैंकका अनुसार कोर बैंकिङ सिस्टम (सीबीएस) अद्यावधिक गर्नु पर्ने भएकाले एक दिन बैंकको सम्पूर्ण सेवा बन्द रहनेछ । भदौ २२ गते शुक्रवार राति १० बजेदेखि १२ बजेसम्म कोर बैंकिङ अद्यावधिक हुने भएकोले एटिएम, मोबाइल बैंकिङ लगायत सम्पूर्ण सेवाहरू बन्द हुने बैंकले जनाएको छ ।