एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता
काठमाडौं । नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनिले जनाएको छ । यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्सका जेनेरल म्यानेजर अधीर कुमार श्रेष्ठ र सानिमा बैंकको रिटेल लेन्डिंग डिपार्टमेन्ट हेड विशाल दाहालद्वारा हस्ताक्षर गरिएको छ । यस सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंक मार्फत सहुलियत दरमा फाईनान्सको सुविधा पाउन सक्नेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरु र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ । यसको साथसाथै, रेनोले नजिकिँदै गरेको चाड्पर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत रेनोका ग्राहकहरुले ७ लाखसम्मको छुटको साथै इजि फाईनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुइ वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरल गायतका लाभ पाउन सक्ने कम्पनीले जनाएकाे छ ।
एनआईसी एशियाको एप्सबाट कनेक्ट आइपीएस गर्दा स्मार्टफोन उपहार
काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग ग्राहकको लागि विशेष अफर सार्वजनिक गरेको छ । बैंकले कनेक्ट आइपीएससँँगको सहकार्यमा ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर ल्याएको हो । अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैकिङ्ग ग्राहकले एनआईसी एसिया बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आइपिएसमार्फत फण्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भदौ १७ देखि असोज २० गतेसम्म यस्तो अफर चल्ने बैंकले बताएको छ । आइतबारदेखि शनिबारसम्मको अवधिलाई एक हप्ता मानेर ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिने बैंकले बताएको छ । उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिने बताइएको छ । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई थप प्रर्वद्धन गर्न यस्तो अफर ल्याइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कनेक्ट आइपिएसमार्फत प्रति दिन प्रति कारोबार तीन लाख रूपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ । एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । देशभर एनआईसी एशियाको ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल रहेको छ ।
ज्योति क्यापिटलको साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । ज्योति क्यापिटलको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा बिहीबार साधारणसभा सम्पन्न भएको हो । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित २,२१,०५,२३० (अक्षरेपी दुई करोड एक्काइस लाख पाँच हजार दुई सय तीस मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले ज्योति विकास बैंक बाहेकका संस्थापक समूहको शेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचित समेत गरेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । कारोवार संचालनको अनुमति पाएको ३ महिना भन्दा कम समयमा नै यस क्यापिटलले ६३.५९ लाख रूपैयाँको आयकर तथा ३.७२ लाख बराबर अन्य कर गरी जम्मा ६७.३१ लाख रूपैयाँ कर मार्फत राज्यको समृद्धिमा योगदान पुर्याएको जनाएको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।