सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीस्थित बुटवल हार्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र क्लिनिकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल १८८ वटा शाखा, १४८ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४३ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

लुम्बिनी विकास बैंकले दियो विद्यालयहरुमा पोशाक, खेलकुदको सामग्री र कलर प्रिन्टर

काठमाडौं । लुम्बीनी विकास बैँक देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ । विदुर नगरपालिका वडा नं. ३ अवस्थित रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक वितरण गरको छ । साथै, वडा नं. ५ अवस्थित श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयमा बालकक्षाका विद्यार्थीहरुको शारीरिक, मानसिक एवं बौद्धिक विकासका लागि १ थान खेलकुदको सामाग्री वितरण गरको छ र बेलकोटगढी नगरपालिका वडा नं. ८ अवस्थित श्री कल्याणीदेवी माध्यामिक विद्यालयको लागि १ थान कलर प्रिन्टर सहयोग गरको छ । सो सामाग्रीहरु बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्तान्तरण गरे । उक्त सहयोग गरेकोमा श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकार र श्री कल्याणीदेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद पुडासैनीले लुम्बिनी विकास बैँकलाई धेरै–धेरै धन्यवाद व्यक्त गरेका थिए । उक्त हस्तान्तरण समारोहमा बैकका मुख्य प्रबन्धक दिपक खनाल, वरिष्ठ प्रबन्धक भेषराज गौतम, शाखा प्रमुख रमेश कुमार नेपाल लगायत विद्यालय व्यवस्थापनका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

महालक्ष्मी विकास बैंकले वितरण गर्यो स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ । बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौं मा अध्यनरत छात्रसन्तोष कुमार मण्डललाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गिता काफ्लेलाई हस्तान्तरण गरे । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवदता जनाएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।