नबिल बैंकका ११ शाखा र ११ एटीएम अपाङ्गमैत्री, ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता
काठमाडौं । नबिल बैंकले वित्तीय सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले देशका विभिन्न शाखा तथा एटीएम केन्द्रहरूमा अपाङ्गमैत्री सुविधा उपलब्ध गराएको जनाएको छ । बैंकका अनुसार विराटनगर, तीनधारा, महाराजगञ्ज र नयाँ बानेश्वर शाखासहित ती स्थानमा रहेका एटीएमहरू पूर्ण रूपमा अपाङ्गमैत्री बनाइएका छन् । त्यसैगरी इटहरी, ललितपुर, पोखरा, डल्लु, नैकाप, त्रिपुरेश्वर तथा घण्टाघर शाखाहरूमा पनि अपाङ्गमैत्री शाखा सेवा उपलब्ध रहेको बैंकले जनाएको छ । यसका अतिरिक्त धनकुटाको राजारानी, कपिलवस्तुको बाणगंगा, बर्दियाको गुलरिया, कैलालीको रातोपुल तथा पोखराको अर्चलबोटमा रहेका एटीएमहरू अपाङ्गमैत्री सुविधासहित सञ्चालनमा छन् । काठमाडौंको कमलादी डिजिटल लाउन्ज र ठमेलस्थित होटल गरुडामा रहेका एटीएमका साथै भक्तपुर क्यान्सर अस्पताल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चरक मेमोरियल अस्पताल तथा कास्कीको बिजी बी क्याफेमा रहेका एटीएमहरूमा पनि अपाङ्गमैत्री सुविधा उपलब्ध गराइएको बैंकले जनाएको छ । नबिल बैंकका अनुसार बैंकका सम्पूर्ण शाखाबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई सेवा प्रवाहमा विशेष प्राथमिकता प्रदान गरिने व्यवस्था गरिएको छ । बैंकले समावेशी बैंकिङ सेवाको अवधारणालाई थप प्रभावकारी बनाउँदै सबै वर्गका नागरिकलाई सहज, सुरक्षित र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘यसै वर्ष एएमसी स्थापना हुन्छ, ब्याजदरको सीमा तोक्छौं’
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले ल्याएको बजेटलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । ‘अभूतपूर्व रूपमा ज्यादै ठुलो जनविश्वास र जनाधार प्राप्त सरकारले ल्याएको बजेट र त्यो बजेटले जुन दिशा निर्देश गर्न खोजेको छ, त्यसलाई सपोर्ट हुने किसिमले नेपाल राष्ट्र बैंकले मनिटरी पोलिसी बनाउनुपर्ने छ । यसको गृहकार्यमा लागिरहेका छौं,’ उनले भने । बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना हुने उनले आशावादी रहेको बताएका छन् । उनले सरकारले समयसीमा तोकेर नै यसमा अगाडि बढ्ने भनेकाले सम्पत्ति व्यवस्थापन कम्पनी यो वर्ष आउनेमा आशावादी रहेको उनको भनाइ छ । ‘एसेट म्यानेजमेन्ट कम्पनी २०५७–५८ सालदेखि नेपाल सरकार र नेपाल राष्ट्र बैंकले उठाउँदै आएको विषय हो,’ उनले भने, ‘अहिलेको सरकारले पनि उठाएको छ । त्यसकारण यसले मूर्त रूप लिन्छ भन्ने बारेमा आशावादी छौं ।’ प्रवक्ता पौडेलका अनुसार अहिले वित्तीय प्रणालीमा ब्याजदर एकदमै घटेर गइरहेको तथा बैंकमा पर्याप्त मात्रामा तरलता छ । ‘तरलता व्यवस्थापन गर्नको लागि नेपाल राष्ट्र बैंकले अर्बौं रुपैयाँ खर्चेर ब्याजदरलाई एउटा सीमासम्म कायम गर्नको लागि काम गरिरहेको छ,’ उनले भने । बैंक तथा वित्तीय संस्थाले तुलनात्मक रूपमा कर्जा प्रवाह गर्न सक्ने क्षमता पनि लिएर बसेको उनको भनाइ छ । अहिले बैंकिङ क्षेत्रले कर्जा दिन सक्ने अवस्था हुँदा पनि ऋण विस्तार नभइरहेको उनले बताए । उनले भने, ‘किन कर्जा गइरहेको छैन ? सरकारले पुँजीगत विकास निर्माणका कामहरू गर्न खोजिरहेको छ । प्राइभेट सेक्टर अगाडि आउन खोजिरहेको छ । यस्तो अवस्थाबाट पार कसरी पाउन सकिन्छ भन्ने हेर्नुपर्छ ।’ राष्ट्र बैंकले पछिल्लो समय साना क्षेत्रलाई कर्जा प्रवाह गर्न जोड दिएको उनले बताए । साना क्षेत्रमा १० लाखसम्मको कर्जाहरू बैंक तथा वित्तीय संस्थाले आफैँ मूल्याङ्कन गरेर प्रवाह गर्ने व्यवस्था मिलाइएको उनले बताए । ‘पी–टू–पी लेन्डिङको माध्यमबाट यो कागजात बिना नै कर्जा प्रवाह गर्न सक्ने खालको सिस्टमको हामीले जुन सुरुवात गर्छौं भनेर पनि हामी अगाडि बढ्न खोजिरहेका छौँ,’ उनले भने ।
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान
काठमाडौं । अमेरिकी वित्तीय संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने उद्देश्यसहित वित्तीय पूर्वाधार विकास र अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धनमा केन्द्रित अभियान थालेको छ । बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल र हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेल नेतृत्वको टोलीले काठमाडौंमा नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् विकासकर्ता, फिनटेक उद्यमी, गैरआवासीय नेपाली लगानीकर्ता तथा पूर्वराजदुतहरूसँग छलफल गरेको हो । छलफलमा अमेरिकी टोलीले नेपाललाई विश्व वित्तीय प्रणालीसँग नयाँ ढङ्गले जोडिने ऐतिहासिक अवसर प्रदान गरेको बताएका थिए । त्यसका लागि आवश्यक वित्तीय पूर्वाधार, लगानीका साधन तथा पुँजी परिचालनको संयन्त्र निर्माणमा क्रस रिभर बैंक दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको उनीहरुको भनाई थियो । छलफलमा सहभागी नेपाली सहभागीहरुले नेपालसँग पर्याप्त वित्तीय स्रोत भएपनि त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्ने वित्तीय संरचनाको अभाव रहेको बताएका थिए । नेपालसँग करिव २३ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति, बैंकिङ प्रणालीमा ठूलो परिमाणको निक्षेप तथा सञ्चय कोष, पेन्सन कोष र बीमा कम्पनीहरूमा १३ अर्ब अमेरिकी डलरभन्दा बढी बराबरको पूँजी रहेपनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उनीहरुको भनाई थियो । सहभागीहरूले प्रतिवद्धता गरेको विदेशी लगानीमध्ये करिब ३९ प्रतिशत मात्र नेपाल भित्रिएको उल्लेख गर्दै अपेक्षाअनुसार प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आकर्षित हुन नसकेको औँल्याए । छलफलमा नेपालमा अझै विकसित बन्ड बजार, जोखिम–आधारित मूल्य निर्धारण प्रणाली तथा अन्तर्राष्ट्रिय लगानीकर्ताले अपेक्षा गर्ने पूँजी बजारको आधारभूत संरचना अभावमा रहेको निष्कर्षसमेत निकालिएको थियो । ऊर्जा क्षेत्रलाई नेपालले अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नसक्ने सबैभन्दा ठूलो अवसरका रूपमा प्रश्तुत गरिएपनि प्रतिफल र विनिमय दरसम्बन्धी जोखिमले संस्थागत लगानीकर्ताको आकर्षण सीमित बनाएको सहभागीहरुको भनाई थियो । सहभागी ऊर्जा विकासकर्ताहरूका अनुसार नेपाल सरकारले जलविद्युत् आयोजनामा १७ प्रतिशत इक्विटी आन्तरिक प्रतिफल (आईआरआर) को सीमा तोकेको छ, जुन विदेशी लगानीकर्ताका लागि अमेरिकी डलरमा करिव ११ प्रतिशतमा सिमित हुनेछ । नेपाली रुपैयाँको अमेरिकी डलरसँगको निरन्तर अवमूल्यनले वास्तविक प्रतिफललाई अझ घटाउने भएकोले पनि अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताहरु उर्जा क्षेत्रमा लगानी गर्न ईच्छुक नदेखिएको सहभागीहरूको धारणा थियो । नेपालका जलविद्युत् परियोजनालाई अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताका लागि आकर्षक बनाउन आवश्यक वित्तीय संरचना, जोखिम व्यवस्थापन र पुँजी बजार सुधार गर्नुपर्ने उनीहरुको सुझाव छ । अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपाल र क्रस रिभर बैंकको संयुक्त आयोजनामा उक्त छलफल भएको हो ।