नेपाल एसबीआई बैंकको फुटसल प्रतियोगितामा १५० भन्दा बढी कर्मचारी सहभागी

काठमाडौं । नेपाल एसबीआई बैंकले ३३औँ वार्षिकोत्सवको अवसरमा ‘एमडी कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना गरेको छ । कर्मचारीबीच आपसी सहकार्य, टोली भावना र स्वस्थ कार्यसंस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सातै प्रदेश र केन्द्रीय कार्यालयका कर्मचारी सहभागी भएका हुन् ।

असार १४ गते काठमाडौंको धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा प्रदेश कार्यालय तथा केन्द्रीय कार्यालयका टोलीबीच पुरुषतर्फ प्रतिस्पर्धा भएको थियो । साथै बैंकको व्यवस्थापन टोली र महिला टोलीबीच प्रदर्शनी खेलसमेत आयोजना गरिएको थियो ।

प्रतियोगितामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दसहित वरिष्ठ व्यवस्थापन टोलीको सहभागिता रहेको थियो । देशभरबाट १५० भन्दा बढी कर्मचारी सहभागी भएको प्रतियोगिताले कर्मचारीबीचको सम्बन्ध थप मजबुत बनाएको बैंकले जनाएको छ ।

प्रतियोगिताको समापन समारोहमा विजेता तथा सहभागी टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत तिवारीले यस्ता कार्यक्रमले कर्मचारीबीच सहकार्य, सहभागिता र संस्थागत एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

Share News