नेपाल बैंकका ग्राहकलाई ॐ समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले काठमाडौंका चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासस्थित ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउनेछन् । बैंकका अनुसार सेवाग्राहीले बिरामी दर्ता र चेकअपमा शतप्रतिशत छुट पाउनेछन् भने अस्पतालका विभिन्न दन्त तथा मुखसम्बन्धी उपचार सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टल हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका छन् । बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक तथा कर्मचारीले गुणस्तरीय दन्त तथा मुख स्वास्थ्य सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।  नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधि र ग्राहककेन्द्रित सेवामार्फत सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ । 

वादविवाद होइन, समस्या समाधानमा जोड दिऔँ : कार्यकारी निर्देशक पौडेल

काठमाडाै । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अहिले वादविवाद भन्दा पनि समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले निरन्तर घटिरहेको ब्याजदरले निक्षेपकर्तालाई मार पर्छ कि भन्ने विषयमा  राष्ट्र बैंक सजग रहेको बताए । राष्ट्र बैंकले ब्याजदर करिडोर २.७५ प्रतिशतको सिमा राखेको कारण सो भन्दा तल ब्याजदर झर्न दिएको छैन, उनले भने, ‘यदि उक्त सिमा पनि नतोकेको थियो भने ब्याजदर १ प्रतिशतमा झथ्र्यो ।’ कार्यकारी निर्देशक पौडेलका अनुसार ब्याजदर करिडोर राखेको कारण ठूलो लागत रास्ट्र बैंकले बेहोरेको छ । तर रास्ट्र बैंकले निक्षेपकर्ताको रक्षात्मक गरेको रूपमा जोड दिनुपर्ने हुन्छ  । अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्था बलियो नहुदा निजि क्षेत्र अग्रसर हुन नसक्ने उनको भनाई छ ।  तर बैंक तथा वित्तीय संस्थाहरु प्रुडेण्ट हुन जरुरी रहेको उनले औंल्याए । रास्ट्र बैंकले निक्षेपकर्ताको रक्षाका लागि भूमिका निर्वाह गर्दै आएको बताए ।    

३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण आज राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ जारी गर्ने भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको लागि आज ३ बजेसम्ममा अनलाइनबाट बोलकबोल हुनेछ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंकले जारी गर्न लागेको यो ऋणपत्र एकवर्षे अवधिको लागि हो  । यसको साँव भुक्तानी २०८४ असार १६ गते हुनेछ । त्यस्तै ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने छ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ ।