नबिल बैंकका ११ शाखा र ११ एटीएम अपाङ्गमैत्री, ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता

काठमाडौं । नबिल बैंकले वित्तीय सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले देशका विभिन्न शाखा तथा एटीएम केन्द्रहरूमा अपाङ्गमैत्री सुविधा उपलब्ध गराएको जनाएको छ । 

बैंकका अनुसार विराटनगर, तीनधारा, महाराजगञ्ज र नयाँ बानेश्वर शाखासहित ती स्थानमा रहेका एटीएमहरू पूर्ण रूपमा अपाङ्गमैत्री बनाइएका छन् । त्यसैगरी इटहरी, ललितपुर, पोखरा, डल्लु, नैकाप, त्रिपुरेश्वर तथा घण्टाघर शाखाहरूमा पनि अपाङ्गमैत्री शाखा सेवा उपलब्ध रहेको बैंकले जनाएको छ ।

यसका अतिरिक्त धनकुटाको राजारानी, कपिलवस्तुको बाणगंगा, बर्दियाको गुलरिया, कैलालीको रातोपुल तथा पोखराको अर्चलबोटमा रहेका एटीएमहरू अपाङ्गमैत्री सुविधासहित सञ्चालनमा छन् । 

काठमाडौंको कमलादी डिजिटल लाउन्ज र ठमेलस्थित होटल गरुडामा रहेका एटीएमका साथै भक्तपुर क्यान्सर अस्पताल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चरक मेमोरियल अस्पताल तथा कास्कीको बिजी बी क्याफेमा रहेका एटीएमहरूमा पनि अपाङ्गमैत्री सुविधा उपलब्ध गराइएको बैंकले जनाएको छ । 

नबिल बैंकका अनुसार बैंकका सम्पूर्ण शाखाबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई सेवा प्रवाहमा विशेष प्राथमिकता प्रदान गरिने व्यवस्था गरिएको छ ।

बैंकले समावेशी बैंकिङ सेवाको अवधारणालाई थप प्रभावकारी बनाउँदै सबै वर्गका नागरिकलाई सहज, सुरक्षित र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । 
 

Share News