सिटिजन्स बैंकको ४ प्रतिशत लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न साधारण सभाले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि पारित भएको छ ।

यसअनुसार बैंकले कुल ४ प्रतिशत लाभांश वितरण गर्नेछ । बोनस सेयर र नगद लाभांशसहित बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा गत असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणसमेत पारित गरेको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ ।

साधारण सभामा अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकका गतिविधि सञ्चालन गर्ने र आगामी दिनमा थप प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थागत सुशासन र नियामकीय अनुपालनलाई उच्च प्राथमिकतामा राख्दै बैंकको समग्र अवस्था थप सुदृढ बनाउँदै लैजाने बताए ।

बैंकले यसअघि ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको जनाएको छ। साथै, फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, युवालक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक’ अनलाइन प्लेटफर्म र फ्रिलान्सरलाई लक्षित बचत खातालगायत सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ। यसका अतिरिक्त अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा सञ्चालनमा रहेको बैंकले जनाएको छ।

हाल बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। 

Share News