एक सय खर्ब पुग्यो बैंकिङ क्षेत्रको सम्पत्ति
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति तथा दायित्व १ सय खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र गैरवित्तीय संस्थाहरूको कुल सम्पत्ति ७.५५ प्रतिशत बढेर ९२ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा ८६ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ कुल सम्पत्ति तथा दायित्व थियो । वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व ६४ खर्बभन्दा बढी पुगेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८०को असारसम्म वाणिज्य बैंकहरूको कुल सम्पत्ति ६४ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष बैंकहरू कुल सम्पत्ति तथा दायित्व ५९ खर्ब ५६ अर्ब ८ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशत अर्थात् ४ खर्ब ४७ अर्ब २३ करोड रुपैयाँ वृद्धि भएको हो । राष्ट्र बैंकका अनुसार २०८० असारसम्म विकास बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १०.९ प्रतिशत अर्थात् ६५ अर्ब ४९ करोड रुपैयाँले वृद्धि भई ६ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ५ खर्ब ९९ अर्ब ५२ करोड रुपैयाँ कुल सम्पत्ति थियो । समीक्षा अवधिमा वित्त कम्पनी (फाइनान्स)हरूको ०.५ प्रतिशत अर्थात् ८१ करोड रुपैयाँ बढेर १ खर्ब ५२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । २०७९ असारसम्म फाइनान्स कम्पनीहरूको कुल सम्पत्ति तथा दायित्व १ खर्ब ५१ अर्ब ७९ करोड रुपैयाँ थियो । तर, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति भने समीक्षा अवधिमा घटेको छ । तथ्याङ्क अनुसार लघुवित्त संस्थाहरूको कुल सम्पत्ति २.३ प्रतिशत घटेर ५ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने लघुवित्त संस्थाहरूको कुल सम्पत्ति ५ खर्ब १९ अर्ब ६५ करोड रुपैयाँ थियो । समीक्षा वर्षमा नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको कुल सम्पत्ति १२.९ प्रतिशत बढेर २९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २५ अर्ब ८२ करोड रुपैयाँ थियो । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार गत असारसम्म १४ जीवन, १४ निर्जीवन, २ पुनरबीमा र ४ लघुबीमा कम्पनी गरी कुल ३४ बीमा कम्पनी सञ्चालनमा छन् । बीमा कम्पनीहरूको कुल सम्पत्ति २०७९ असारसम्म ६ खर्ब २४ अर्ब १३ करोड रुपैयाँ रहेकोमा ९.१ प्रतिशत बढेर २०८० असारसम्म ६ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यसअघि २०७८ असारमा ५ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ थियो । कर्मचारी सञ्चय कोषको सम्पत्ति ११.५ प्रतिशत बढेर ५ खर्ब १२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ थियो । २०७८ असार मसान्तमा ४ खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । नागरिक लगानी कोषको सम्पत्ति ७.३ प्रतिशत बढेर २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति २ खर्ब ४७ अर्ब ५२ करोड रुपैयाँ थियो । यस्तै, सामाजिक सुरक्षा कोषको ३७ प्रतिशत बढेर ७४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष उक्त रकम ५४ अर्ब ६७ करोड रहेको थियो ।
ऋण मिनाहाको हल्लाले बैंकहरू कर्जा दिन डराए : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारी बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको बताए । बैंक तथा वितीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालु वर्ष १४.९ प्रतिशतले बढेको पनि जानकारी दिए । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको बताए । तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने आँकलन राष्ट्र बैंकको रहेको उनको भनाइ छ । मौद्रिक नीतिको लचकताको कारण बैंकको ब्याजदर निरन्तर रुपमा घटिरहेको बताए । गत वर्ष टेजरी बिलको भारित ब्याजदर १०.१४ प्रतिशत रहेकोमा २०८० असोजमा ४.९४ प्रतिशत रहेको बताए । ९१ दिने टेजरी विलको भारित औसत ब्याजदर थप घटेर २.६२ प्रतिशत रहेको बताए । गत वर्षको तुलनामा अल्पकालिन ब्याजदरहरु घट्दै गएको बताए । उनले बैंकहरुको अन्तर ब्याजदर पनि असोजमा २.२६ प्रतिशत रहेको ब्याजदर थप घटेर १ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । बैंकहरुको बेस रेट घटेर ९.९४ प्रतिशत भएर एकल अंकमा आएको भन्दै कर्जाको ब्याजदर पनि गत वर्ष माघमा १३ प्रतिशत रहेकोमा अहिले घटेर १२.१ प्रतिशतमा झरेको बताए । बैंकहरुको निक्षेपको ब्याजदर घटाउँदै ल्याएकाले कर्जाको ब्याजदर पनि थप घट्ने क्रममा रहेको उनको भनाइ छ । गत वर्षको तुलनामा अल्पकालिन ब्याजदरहरु घट्दै गएको बताउँदै गभर्नरले बैंकहरुको अन्तर ब्याजदर पनि असोजमा २.२६ प्रतिशत रहेको ब्याजदर थप घटेर १ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । बैंकहरुको बेस रेट घटेर ९.९४ प्रतिशत भएर एकल अंकमा आएको भन्दै कर्जाको ब्याजदर पनि गत वर्ष माघमा १३ प्रतिशत रहेकोमा अहिले घटेर १२.१ प्रतिशतमा झरेको उनकाे भनाइ थियाे । ‘बैंकहरुको निक्षेपको ब्याजदर घटाउँदै ल्याएकाले कर्जाको ब्याजदर पनि थप घट्ने क्रममा रहेको छ,’ गभर्नर अधिकारीले भने,’चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आँकलन गरेको छ।’ लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले र व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको बताए । २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालु खाता ५९ अर्ब रुपैयाँले वचतमा रहेको बताए । पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको बताए । वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालु आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको उल्लेख गरे । गभर्नर अधिकारीले राष्ट्र बैंकले वाह्य क्षेत्रको स्थायीत्व,बैंक तथा वित्तीय क्षेत्रमा स्थिरता कायम गर्ने र बजार मूल्य स्थिर राख्ने काममा होसियार पूर्वक काम गरिरहेको बताए । उनले यी तीन विषयमा स्थायित्व दिनेसके मात्रै समग्र अर्थतन्त्रमा स्थायित्व कामय हुने जानकारी दिए । अर्थतन्त्रका यी तीनवटा विषयमा राम्रो अवस्था रहेको बताए । अर्थतन्त्रमा देखिएका समस्याको सबै जड गभर्नर हो भन्ने पनि आफूले अर्थतन्त्रमा समस्या हुने काम केही नगरेको उनको भनाइ छ । निर्माण उद्योगमा आएको समस्याका कारण उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा कर्जाको मागमा कमी रहेको बताए । बैंकहरुमा कर्जाको माग कमी हुनुमा दुर्गा प्रसाईले २० लाखसम्मको ऋण मिनाह गराई दिने तिर्नुपर्दैन भन्ने आन्दोलनको कारण पनि कर्जा प्रवाहमा बैंकहरु हच्केको बताए । त्यस्तै, नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताए । उनले ब्याजदर एकल अंकमा आउनासाथ आयात बढ्ने र यसले सञ्चितिमा दबाब पर्ने दाबी गरे । ब्याजदर एकल अंकमा आउनासाथ अर्कोतर्फ घरजग्गालगायत सम्पतीको मूल्य बढ्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने पनि बताए । उनले नेपाल आन्तरिक उत्पादन कमजोर रहेकाले एकल अंकमा ब्याजदर ल्याउँदा फाइदा नहुने बताए । उनले डिपार्टमेण्ट स्टोरलगायतका ठूला व्यवसायहरू, सञ्चालनमा रहेका खुद्रा व्यवसायहरू समस्या रहेको बताए ।
नबिल बैंकले मंसिर २९ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, ९ प्रतिशत ब्याज दिने
काठमाडौं । नबिल बैंकले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक ९ प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा पुस ३ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।