पुसबाट बैंकको ब्याज घट्ने, अर्थतन्त्र चलायमान हुने
काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिृकतहरूले राष्ट्र बैंकले गरेको केही नयाँ व्यवस्थाले अर्थतन्त्र चलायमान हुन मद्दत पुग्ने बताएका छन् । उनीहरूले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् भएको व्यवस्थाले बैंकको ब्याज घट्ने र यसले अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने धारणा राखेका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अब ब्याजदर घट्न मद्दत पुग्ने बताएका छन् । व्यवसायीहरूले माग गर्दै आएको विषय बैंक दर राष्ट्र बैंकले घटाएपछि ब्याजदर थप घट्दै जाने अध्यक्ष केसीले बताए । राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३ प्रतिशत कायम गरेको हो । पछिल्लो समय निरन्तर घटिरहेको ब्याजदरलाई यस व्यवस्थाले थप घट्न मद्दत पुग्ने उनको भनाइ छ । ‘निजी क्षेत्रले ब्याजदर घटाउन माग गर्दै आएका थिए, त्यसलाई सम्बोधन गर्दै बैंकदर १ प्रतिशत घटाईएको छ, पछिल्लो समय घट्न खोजिरहेको ब्याजदरलाई थप घट्दा व्यवसायीहरूको लागतलाई घटाउन मद्दत गर्छ,’ उनले भने । उनका अनुसार बाह्य तथा आन्तरिक कारणले अर्थतन्त्र चलायमान हनु नसकेपनि कर्जा पुनसरंचनालाई फराकिलो बनाउँदा व्यवसायीहरुलाई नै सजिलो हुनेछ । यस्तै, सेयर धितो कर्जा र घरजग्गा धितो कर्जाको जोखिम भार घटाउँदा बैंकहरुलाई सो क्षेत्रमा कर्जा बढाउन सहज हुने उनले बताए । साथै, सेयर धितो कर्जामा लगाइएको १५/२० करोडको क्यापलाई सम्बोधन गरेको उनको भनाइ छ । ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गर्दा आवासीय कर्जा बढ्ने उनले बताए । उनका अनुसार ऋणपत्रको ५० प्रतिशत मात्रै स्रोतको रुपमा गणना गर्न दिँदा खासै असर नपर्ने उनको भनाइ छ । किनभने अधिकांश बैंकहरूको सीडी रेसियो कम छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षाले बैंकहरूलाई रिकभरीमा सहज हुने उनले बताए । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिृकत सुदेश खालिङले परिपत्र आएपछि मात्रै यसको प्रभावको विषयमा थाहा नहुने बताए । डिवेन्चरलाई ५० प्रतिशतको स्रोतको रूपमा राख्न पाउने व्यवस्थाले केही राहत हुने उनको भनाइ छ । नीतिगत दर पनि घटेको छ, यसले ब्याज घट्ने देखिन्छ, पुनरतालिका र पुनरसंरचना गर्ने विषय परिपत्र आएपछि थाहा हुन्छ,’ उनले विकासन्युजसँग भने । सेयरकर्जा र घरजग्गा क्षेत्रमा घटाएको जोखिमभारले खासै ठूलो प्रभाव नपर्ने उनको भनाइ छ । अहिले पनि बैंकहरूले प्रशस्त तरलता भएकोले घरजग्गा र सेयरमा कर्जा प्रवाह गरिरहेकोले यो व्यवस्थाले खासै ठूलो प्रभाव नपर्ने उनको भनाइ छ ।
कर्जा नतिर्ने ऋणीलाई कारवाही थप प्रभावकारी बनाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा चुक्ता नगर्ने ऋणीलाई कारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । शुक्रबार मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासिक समीक्षा गर्दै कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै जाने राष्ट्र बैंकले बताएको हो । साथै, कर्जा पुनरसंरचना अवधिलाई थप गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार समस्यमा परेका ऋणीहरूको ब्याजको १० प्रतिशत रकम असुल गरी चैतसम्म पुनसरंचना गर्न सकिनेछ । ‘बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने छ,’ राष्ट्र बैंकले भन्यो, ‘यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको १० प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्नेअवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने छ ।’
अब बैंकहरूले डिवेन्चरको ५० प्रतिशत मात्रै गणना गर्न पाउने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप अर्थात् स्रोतको रुपमा ऋणपत्र अर्थात् डिवेन्चरको ५० प्रतिशत मात्रै गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि आगामी पुससम्म शतप्रतिशत स्रोतको रुपमा डिवेन्चरलाई गणना गर्दै आएकोमा २०८१ असारसम्म ५० प्रतिशत मात्रै गणना गर्न पाउने भएका हुन् । ‘बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतकोरुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सोपश्चात्उक्त डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असार सम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था मिलाइने छ,’ राष्ट्र बैंकले भनेको छ । बैंक तथा वित्तीय संस्थाहरूले झण्डै पौने २ खर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका छन् । राष्ट्र बैंकको सो व्यवस्थाले सीडी रेसियो टाइट भई तरलता अभाव हुन सक्ने देखिन्छ ।