ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । यस कार्यक्रम अन्तर्गत बैैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरु छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ । यो कार्यक्रम अन्तर्गत बैंकले अहिलेसम्म १०५ जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राहरुको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ । समाजको विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरु आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ । यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बिचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।

ठूला कम्पनीको शून्य लाभांश

काठमाडौं । पुँजी बजारमा अर्बाैं रूपैयाँ लगानी भएका ठूला कम्पनीहरूले सेयरधनीलाई लाभांश दिन नसक्ने जनाएका छन् । पब्लिक कम्पनीले धेरै नाफा गरे भनेर विरोध भईरहँदा अर्बाैं रूपैयाँ लगानी भएका कम्पनीहरूले लाभांश दिन नसक्ने घोषणा गरेका हुन् । पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंकहरूसँग अर्बाैं रुपैयाँ पुँजी छ । तर, अर्बाैं पुँजी भएपनि गत वर्षको नाफाबाट आधा दर्जन बैंकहरूले सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । तीन वटा बैंकको आधिकारिक धारणा आउन बाँकी छ । प्राइम कमर्सियल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बैंकले १६औं वार्षिक साधारणसभा पुस २९ गते अमृतभोग क्याटर्स कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकमा सेयर पुँजी २० अर्ब रूपैयाँ भन्दा बढी छ भने १० लाख भन्दा बढी सेयरधनी रहेका छन् । बैंकले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, २१ अर्ब ६५ करोड बढी लगानी रहेको हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष सेयरधनीहरूलाई २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । बैंकले ३१औं वार्षिक साधारणसभा पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बिहान साढे ९ बजे बोलाएको डाकेको छ । यस्तै, साढे १४ अर्ब पुँजी भएको नेपाल बैंकको पुस ६ गते बसेको बैंकको सञ्चालक समिति बैठकले लाभांश बिना नै ६४औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको साधारणसभा पुस २९ गते प्रधान कार्यालय काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, १८ अर्ब ३६ करोड रुपैयाँ पुँजी रहेको एनएमबि बैंक सञ्चालक समितिले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकले २८औं वार्षिक साधारण सभा पुस २६ गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान १० बजे डाकेको छ । २६ अर्ब २२ करोड रुपैयाँ पुँजी भएको कुमारी बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको भएपनि हालसम्म वार्षिक साधारणसभा आह्वान गरेको छैन । बैंक सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । अधिकांश बैंकले लाभांश सम्बन्धि निर्णय गरेको भएपनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्म कुनै निर्णय गरेका छैनन् ।

नेप्सेमा एक वाणिज्य बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १० प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा बैंकको थप एक करोड ६ लाख ९८ हजार ९४ कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।