सरकारले बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउनको लागि बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा यस्तो बताएका हुन् । उनले स्वार्थ बाझिने गरी बैंकर्स र व्यवसायी एकै खालको हुन नहुने विषय उठान भएकाले बैंकर्स र व्यवसायी छुट्याएर बैंकलाई थप व्यवस्थित गर्न खोजिएको बताए । यसको लागि अर्थमन्त्रालय, राष्ट्र बैंकको समन्वय र सरोकारवालाहरुको राय परामर्शमा विधेयकमा नयाँ व्यवस्था गरिएको जानकारी दिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, औजार, सुरक्षा र जोखिमका आधारमा वित्तीय संस्थाको प्रभावकारी व्यवस्था तथा नियमन गर्नको लागि ल्याएको जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र संविधान अनुसार तीन तहका सरकारमा वित्तीय अधिकार क्षेत्र व्यवस्थित रुपले कार्यान्वयन गर्न प्रदेश सरकारहरुले प्रदेश बैंकहरु खोल्न शुरु गरेको जानकारी दिए । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, औजार, सुरक्षा र जोखिमका आधारमा वित्तीय संस्थाको प्रभावकारी व्यवस्था तथा नियमन गर्नको लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० ल्याइएको हो । मन्त्रालय र राष्ट्र बैंकको समन्वय र सरोकारवालाहरुको राय परामर्शमा विधेयकमा नयाँ व्यवस्था ल्याएका छौं’, उनले भने । उनले नेपालको समग्र बैंकिङ क्षेत्रको विश्वानियता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायीत्व कायम गर्न, बैंक तथा वित्तीय संस्थाहरुको स्थापना, सञ्चालन र व्यवस्थापन र नियमन गर्न विधेयक ल्याएको पनि उल्लेख गरे ।

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच सम्झौता, विद्युतीय सवारी किन्न कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प प्रा.लि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ व्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ । बैंकले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । त्यसैगरी, बैंकले व्यक्तिगतरुपमा ‘अटो लोन’ तथा व्यवसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको जनाएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

नेपाल एसबिआई बैंक र इसेवाबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवाबीच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ । साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पुर्याउने बैंकले जनाएको छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कूमार पंडा र इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिस खडकाले हस्ताक्षर गरेका थिए ।