लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट छप्’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकाे सहकार्यमा करिब ६,००० रूखहरू राेपेकाे छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो । बैंकले सोही दिवसमा आफ्नो एभाेडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा ९ विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४.१८ कार्बन उत्सर्जन हुनबाट जोगाएको जनाएकाे छ। यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टकै निरन्तरता पनि हो । बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न रहेको छ।
सिटिजन्स बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटीमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र पर्साको वीरगञ्जस्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
चालु खाता २ खर्ब र शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्बले बचतमा
काठमाडौं । नेपाल चालु खाता र शोधनान्तर स्थितिमा बलियो बन्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्मको मुलुकको आर्थिक स्थितीमा चालु खाता २ खर्बले बचतमा रहेको छ । गत बैशासम्म चालु खाता १ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको बैशाखसम्म चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रुपैयाँले धनात्मक रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको छ ।