नेपाल बैंकबाट कर्जा लिएकाहरूलाई ब्याज छुट सुविधा

काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि छुट सुविधा ल्याएको छ । बैंकले कर्जा उपभोग गरी विसं २०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाख रुपैयाँसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो । साथै २०७६ साल वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने विशेष व्यवस्था गरिएको बैंकले जनाएको छ । यो ब्याज छुट योजना यही असार मसान्तसम्म मात्र लागु हुनेछ । यसमा शर्त तथा बन्देजहरू लागु हुने बैंकका प्रवक्ता होमबहादुर खड्काले जानकारी दिएका छन् ।

सिद्धार्थ बैंकद्वारा बाल अस्पताललाई १ करोड सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई बैंकले आर्थिक सहयोग गरेको हो । बैंकले सो अस्पताललाई १ करोड रुपैयाँ प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भुमिका खेल्ने भन्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकका ग्राहकले स्तूपा स्वास्थ सेवामा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको चुच्चेपाटीस्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्था लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । नयाँ समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको छुट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।