सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी भएको छ । बैंक र पोखराको कास्कीस्थित चरक मेमोरियल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
बैंकले २१ गतेभित्र ब्यालेन्ससिट सार्वजनिक गर्नुपर्ने, हिसाब साउनभरिको राख्न पाउने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले साविकको व्यवस्थाअनुसार नै वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विगतमा जस्तै साउन २१ गतेभित्र नै वित्तीय विवरण सार्वजनिक गर्न आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले साउन २१ गतेभित्र नै वित्तीय विवरण सार्वजनिक गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । बैंक तथा वित्तीय संस्थाहरूले गत असारसम्म पाकेको ब्याज साउनमा उठाएमा विद्यमान लेखामानको अधीनमा रही सो ब्याज रकमलाई गत आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यससँगै साउनमा पनि ब्याज उठ्ने भएपछि वित्तीय विवरण सार्वजनिक गर्ने विषयमा बैंकरहरू दुविधामा थिए । तर, एक महिनाका लागि नीतिगत व्यवस्था नगरी पुरानै व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने डा.आचार्यको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउनेछन्,’ राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था गरेको छ । यस्तै, राष्ट्र बैंक नियमन विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरु पौडेलका अनुसार वित्तीय विवरण सार्वजनिक गर्न समय लम्ब्याइएको छैन । अहिले सार्वजनिक गर्ने वित्तीय विवरण लेखापरीक्षण नगरिने भएकाले पुरानै व्यवस्था बमोजिम सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । ‘कुनै बैंकले असारमा पाकेको ब्याज साउनमा उठ्यो भने गत वर्ष वित्तीय विवरणमा जोड्न पाउँदिन भन्न पनि पाइन्छ । किनभने १३ महिना नभई १२ महिना हुने हो, अहिले राखियो भने चालु आर्थिक वर्षलाई घाटा पर्ने हो,’ उनले भने । उनका अनुसार २१ गतेभित्र आउने वित्तीय विवरण अपरिस्कृत हुने भएकोले पछि पनि त्यसमा समावेश गर्न पाइनेछ ।
कामना सेवा विकास बैंकको सञ्चालकमा शर्मा नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालकमा डा पवन कुमार शर्मा नियुक्त भएका छन् । साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले साउन १५ गतेबाट नै कार्यभार सम्हाल्नेछन् ।