सिटिजन्स बैंकको नाफा डेढ अर्ब, वितरणयोग्य नाफा कति ?

काठमाडौं । सिटिजन्स बैंक गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले गत वर्ष करिब डेढ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा २७.९७ प्रतिशत कम भएपनि बैंकले गत वर्ष १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेर ५ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म बैंकको नेट फि तथा कमिशन इनकम २८.३१ प्रतिशत बढेर १ अर्ब १२ करोड ४९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेर ७ अर्ब १ करोड ९८ लाख रुपैयाँ छ भने सञ्चालन नाफा १९.३२ प्रतिशत घटेर २ अर्ब ७ करोड ७८ लाख रुपैयाँ छ । गत असारसम्म बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ र जगेडा कोष ८.७९ प्रतिशत बढेर ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप १२.०७ प्रतिशत बढेर १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ संकलन गरी कर्जा ९.६५ प्रतिशत बढाएर १ खर्ब ५३ अर्ब ३२ करोड रुपैयाँ प्रवाह गरेको छ । बैंकको कूल निक्षेपमा चालु र बचत निक्षेप परिचालनको अवस्थामा उल्लेख्य सुधार भएको छ । पूँजी पर्याप्तता अनुपातमा समेत सुधार भएको छ ।  गत वर्ष बैंकले निक्षेप, कर्जा दुवैमा उल्लेख्य वृद्धि गर्न सफल भएको छ भने बैंकको बेसरट एकल अंक ८.२६ प्रतिशतमा झार्न सफल भएको छ । यस्तै बैंकको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ८१.८४ प्रतिशत कायम राखेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँ घटेर ९.४५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ४.०७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.९९ प्रतिशत थियो । आर्थिक क्रियाकलापहरुमा सुस्तताका बावजुद पनि गत आर्थिक वर्षमा बाग्मती प्रदेशमा ४ गण्डकी प्रदेशमा २, कर्णाली प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २ गरि ९ वटा थप शाखाहरु संचालनमा ल्याएको छ । सबै प्रदेशको प्रदेश कार्यालयमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ । कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको हो । यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकैपटक ३६५ जनाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् ।

गभर्नरले आफूलाई असहयोग गरेको पूर्वअर्थमन्त्री महतको आरोप, ‘नयाँ अर्थमन्त्रीको कारण सेयर बजार बढेको होइन’

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको नेतृत्वबाट आफूलाई असयोग गरेको भन्दै असन्तुष्टि पोखेका छन् । शुक्रबार अर्थसमिति बैठकमा धारणा राख्दै उनले आफू अर्थमन्त्री हुँदा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सहयोग नमिलेको बताएका हुन् । उनले आफू अर्थमन्त्री हुँदा गभर्नर अधिकारी समक्ष लचिलो नीति अगाडि सार्न र सेयर बजारमा लगाइएको सिमा हटाउन आग्रह गरेपनि उनले नमानेको बताएका हुन् । म अर्थमन्त्री हुँदा गभर्नरज्यूलाई केही लचिलो नीति ल्याउनु पर्यो भनेर आग्रह गरेँ । तर, उहाँले मान्नु भएन, अहिले नयाँ अर्थमन्त्रीज्यू आउनु भएको छ, सेयर बजार पनि बढेको छ । तर, अहिले सेयर बजार बढ्यो भन्दै अर्थतन्त्र सुधार भएको भन्न मिल्दैन,’ उनले भने । उनले आफू अर्थमन्त्री हुँदा पनि १८ सयमा रहेको सेयर बजार २२ सयसम्म पुगेको धारणा राखे । उनले अहिले नयाँ अर्थमन्त्री आएर सेयर बजार पनि बढेको र अर्थतन्त्र पनि सुधार भएको भाष्य सिर्जना भएपनि वास्तविकतामा त्यस्तो नभएको धारणा राखे । डा. महतले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर अधिकराीबीच ट्युनिङ मिलेर लचिलो नीति अवलम्बन गरेको पनि बताएका छन् । अर्थमन्त्री विष्णु पौडेलले महतको धारणाको जवाफ दिँदै गभर्नर र आफूबीच अन्य हिसाबभन्दा पनि वित्तीय सुधारका लागि ट्युनिङ मिलेको बताए । उनले निरन्तर बढेको सेयर बजारमा भित्रि कारोबार पनि हुन सक्ने भएकोले यसमा सजग रहनु पर्ने पनि बताएका छन् । उनले बैठकमा पनि सेयर बजार अर्थतन्त्रको ऐना भएको धारणा राखे । उनले मौद्रिक नीति र बजेटलाई एकसाथ राखेर अगाडि बढ्नु पर्ने बताए ।

के कार किन्दै हुनुहुन्छ ? एनआईएमबीले दिन्छ ८.८२ प्रतिशत ब्याजमै कर्जा

काठमाडौं । के तपाईं ईलेक्ट्रिकल भेइकल (ईभी) कार किन्दै हुनुहुन्छ वा ईभी कार किन्ने योजना बनाउँदै हुनुहुन्छ ? र, सस्तो ब्याजदरमा कर्जा लिने बैंकको खोजिमा हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । किनभने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले बैंकिङ क्षेत्रमै सबैभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले साउन महिनाका लागि ८.८२ प्रतिशत ब्याजदरमा ईभी कार कर्जा उपलब्ध गराउने भएको हो । बैंकबाट ऋण लिएर विद्युतीय सवारी साधन खरिद गर्ने योजना बनाएका ग्राहकलाई एनआईएमबीले ८.८२ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले ईभीमा कम ब्याजदरमै लोन उपलब्ध गराउने बैंकले जनाएको छ । हरियाली यात्राको साथ ईभी कार कर्जाको साथ भन्ने नाराका साथ बैंकले साउन महिनाका लागि मात्रै ८.८२ प्रतिशतमै कर्जा दिने जनाएको छ ।