२ बैंकले घोषणा गरे लाभांश, कुनको कति ?
काठमाडौं । लाभांश सिजन सुरु भएसँगै सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म झण्डै दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये २ वटा बैंकले पनि लाभांश वितरण गर्ने घोषणा गरेका छन् । लाभांश वितरण गर्नेमा एभरेष्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् । वाणिज्य बैंकहरूमा सबैभन्दा पहिला लाभांश प्रस्ताव एभरेष्टले गरेको हो भने विकास बैंकमा कामना सेवाले गरेको हो । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज २० गते बिहान ११ आम्रपालि ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । यस्तै कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी १८औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट हुने भएको छ । बैंकले डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर-समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवमा अफरैअफर
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४ औं वार्षिकोत्सव तथा आउँदै गरेका दशैंतिहार र छठलाई लक्षित गरी विशेष याेजना सार्वजनिक गरेकाे छ । बैंक असोज १७ गते बाट २४ औं वर्ष पार गरी २५ औं वर्षमा प्रवेश गर्दैछ । बैंकले वार्षिकाेत्सवकाे अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफर ल्याएको हाे । बैंककाे मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्डमार्फत विभिन्न अफरहरू लिन सकिने माछापुच्छ्रे बैंकले जनाएकाे छ । असोज १ देखि ३० गतेसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना छ । बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिने बैंकले जनाएकाे छ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट रु.२,४०० मात्रमा प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदान गर्नेछ । बैंकको २४ औं वार्षिकोत्सवलक्षित योजनाअन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विभिन्न व्यापारीहरूबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले असोज १ देखि १८ गते सम्मका लागि डिजिटल कारोबारको प्रोत्साहन र प्रवर्द्धनकाे लागि बैंकको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत ग्राहकको लागि क्विज कार्यक्रम सञ्चालन पनि गर्नेछ । उक्त क्विज कार्यक्रममा सही उत्तर दिने सहभागीहरूले आर्कषक उपहार पाउन सक्ने बैंकले जनाएकाे छ । बैंकबाट जारी डिजिटल माध्यमहरूबाट कारोबार गर्ने ग्राहकहरू र डिजिटल भुक्तानी लिने व्यापारीहरूका लागि बैंकले टिभी, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्ज कार्ड तथा आकर्षक गिफ्ट भौचरहरू पनि प्रदान गर्नेछ ।