सिद्धार्थ बैंकले सार्वजनिक गर्याे क्रेडिट कार्ड कर्जा नतिर्ने १०१ जनाको नाम

काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने १०१ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो । बैंकले सोमबार एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो । क्रेडिट कार्ड प्रयोग गरी ऋण लिएर समयमा उक्त ऋण चुक्ता नगरेपछि ३५ दिनको समय दिएर बैंकले १०१ जना ऋणीको नाम सार्वजनिक गरेको जनाएको छ । बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंकले जनाएको छ । सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।

भिजा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित भयो कुमारी बैंक

काठमाडौं । कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएकाे छ । भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसीप कनक्लेभ नेपाल २०२४’ मा बैंक दुई विधामा सम्मानित भएको हाे । बैंक’एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डबाट सम्मानित भएको हो । आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवासुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै अघि बढेको र आगामी दिनमा पनि आफ्ना सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ । कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

एनएमबि र बागमती गाउँपालिकाबीच खेती कर्जाका लागि भयो सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेती एप) र मकवानपुरकाे बागमती गाउँपालिकाबीच त्रिपक्षीय सम्झाैता भएकाे छ । गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हाे । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डिभी एक्सेलस प्रालिको तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरे । एनएमबि बैंक र डिभी एक्सेलस प्रालिबीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई पूर्ण रूपमा डिजिटल कर्जा प्रदान गर्नका लागि सम्झौता भएबमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेको छ । बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई यस डिजिटल कर्जामार्फत कृषकहरूको आर्थिक अवस्था वृद्धि गर्नका लागि तीनैवटा संस्था मिली वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानहरूलाई कर्जाकाे लागि सहजीकरण गर्ने, ऋणीहरूलाई अन्य विभिन्न खालका परामर्श सेवाहरू प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्नेजस्ता विषयमा सहमति भएकाे हाे । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरूलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरू गरिरहेको बताएका थिए । अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबि खेती कर्जा अब भने छिट्टै नै देशभर सुरु गर्ने तयारी गर्न लागिएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।