१० प्रतिशत लाभांश पारित गर्न नबिल बैंकले डाक्यो ४०औँ वार्षिक साधारण सभा
काठमाडौं । लाभांश पारित गर्न नबिल बैंकले ४०औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी सनराइज बैंकले गर्यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो । यद्वपि, बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ । साथै हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १-१ बिरुवा पनि प्रदान गरिएको थियो । एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो । प्रतियोगिताको हाइलाईट विजेता : आत्माराम सिम्खडा (४३ अंक) उपविजेता : आशिष लाल श्रेष्ठ (४२ अंक) उत्कृष्ट ग्रस : टाशी छिरिङ (३८ अंक) वरिष्ठ श्रेणी विजेता : तुलसी भट्ट (४० अंक) महिला विजेता : तारा कार्की चित्रकार (३५ अंक) महिला उपविजेता : सुमित्रा खड्का (३० अंक) सबैभन्दा लामो ड्राइभ : नोर्बु छिरिङ शेर्पा पिनको नजिक : अनिल कुमार सिन्हा विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।
सोनम ग्यात्सोले किने सानिमाको सेयर, बाहिरियो जय गणेश इन्भेष्टमेन्ट
काठमाडौं । सानिमा बैंकबाट एक संस्थापक सेयरधनी बाहिरिएको छ भने नयाँ सेयरधनी थपिएका छन् । बैंकबाट जय गणेश इन्भेष्टमेन्ट प्रालि बाहिरिएको हो भने सोनम ग्यात्सो नयाँ सेयरधनीका रूपमा थपिएका हुन् । आर्थिक वर्ष २०७९/८० मा जय गणेश इन्भेष्टमेन्ट ०.९५ प्रतिशत अर्थात् ११ लाख ८७ हजार १७३ कित्ता सेयर स्वामित्वसहित बैंकको ठूला सेयरधनीभित्र पर्दथ्यो । तर, गत आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीको स्वामित्व ठूला सेयरधनीको सूचीमा समावेश छैन । सोनम ग्यात्सोको ०.९२ प्रतिशत अर्थात् १२ लाख ४६ हजार ५०७ कित्ता सेयर खरिद गरेसँगै ठूला सेयरधनीमा समावेश भएको छ । गत असारसम्म बैंकमा १४ जना सेयरधनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै सेयर अरुण कुमार ओझाको रहेको छ । ओझाको बैंकमा ७.९४ प्रतिशत अर्थात् १ करोड ७ लाख ८१ हजार ५४२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, टेक राज निरौलाको ६.३९ प्रतिशत अर्थात् ८६ लाख ७४ हजार ५७० कित्ता, जिवनाथ लामिछानेको ५.४४ प्रतिशत अर्थात् ७३ लाख ८४ हजार ३४२ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४.५० प्रतिशत अर्थात् ६१ लाख १४ हजार ९ सय कित्ता, विनय कुमार श्रेष्ठको ४.२७ प्रतिशत अर्थात् ५८ लाख ५ हजार ७०५ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, कर्मचारी संचय कोषको ४.२८ प्रतिशत अर्थात् ५८ लाख १४ हजार १६ कित्ता, अमला इन्भेष्टमेन्ट प्रा.लि.को ३.९७ प्रतिशत अर्थात् ५३ लाख ९२ हजार ५८२ कित्ता, खेम राज लामिछानेको ३.४७ प्रतिशत अर्थात् ४७ लाख १९ हजार ४५६ कित्ता, घनश्याम थापाको ३.४६ प्रतिशत अर्थात् ४६ लाख ९५ हजार ४२४ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, राम कृष्ण शाहको २.४९ प्रतिशत अर्थात् ३३ लाख ७९ हजार ९०१ कित्ता, दिलीप श्रेष्ठको ०.७५ प्रतिशत अर्थात् १० लाख २२ हजार २१३ कित्ता, शाम्बा लामाको ०.७३ प्रतिशत अर्थात् ९ लाख ९२ हजार १०२ कित्ता, गीता श्रेत्रीको ०.६१ प्रतिशत अर्थात् ८ लाख २३ हजार ५७९ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार कूल सेयरको १७.९६ प्रतिशत सेयर स्वामित्व संस्थाहरुको रहेको छ भने सर्वसाधारणको ८२.०२ प्रतिशत सेयर स्वामित्व छ ।