नबिल बैंकले विदेशी साझेदार भित्र्याउने, सेयरधनीलाई २.७० अर्ब रुपैयाँ बाँड्ने
काठमाडौं । नबिल बैंकले विदेशी साझेदार भित्र्याउने भएको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते ४०औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कनका लागि मूल्यांकनकर्ता नियुक्त गर्नदेखि आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशतका दरले २ अर्ब ७० करोड ५६ लाख ९९ हजार रुपैयाँ नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्नेछ । साथै, सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन, बैंकका सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नबिल स्टक डिलरको वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, सभाले साधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन, संस्थापक सेयरधनी आईएफआईसी बैंक पीएलसी बंगलादेशको प्रतिनिधित्व गर्ने सञ्चालक सइद मन्सुर मुस्तफाको नियुक्तलाई अनुमोदन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
गरिमा विकास बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा रोड रेस कम्पिटिसन गर्ने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ८ गते शनिबार गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्न लागेको हो । दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । खुल्लातर्फको १० किलोमिटरतर्फ इच्छुक व्यक्तिहरुले प्रतिस्पर्धामा सहभागिता जनाउनसक्ने तथा कर्पोरेट तर्फको ५ किलोमिटरमा संघसंस्थाका कर्मचारी तथा पदाधिकारहीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् । गरिमा रोड रेस कम्पिटिसन २०८१ का महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५,०००, ६०,०००, ४५,०००, ३०,००० र १५,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । यो प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सक्नेछन् । निर्धारित सहभागी संख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने बैंकले जनाएको छ । मंसिर ७ गते १८ औं वार्षिकोत्सव मनाउन गईरहेको यो विकास बैंकले सो अवसरमा काठमाडौं बाहिर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको छ ।
एकैपटक ४ वटा कम्पनीबाट बाहिरिँदै एनआईसी एशिया बैंक, १०१ रुपैयाँमै सेयर बेच्दै
काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । विभिन्न ४ कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंक बाहिरिने भएको हो । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर बिक्री गरेर बाहिरिने भएको हो । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ७७९ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता २९७ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १७८ रुपैयाँ र निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि आवेदन दिँदा कम्तिमा ५ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रबन्धकको कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ । सेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय थापाथली, विराटनगर मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट आवेदन दिन सकिनेछ ।