ग्लोबल आइएमई बैंकको नाफा साढे ४९ प्रतिशत बढ्यो, ईपीएसमा पनि सुधार
काठमाडौं । चालु आर्थिक वर्षको पुस मासन्तमसम्म ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब बढी भएको छ । बैंकले यो अवधिमिा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशत बढेको छ । बैंकको सञ्चालन नाफा ४७.८८ प्रतिशत बढेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ ।
नेपाल एसबिआई बैंकले पुस्तकालयलाई दियो ३ लाख रुपैयाँ
काठमाडौं । नेपाल एसबिआई बैंकले नेपाल भारत मैत्री पुस्तकालयलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाको कास्कीमा रहेको नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिन बहादुर गरुङले संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
बजारमा पैसा धेरै भएपछि ६० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आइतबार ६० अर्ब बराबर तरलता खिच्न लागेको हो । लामो समयदेखि बजारमा पैसा धेरै भए पनि व्यवस्थापनका लागि राष्ट्र बैंकले सातामा कम्तिमा दुई पटक पैसा झिक्दै आएको छ । सोही क्रममा आज पनि ६० अर्ब रुपैयाँ राष्ट्र बैंकले झिक्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ-ब्याज २७ माघमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।