बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको संख्या बढ्दै, १३७ वटाविरूद्ध उजुरी
बागमती । बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो पटक बागमती प्रदेश सरकारले थप तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । योसँगै बागमती प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको सङ्ख्या पाँच पुगेको छ । प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलका अनुसार पछिल्लो पटक सुमेरू सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ पुलचौक ललितपुर, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था काठमाडौँ र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था काठमाडौँलाई समस्याग्रस्त घोषणा गरेको छ । वित्तीय दायित्व पूरा नगरेको, बचतकर्ताको बचत माग गर्दा फिर्ता नगरेको, बचत फिर्ता गर्ने कार्ययोजना बनाएर पनि कार्ययोजनाअनुसार काम नगरेको लगायत कारणले ती सहकारी संस्थाहरूलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको रजिष्ट्रार पोखरेलले बताए । समस्याग्रस्त घोषणा गरिएकामध्ये लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी गरिएको रजिष्ट्रार पोखरेलको भनाइ छ । यसअघि प्रदेश सरकारले काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ र काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी सस्ंथालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । दर्शन सहकारीलाई यही कात्तिक १२ गते र सिभिललाई गत २०८० साल भदौ २१ गते समस्याग्रस्त सहकारी घोषणा गरेको रजिष्ट्रार पोखरेलले बताए । बचत गरेको रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरूले प्रदेशभरिका एक सय ३७ भन्दा बढी सहकारी संस्थाविरूद्ध उजुरी दर्ता भएको र दर्ता भएका उजुरीमाथि छानबिन भइरहेको रजिष्ट्रार पोखरेलले बताए । उनका अनुसार तीमध्ये ८० वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरी कार्यालयमा पत्राचार गरिएको छ । बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि पत्राचार गर्दा पनि सम्पर्क नआउने सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको रजिष्ट्रार पोखरेलको कथन छ । उनका अनुसार कारबाहीका लागि प्रहरी कार्यालयमा पत्राचार गरिएका अधिकांश सहकारी संस्थाहरू उपत्यकाभित्रका तीन जिल्लाका छन् । ‘बचत गरेको रकम फिर्ता नपाएको भन्दै पीडितहरूले दिएको निवेदनका आधारमा हामीले सम्बन्धित सहकारी संस्थाका सञ्चालकहरूलाई पत्राचार गर्यौँ,’ रजिष्ट्रार पोखरेलले भने, ‘तीमध्ये धेरै सहकारीका सञ्चालकहरू सम्पर्कमा आउनै चाहेन, कतिपय सम्पर्कमा आए पनि रकम फिर्ता गर्न आलटाल गर्ने गरेको छ । त्यसैले कारबाहीका लागि सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेका छौँ ।’
अर्थमन्त्री र गर्भनरले कृषि विकास बैंकको प्रशंसा गर्दै भने- ‘बैंकको व्यवस्थापन अब्बल’
काठमाडौं । कृषि विकास बैंकको व्यवस्थापनबारे अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरले खुलेर प्रशंसा गरेका छन् । सोमबार बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीले खुलेर प्रशंसा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पछिल्लो समय कृषि विकास बैंक अब्बल र प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । उनले उक्त बैंकले विगतमा धेरै समस्या झेल्दै अघि बढेको उल्लेख गर्दै अब्बल व्यवस्थापन र कर्मचारीका कारण अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘कृषि विकास बैंकले जुन समस्या झेल्दै आएको थियो, बैंकिङ क्षेत्रको प्रतिस्पर्धामा पछाडि पर्दै गएको थियो । तर, पछिल्ला दिनमा बैंकको व्यवस्थापन र कर्मचारीले गरेको सामूहिक प्रयासका कारण आज अब्बल बैंक, राम्रो बैंक, अन्य बैंकको तुलनामा प्रतिस्पर्धा गर्न सामर्थ्य राख्ने बैंकका रूपमा आफूलाई चिनाएको छ ।’ यस्तै, अर्थमन्त्री पौडेलले पछिल्लो समयमा बैंकले गरेको प्रगतिमा रमाएर बस्न नहुने धारणा व्यक्त गरे । उनले कर्मचारी र व्यवस्थापनलाई सुझाव दिँदै भने, ‘पछिल्लो समय बैंकले गरेको प्रगतिमा रमाएर बस्ने होइन । थप उपलब्धी आर्जन गर्ने, थप सफलता आर्जन गर्न स्पेस छ । त्यो स्पेसलाई यहाँहरूले भरपुर सदुपयोग गर्नुहोस् ।’ बैंकका कर्मचारी र व्यवस्थापनको राम्रो सम्बन्ध भएको बैंकले धेरै प्रगति गर्ने सम्भावना धेरै हुने उल्लेख गर्दै उनले बैंकका कर्मचारी तथा संगठनका पदाधीकारीहरूलाई बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउन अनुरोध गरे । ‘बैंक सफल भयो, प्रभावकारी भयो र बैंकको इज्जत माथि उठ्यो भने समग्र कर्मचारीको इज्जत माथि उठ्छ । यसैगरी, बैंकको प्रतिष्ठा, पफर्मन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिने भएकाले बैंकको उन्नति र प्रगतिमा प्रहिलो प्राथमिकता दिनुपर्छ,’ उनले भने । कर्मचारी र व्यवस्थापनबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको तीतो अनुभव रहेको बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘कृषि विकास बैंकमा अन्यको तुलनामा सम्बन्ध राम्रो रहेको महशुस मैले गरेको छु । यो सम्बन्धलाई अझै राम्रो बनाउनु पर्दछ ।’ यस्तै, गभर्नर अधिकारीले कर्मचारी र व्यवस्थापनको सुमधुर सम्बन्ध रहेको भन्दै बैंक बधाईको पात्र भएको उल्लेख गरे । उनले सम्बोधन गर्नुअघि बैंकका कर्मचारी यूनियनका पदाधीकारीहरूले आ-आफ्नो मन्तव्य राखेको थिए । कर्मचारीहरूले खुलेर आफ्नो कुराहरू राखेको विषयलाई उदृत गर्दै उनले यसरी सञ्चालक र व्यवस्थापनको बारेमा कर्मचारीले खुलेर कुरा राखेको दुर्लभ पाइने गरेको बताए । त्यसकारण पनि कर्मचारी, व्यवस्थापन र सञ्चालकहरू बधाईको पात्र भएको उनको भनाइ थियो । कृषि विकास बैंकको विगतलाई कोट्याउँदै गभर्नर अधिकारीले उक्त बैंकको सुधारका लागि राष्ट्र बैंक र नेपाल सरकार मिलेर लगानी गरेको इतिहास सम्झिए । त्यस्तै, उनले कृषि विकास बैंकले हाल धेरै अब्बल व्यवस्थापकहरूमध्यको व्यवस्थापक पाएको दाबी गरे । उनले भने, ‘व्यवस्थापकीय सीपको सन्दर्भमा केही सीमित व्यवस्थापकहरूको व्यवस्थापन बैंकले पाइरहेको महसुस भएको छ ।’ राष्ट्र बैंकले निरीक्षण गर्दा र तथ्यांकहरू केलाउँदा पनि सो बैंकको पफर्मेन्स राम्रो रहेको पाइएको उनले बतए । यसका साथै गभर्नर अधिकारीले गत वर्षको मुनाफाबाट बैंकले १० प्रतिशत लाभांश वितरण गरेको, कर्मचारी र कर्मचारी युनियनको गुनासो बैंकले राम्रोसँग सम्बोधन गरेको उल्लेख गर्दै उनले साैहार्द किसिमले बैंक अघि बढेको बताए । यस्तै, उनले बैंकको ऋण नतिर्न उक्साउने गतिविधिहरू रहेको बताउँदै कृषि विकास बैंकको लाहान शाखामा भएको घटनाप्रति नेपाल राष्ट्र बैंक र नेपाल सरकार संवेदनशील रहेको बताए । त्यस विषयमा आफूहरू सरकारका निकायहरूसँग निरन्तर छलफल गरिरहेको जानकारी उनले दिए । सम्बन्धित निकायहरूलाई बैंकिङ क्षेत्रमा यस्तो अराजकताको असर कति पर्छ ? अर्थतन्त्रमा कति असर पर्छ भनेर विषय उठान गराएको पनि उनले जानकारी दिए । कृषि विकास बैंक वाणिज्य बैंक भए पनि कृषि कर्जामा यस बैंकले नेतृत्व गरिरहेको गभर्नर अधिकारीले बताए । उक्त बैंकले कृषिमा गरेको लगानी समग्र बैंकिङ क्षेत्रमा ठूलो योगदान रहेको भन्दै साना तथा मझाैला उद्योगमा पनि सो बैंकले लगानी बढाउँदै गएको उनले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकले ५ वर्षे व्यावसायीक रणनीती ल्याएको जानकारी दिए । ‘साझा समृद्धिका लागि सबैको रोजाइको बैंक’ भन्ने दूरदृष्टिका साथ २०८१ देखि २०८६ सम्मको ५ वर्षे व्यावसायीक योजना बैंकले अघि सारेको उनले बताए । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ७९ करोड खुद नाफा आर्जन गरेको उल्लेख गर्दै सीईओ गुरुङले अघिल्लो आर्थिक वर्षको तुलनामा २१७ प्रतिशतले नाफा वृद्धि गरेको बताए । खुद नाफाको आधारमा २० वटा बैंकमध्ये कृषि विकास बैंक ७औं नम्बरमा रहेको छ । गत आवको मुनाफाबाट बैंकले ७.५३ प्रतिशत नगत र ३ प्रतिशत बोनस सेयर गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । धेरै लाभांश वितरण गर्ने वाषिज्य बैंकको चौथो नम्बरमा कृषि विकास बैंक रहेको पनि उनले जानकारी दिए ।
कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन पश्चात प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरे । हाल बैकिङ्ग बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रुपमा रहेको छ । पछिल्लो समय समग्र अर्थ तन्त्रका सुचकहरुमा सकरात्मक हुने संकेत देखिएकोले बैंकहरुले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरु बढाउन आग्रह गरे । उक्त अवसरमा प्रमुख अतिथिबाट बैंकको नयाँ वेबसाइटको शुभारम्भ समेत भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशिष्ठ अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त गर्दै अगाडी बढ्न आग्रह गरे । पछिल्लो समय बैकिङ्ग बजार केही चुनौती भए पनि पालना गर्नु न्युनत्तम नियमको पालना गर्दै कषि विकास बैंकले गत आ.व.मा गरेको प्रगतिले यहाँका कर्मचारीहरुलाई मात्र नभई बैंकको हितचाहने ग्राहक लगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्तगर्दै उनले बैंकको प्रशंसा गरे । त्यसैगरी बैंकले प्रकाशन गरेको ५८ औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि प्रमुख अतिथिबाट विमोचन समेत गरिएको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका पूर्व महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, लगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णमा स्वागतगर्दै बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको समग्र गतिविधिको समेत जानकारी दिएका थिए ।