ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम, चार हजार बढी लाभान्वित

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी यस वर्ष पनि ‘ग्लोबल मनी विक, २०२५’मनाएको हो । यही मार्च १७ देखि २३ तारिखसम्म विश्वभर ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यस अभियानअन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा चार हजारभन्दा बढी विद्यार्थी र युवामाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो । बैंकले विद्यार्थी तथा युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउन तथा फाइनान्सियल इन्फ्लुएन्सर्सको लहलहैमा लागेर लगानी गर्न नहुनेबारे जानकारी दिन वित्तीय साक्षरता अभियान सञ्चालन गरेको थियो । सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेट, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा जानकारी गराइएको बैंकले जनाएको छ । बैंकले सञ्चालन गरेको उक्त अभियानबाट कोशी प्रदेशका७४४, मधेश प्रदेशका एक हजार ६३, बागमती प्रदेशका ४४१, गण्डकी प्रदेशका ४३४,  लुम्बिनी प्रदेशका ५०६, कर्णाली प्रदेशका ४०५ र सुदूरपश्चिम प्रदेशका ४०७ विद्यार्थी तथा युवाहरु वित्तीय साक्षरता कक्षामा सहभागी भई लाभान्वित भएका बैंकले जानकारी दिएको छ । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरताविस्तार तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्ने उद्देश्यले वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासका लागि बैंकले  ‘नबिल एसएसई’लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । युवा तथा विद्यार्थीलाई लक्षित गरी सहुलियत ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा पनि प्रवाह  गरिरहेको छ ।

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक अन्तर्गत वित्तीय साक्षरता अभियान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत ४ गतेदेखि एक साता लामो अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गरेको हो । बैंकले वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरेको यस अभियानबाट करिब ३,००० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रम अन्तर्गत बैंकका शाखाहरूले विद्यार्थीहरूलाई वित्तीय प्रणाली, डिजिटल कारोबारको सुरक्षित प्रयोग, बैंकिङ सेवाहरूको सदुपयोग तथा वित्तीय समावेशीकरणका विषयमा जानकारी प्रदान गरेका थिए । साथै, केही विद्यार्थीहरूलाई बैंकका शाखाहरू अवलोकन गराउँदै वित्तीय कारोबारबारे प्रत्यक्ष सिक्ने अवसरसमेत दिइएको थियो । ‘थिङ्क बिफोर यू फलो, वाइज मनि टुमरो’ नारासहित सञ्चालित कार्यक्रममा युवाहरूलाई वित्तीय योजनासम्बन्धी सचेत गराउनुका साथै उनीहरूको वित्तीय क्षमतामा सुधार ल्याउने उद्देश्य राखिएको बैंकले जनाएको छ ।

कुमारी र सिटिजन्स बैंकको सेयर बिक्रीमा, मूल्य १ सयदेखि १२० रुपैयाँ

काठमाडौं । कुमारी बैंक र सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कुमारी र सिटिजन्स बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १६ लाख २० हजार ३६४ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक सेयरधनीहरूले ३५ दिनभित्र बोलपत्र आवेदन पेस गर्नुपर्ने छ । यदि उक्त अवधिभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल रहेको छ । यस्तै, सिटिजन्स बैंकका संस्थापक सेयरधनीहरूले ३ लाख १८ हजार ८७३ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार संस्थापक सेयरधनी यदुनाथ घिमिरेले ५४ हजार ८११.५७ कित्ता सेयर र रोशन श्रेष्ठले २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । घिमिरेको सेयरको मूल्य १२० रुपैयाँ तोकिएको छ भन श्रेष्ठको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर खरिदका लागि जोकोही लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।