नविल बैंकमा नेतृत्व परिवर्तन, सेयर बजारमा शून्य प्रभाव

काठमाडौं । नबिल बैंकको उच्च नेतृत्व परिवर्तन हुँदा यस कम्पनीको सेयर मूल्यमा शून्य प्रभाव परेको छ । सेयर बजार खुल्नुअघि नै बैंकको मूल नेतृत्व परिवर्तन भएको सूचना बैंकले सार्वजनिक गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदबाट दिएको राजीनामा स्वीकृत भएको बैंकले औपचारिक रूपमा जनाएको छ । साथै बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कामु सीईओको जिम्मेवारी पाएका छन् । नबिल बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा दुई जना कार्यरत थिए, मनोज ज्ञवाली र सुजित शाक्य । बैंकले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको छ । बुधबार नविल बैंकको सेयर प्रतिकित्ता ४७७ देखि ४८५ रुपैयाँसम्ममा कारोबार भएको छ । कारोबार बन्द हुन्दा प्रतिकित्ता ४८१ रुपैयाँ मूल्य कायम भएको छ । मंगलबारको तुलनामा यो मूल्य ८७ पैसाले बढी हो । बुधबार नेप्से परिसूचक भने ४०.४७ अंकले बढेर २६२३ भएको छ । यस वर्ष नविलको सेयर मूल्य प्रतिकित्ता ७०० सम्ममा कारोबार भएको छ । न्यूनतम मूल्य भने ४१९ रुपैयाँसम्म झरेको थियो । यतिबेला सेयर किन्नेका लागि नविल कम जोखिमयुक्त र बढी लाभदायक हुने जानकारहरु बनाउँछन् ।

एनआईसी एशिया बैंकले मनायो ग्लोबल मनी विक, ४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौं । एनआईसी एशिया बैंकले देशभरका विद्यार्थी तथा युवाहरूलाई लक्षित गर्दै वित्तीय साक्षरताका विभिन्न कार्यक्रम आयोजना गरी ‘ग्लोबल मनी विक २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित यस अभियानअन्तर्गत बैंकका सातै प्रदेशका शाखाहरूले ८० भन्दा बढी कार्यक्रम सञ्चालन गरेका थिए । जसबाट ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवा लाभान्वित भए । विशेषगरी, वित्तीय साक्षरताको पहुँच न्यून रहेका बाजुरा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुलालगायतका जिल्लाहरूमा समेत वित्तीय शिक्षाका कार्यक्रम सञ्चालन गरिएका थिए । यस अभियानलाई थप प्रभावकारी बनाउन बैंकले वित्तीय साक्षरतासम्बन्धी सामग्रीहरू पनि निर्माण तथा प्रकाशन गरेको छ । बैंकले यी कार्यक्रममार्फत बालबालिका, विद्यार्थी तथा युवालाई वित्तीय ज्ञान, सीप र जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास लिएको छ ।

बैंकिङ कसुरको आरोपमा जिसस काभ्रेका प्रमुख दीपक कुमार गौतम पक्राउ

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता गरिएको छ ।  उनले भने ‘गौतमलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धान भइरहेको छ ।’ काभ्रेपलाञ्चोक जिल्लामा पनि उनीविरुद्ध तीनवटा थप जाहेरी परेको जानकारी प्राप्त भएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता र अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष गौतमलाई अहिले बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । प्रहरी स्रोतका अनुसार गौतमको विषयमा थप अनुसन्धान जारी छ ।