नेपाल बैंकले माग्यो विभिन्न पदका १६३ जना कर्मचारी, कुन पदमा कति ?

काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि १६३ जना कर्मचारी मागेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीहरू मागेको हो । बैंकले प्रबन्धक पदका लागि ३ जना, उपप्रबन्धक पदमा १ जना, सहायक पबन्धक ४२ जना कर्मचारी मागेको हो । यस्तै, बैंकले सहायक पदका लागि सातै प्रदेशमा ९६ जना कर्मचारी मागेको छ । जसमध्ये कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा १६ जना, बागमती प्रदेशमा २३ जना, गण्डकीमा ११ जना, लुम्बिनीमा १७ जना, कर्णालीमा १७ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना कर्मचारी मागेको हो । यस्तै, बागमती प्रदेशमा सहायक आइटी पदका लागि १ जना कर्मचारी मागेको छ । यस्तै, कनिष्ठ सहायक (गोल्ड टेस्टर)का लागि बागमती प्रदेशमा ७ जना, गण्डकीमा ३ जना, लुम्बिनीमा ६ जना, कर्णाली प्रदेशमा ४ जना कर्मचारी मागेको छ । इच्छुक तथा योग्य नेपाली नागरिकहरूले २०८२ बैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर बैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।

ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल बैंकिङ प्रवर्द्धनका लागि सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडललाई प्रवर्द्धन गर्न एड्भाइजरी सेवा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र आईएफसीका एफआईजी, एशिया तथा प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् । यस साझेदारीअन्तर्गत, आईएफसीले बैंकको डिजिटल रूपान्तरण तथा डाटा म्याच्युरिटी मूल्यांकन गर्ने, आवश्यक सुधारका क्षेत्र पहिचान गर्ने तथा डिजिटल बैंकिङ क्षमता अभिवृद्धिका लागि रणनीतिक सुझाव दिनेछ । साथै, फिनटेक सम्भाव्यता अध्ययन गरी एम्बेडेड फाइनान्स मोडल प्रवर्द्धन गर्न सल्लाह प्रदान गर्नेछ । सम्झौतापछि बैंकले नवीन प्रविधिमैत्री सेवा विकास गर्न थप सहज हुने विश्वास लिएको छ । सीईओ रेग्मीले भने, ‘डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीको अन्तर्राष्ट्रिय अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’ ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४’  प्राप्त गरिसकेको छ । नेपालभर ७७ वटै जिल्लामा बैंकको ३५५ शाखा, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरसहित १,१०० भन्दा बढी सेवा केन्द्र छन् ।

माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी छिटो हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सहकार्य गर्दै ‘गेटपे’ नामक नयाँ डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । यो सेवाले व्यापारिक भुक्तानी छिटो, सरल र प्रभावकारी बनाउने दाबी गरिएको छ । सिटीटेकले विकास गरेको गेटपे प्लेटफर्म बैंक तथा वित्तीय संस्थाहरूलाई भुक्तानी व्यवस्थापन गर्न अझ सजिलो बनाउने लक्ष्यका साथ ल्याइएको हो । माछापुच्छ्रे बैंकमा यो सेवा कार्यान्वयन भएपछि व्यवसायीहरूले आफ्ना सबै कारोबार एउटै स्थानबाट ट्र्याक गर्न सक्नेछन् । गेटपे सेवाले भुक्तानी, कारोबार हिसाब र व्यापारिक गतिविधि एकै ठाउँमा व्यवस्थापन गर्न मद्दत गर्नेछ । यसबाट डिजिटल भुक्तानीको अनुभव सुधारिने र आर्थिक कारोबारलाई थप पारदर्शी बनाउने विश्वास लिइएको छ । यसले काम छिटो र सजिलो बनाई खर्च घटाउने र सबैलाई डिजिटल भुक्तानीको अनुभव राम्रो बनाउने बताइएको छ ।  सिटीटेकका अनुसार गेटपे सेवाले डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै सही आर्थिक निर्णय लिन मद्दत गर्नेछ ।