सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहका सेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका अनुसार उक्त सेयर बिक्रीका लागि चन्द्र इन्भेष्टमेन्ट प्रालिले बैंकमा निवेदन दिएको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक समूहको सेयर खरिद–बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बैंकले संस्थापक सेयरधनीहरूलाई उक्त सेयर खरिद गर्न आह्वान गरेको हो । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको ३५ दिनभित्र कुनै संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा वा सेयर बिक्री हुन नसकेमा प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
लगानीकर्तालाई राहत, बैंकलाई फाइदा
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै नयाँ परिपत्र जारी गरेपछि पूँजी बजारका लगानीकर्ता र बैंक तथा वित्तीय संस्थाहरुलाई केही हदसम्म राहत मिल्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत मा कायम राख्ने निर्णय गर्नुका साथै सूचीकृत सेयर तथा डिबेञ्चरमा बैंकहरूले गर्ने लगानीको न्यूनतम होल्डिङ अवधि ६ महिनाबाट घटाएर ४५ दिन कायम गरेको छ । राष्ट्र बैंकको यो परिमार्जनलाई बजार विश्लेषकहरूले लगानीकर्ताका लागि ठूलो राहत र बैंकहरूका लागि व्यावसायिक फाइदाको निर्णयका रूपमा व्याख्या गरेका छन् । आम लगानीकर्ताका लागि यो निर्णयले बजारमा नयाँ तरलता र माग सिर्जना गर्ने धारणा राखेका छन् । बैंक तथा वित्तीय संस्थाहरू सेयर बजारका प्रमुख संस्थागत लगानीकर्ता भए पनि ६ महिनासम्म सेयर बेच्न नपाइने कडा नियमका कारण उनीहरूको लगानी सुस्त बनेको थियो । अब होल्डिङ अवधि घटेर ४५ दिनमा झरेपछि बैंकहरू बजारमा सक्रिय रूपमा प्रवेश गरी सेयर खरिद गर्न सक्नेछन्, जसले दोस्रो बजारमा नगद प्रवाह र दैनिक कारोबार रकम मा उल्लेख्य सुधार ल्याउने विश्वास गरिएको छ । यसका साथै, बजार घट्दो क्रममा रहँदा बैंकहरूले तल्लो बिन्दुमा सेयर खरिद गरेर साना लगानीकर्ताको सम्पत्ति जोगिन टेवा पु¥याउनेछन्, जसले आम लगानीकर्तामा गुमेको विश्वास र सकारात्मक माहौल सिर्जना गर्न सक्नेछ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरूका लागि यो नयाँ व्यवस्था गैर–ब्याज आम्दानी बढाउने अवसर पनि बन्न सक्छ । अहिले अर्थतन्त्रमा कर्जाको माग सुस्त रहेको र स्प्रेड दर घट्दा बैंकहरूको मुख्य ब्याज आम्दानी प्रभावित भइरहेको अवस्थामा, ४५ दिने लचिलो अवधिसँगै बैंकहरूले आफ्नो ट्रेडिङ बुक मार्फत पूँजीगत लाभ प्राप्त गरी नाफा बढाउन सक्नेछन् । आर्थिक वर्ष २०८३÷८४ का लागिसमेत काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत कायम गरिएकाले बैंकहरूले थप अतिरिक्त पूँजी कोष छुट्याउनुपर्ने छैन, जसले उनीहरूको कर्जा विस्तार क्षमतालाई बढाउनेछ । यद्यपि, राष्ट्र बैंकले होल्डिङ अवधि छोट्याए पनि सट्टाबाजी जोखिम नियन्त्रण गर्न सञ्चालक समितिबाटै ‘स्टप लस’ र ‘टेक प्रोफिट’ सम्बन्धी नीति अनिवार्य गरेको छ । यसले बैंकहरूलाई अनियन्त्रित जोखिमबाट जोगाउँदै अनुशासित रूपमा लगानी परिचालन गर्न मार्गनिर्देश गर्नेछ ।
सेयर होल्डिङ अवधि ४५ दिनमा झारियो, काउन्टरसाइक्लिकल बफर पनि शून्य प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै बैंकहरूको पूँजी कोष जोखिम र धितोपत्र बजार (शेयर/डिबेञ्चर) मा गर्ने लगानीसम्बन्धी नीतिमा दुई महत्त्वपूर्ण परिवर्तन गरेको छ । राष्ट्र बैंकले सेयर लगानीको न्यूनतम अवधि ४५ दिन र काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत कायम गरेको हो । यसअघि ६ महिनाभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइने र अल्पकालीन लगानीमा पूर्ण प्रतिबन्ध रहेकोमा नयाँ निर्देशनले ४५ दिनभन्दा बढी अवधिको होल्डिङलाई खुला गरेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि वाणिज्य बैंकहरूले कायम गर्नुपर्ने काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत नै रहने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेका संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा लगानी गर्दा अब कम्तीमा ४५ दिनभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउनेछन् । नयाँ निर्देशनमा बैंकहरूले दोस्रो बजारमा सेयर, डिबेञ्चर वा अन्य उपकरणहरूमा लगानी गर्दा हुनसक्ने सट्टाबाजी जोखिम न्यूनीकरणका लागि स्पष्ट लगानी नीति तथा कार्यविधि आफ्नो सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने अनिवार्य बनाइएको छ । उक्त नीतिमा लगानीको दायरा, अस्विकार्य लगानी, पोर्टफोलियोलाई ‘बैंकिङ बुक’ र ‘ट्रेडिङ बुक’ मा वर्गीकरण गर्ने तरिका, स्वार्थको द्वन्द्व रोक्ने प्रक्रिया, र‘स्टप लस’ लगायत जोखिम व्यवस्थापनका मापदण्डहरू समेट्नुपर्नेछ । यसका अतिरिक्त, लगानीको पारदर्शी प्रतिवेदन पेस गर्नका लागि बैंकिङ बुक र ट्रेडिङ बुकका लागि छुट्टाछुट्टै नयाँ मासिक ढाँचा समेत थप गरिएको छ । सेयरको न्यूनतम होल्डिङ अवधि ४५ दिन कायम गर्नाले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो धितोपत्र पोर्टफोलियो व्यवस्थापन गर्न सहज हुनेछ । यसले दोस्रो बजारमा संस्थागत लगानीकर्ताहरूको सक्रियता बढाउनुका साथै बजारको तरलता र कारोबार रकम मा सकारात्मक सुधार ल्याउने विश्वास राष्ट्र बैंकको छ । ४५ दिनको लचिलो अवधिसँगै बैंकहरूले बजारको स्थिति हेरेर तुलनात्मक रूपमा छिटो नाफा सुरक्षित गर्न सक्नेछन् भने कर्जाको माग सुस्त रहेको समयमा बैंकहरूलाई सेयर तथा ऋणपत्र लगानीबाट अतिरिक्त आम्दानी गर्ने बाटो सहज बनाउनेछ आव २०८३/८४ का लागि काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत नै राखिएकाले वाणिज्य बैंकहरूलाई थप अतिरिक्त पूँजीको भार पर्ने छैन । यसले बैंकहरूसँग उपलब्ध पूँजीलाई कर्जा विस्तार तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न मद्दत गर्नेछ । होल्डिङ अवधि छोट्याइए तापनि राष्ट्र बैंकले सञ्चालक समितिबाट स्वीकृत लगानी नीति, जोखिम सीमा स्टप लस र ट्रेडिङ बुकको दैनिक मूल्याङ्कन अनिवार्य गरेको छ । यसले वित्तीय संस्थाहरूलाई सेयर बजारको अत्यधिक उतारचढाव वा सट्टाबाजी जोखिमबाट जोगाउनुका साथै संस्थागत सुशासन कायम राख्न मद्दत पु¥याउनेछ ।