बङ्गलादेशको हाउल्याडर युनुसले १० ठूला बैंकको लेखापरीक्षण गर्ने

काठमाडौं । बङ्गलादेशको हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्ने भएको छ । १० वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्न बङ्गलादेशको हाउल्याडर युनुस अडिट (लेखापरीक्षण) फर्म छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी उक्त कम्पनी छनोट गरेकाे हो । लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।  यसअघि १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालि छनोट भएको थियो । तर, लागत बढी भनेपछि कम्पनीको प्रस्ताव राष्ट्र« बैंकले रद्द गरी पुनः बोलपत्र आह्वान गरेको थियो ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागेको हो ।  

राष्ट्र बैंकका कर्मचारीको भत्ता २ अर्ब, स्वार्थ बाझिने गरी गभर्नर र सञ्चालकको तलब निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीहरूलाई विभिन्न भत्ता तथा सुविधा बापत २ अर्ब रुपैयाँ खर्च गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा कर्मचारीहरूलाई भत्ता तथा सुविधाबापत १ अर्ब ९५ करोड १ लाख रुपैयाँ उपलब्ध गराएको देखिएको महालेखापरीक्षकको ६२औं प्रतिवेदन मार्फत सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११०(२)मा सञ्चालक समितिले कर्मचारीको पारिश्रमिक, सेवा सुविधा सम्बन्धी विनियम बनाउन सक्ने व्यवस्था गरेको छ । सोही बमोजिम कर्मचारीहरूलाई भत्ता, कर्मचारी कल्याणकारी सञ्चय कोष, वार्षिकोत्सव भत्ता, खाजा भत्तालगायत १४ शिर्षकमा भत्ता तथा सुविधा उपलब्ध गराइरहेको छ । उक्त भत्ता तथा सुविधामा सेवा निवृत्त भएपछि कर्मचारीले पाउने गरी कर्मचारी कल्याणकारी सञ्चय कोषमा दाखिला गरेको ९ करोड ८९ लाख ८६ हजार रुपैयाँ, केन्द्रीय भत्तासमेत थप गरी बढी भुक्तानी भएको दशैं खर्च ५ करोड ६८ लाख ७१ हजार रुपैयाँ, कर्मचारी कल्याणकोष मार्फत कर्मचारीलाई भुक्तानी दिएको ६९ करोड ५१ लाख रुपैयाँ समावेश छ ।  तर, कर्मचारीहरूको पारिश्रमिक, सेवा, सुविधा सम्बन्धमा सञ्चालक समितिले निर्णय गर्न सक्ने विद्यमान कानुनी व्यवस्थामा पुरावलोकन गरी बैंकलाई आर्थिक व्ययभार पर्ने विषयमा सरकारको पूर्वस्वीकृति लिने व्यवस्था मिलाउनुपर्ने महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १९ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधा सञ्चालक समितिले तोकेबमोजिम हुने उल्लेख भए तापनि अन्य सुविधाबारे ऐनमा उल्लेख गरेको छैन । सोही ऐनको दफा ३२ (२) मा समितिमै रहने गभर्नर, डेपुटी गभर्नर र सञ्चालकले आफ्नै सुविधाको लागि निर्णय गर्दा स्वार्थ बाझिने कारण सम्बन्धित पदाधिकारीले भाग लिन नपाउने उल्लेख छ । सञ्चालकले पाउने सुविधा समितिले तोक्ने व्यवस्थामा पुनरावलोकन हुनुपर्ने महालेखाको प्रतिवेदनले सुझाव दिएको छ ।  राष्ट्र बैंकका गभर्नर/डेपुटी गभर्नरबाट आफूले प्रयोग गर्ने सवारी साधन खरिद गर्ने कार्यविधि स्वीकृत गरेको छ । उक्त कार्यविधिमा सेवा निवृत्त समयमा सवारी साधनको किताबी मूल्य वा खरिद मूल्यको २० प्रतिशतमध्ये जुन बढी हुन्छ सो मूल्य तिरी व्यक्तिगत नाममा नामसारी गरी लैजान पाउने व्यवस्था छ । यसरी खरिद गर्ने सवारी साधन विद्युतीय वा हाइब्रिड भएमा ४ वर्षमा र डिजेल, पेट्रोल भए ५ वर्षमा सवारीसाधनको मूल्य शून्य हुने गरी ह्रास कट्टीको व्यवस्था रहेको छ ।  आफू समेतले पाउने सुविधा जोडिएको कार्यविधि आफैंले स्वीकृत गरेको विषय औचित्य पूर्ण नदेखिएको र सेवामा रहँदा पाउने सुविधाको हद र निवृत्त भएपछि पाउने सुविधा सम्बन्धमा कानुनद्वारा स्पष्ट गर्नुपर्ने उल्लेख छ । कानुनअनुसार सुविधा पाउने गभर्नर १, डेपुटी गभर्नर २, कार्यकारी निर्देशक १८ र निर्देशक ५९ समेत ८० जना रहेका छन् । तर, राष्ट्र बैंकमा १२७ थान सवारी साधन रहेकाले बाँकी रहेका ४७ वटा सवारी साधनको प्रयोग मितव्ययी र प्रभावकारी तवरले गर्नुपर्ने सुझाव दिएको छ । 

राष्ट्रिय वाणिज्य बैंकको धनुषाधाम शाखा सञ्चालनमा, २९७औँ शाखाको उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम न.पा.वडा न.३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले ताम्रपत्र अनावरण र रिबन काटेर शनिबार एक समारोहकाबीच शाखाको संयुक्त रुपमा समुदघाट्न गरेका छन् ।  उक्त अवसरमा नगरप्रमुख वालेश्वर मण्डलले धनुषाधाम क्षेत्र पर्यटकीय र कृषि क्षेत्रसँग जोडिएकाले यस क्षेत्रमा बैंकले प्राथमिकताका साथ लगानी गर्नुपर्ने बताए । रा.वा.बैंकमा सरकारको लगानी भएकाले यो जनताकै बैंक हो र नागरिकले यस बैंकसँग बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत दवेन्द्ररमण खनालले बैंकले ७७ वटै जिल्लामा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए ।  उनले अहिले बैंकमा भएको योग्य र दक्ष जनशक्ति नागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गर्न सक्षम रहेको बताए । उक्त समारोहमा प्रभातफेरी कार्यक्रम गरी नगर परिक्रमा समेत गरिएको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा धनुषाधाम नगरपालिकाका उपप्रमुख विद्यादेवी भुजेल, धनुषाधाम नगरपालिका ३ न. वडाका अध्यक्ष, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कम्पनी सचिव प्रमोद अधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका शाखा प्रबन्धकहरू, कर्मचारीहरू लगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।  उक्त कार्यक्रम संगम महतले सञ्चालन गर्नु भएको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २९७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।