केदारनाथ शर्मासहित हिमालयन बैंकले बिक्रीमा राख्यो १५ वटा गाडी

काठमाडौं । हिमालयन बैंकले १५ वटा सवारी साधन बिक्रीमा राखेको छ । बैंकले ऋण कर्जा समयमा चुक्ता नगरेपछि नटराज एग्रो प्रालि, छाब्दी बाराही अर्गानिक बहुउद्देश्य प्रालि र नासा सप्लायर्स प्रालिको धितोमा रहेका सवारी साधन लिलाम बिक्रीमा राखेको हो । सञ्चालक केदारनाथ शर्मा र गिता शर्माको कम्पनी नटराज एग्रो प्रालिको नाममा रहेका १३ वटा सवारी साधन बिक्रीमा राखिएका छन् । बैंकको कोटेश्वर शाखा (साविक बानेश्वर शाखा)बाट लिएको ऋण चुक्ता नगरेपछि ५ वटा निजी पिकअप र ८ वटा डेलिभरी भ्यान बिक्रीमा राखिएको हो ।  यस्तै, पार्वती शिवाकोटी सञ्चालक र ऋषीराम चपाई जमानीकर्ता रहेको छाब्दी बाराही अर्गानिक बहुउद्देश्य प्रालिको निजी जिप टाटा एचफाइभ एक्सजेठ लिलाम बिक्रीमा राखेको छ ।  यस्तै, सरोज आचार्य र लक्ष्मी प्रसाद श्रेष्ठ सञ्चालक र गणेश कुमार श्रेष्ठ जमानीकर्ता रहेको नासा सप्लायर्स प्रालिको टाटा कम्पनीको टिपर बिक्रीमा राखेको बैंकले जनाएको छ । 

निफ्राले जेठ १८ गतेदेखि ५ अर्बको ऋणपत्र बिक्री गर्ने, ७ वर्षसम्म ६ प्रतिशत ब्याज दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले जेठ १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८÷८९’ बिक्री गर्न लागेको हो ।  बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये १ लाख कित्ता सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्तालाई १९ लाख कित्ता बिक्री गरिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिनुपर्नेछ । साथै बैंकको ऋणपत्रमा लगानीकर्ताहरूरूे जेठ २१ गते भित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा असार १ गतेसम्म लम्बिनेछ ।  बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले सिआस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।     

गभर्नर पौडेलले बैंकर्सहरूसँग भने- अहिलेको चुनौती समाधान गर्न एकजुट हुनुपर्छ

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहीबार नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे। नवनियुक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो ।  गभर्नर सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सिफारिसको एक नम्बरमा रहेका  पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।  यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।