ऋणीसँग घुस लिने नेपाल बैंकका अध्यक्ष अधिकारीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ऋण दिलाइदिए बापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्र बहादुर अधिकारी ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको परियोजनाले १ अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ रुपैयाँको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले १९ लाख रुपैयाँ रकम लिएको पाइएको छ । ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजका छोरा अङ्कित भुुसालसँग पटकपटक भेटघाट गरेको र सामाजिक सञ्जालमार्फत कुराकानी गरेको पाइएको छ । ऋण मिलाई सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भनिने खुस नसिब अन्सारीसमेत प्रतिवादीसँगको मिलेमतोमा २०८१ भदौ फरक फरक व्यक्तिमार्फत ३ गते ७ लाख रुपैयाँ र १२ लाख रुपैयाँ रकम चेकमार्फत लिएको पाइएको छ । आयोगले तत्कालीन अध्यक्ष डा अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अङ्कित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।  नेपाल बैंकका तत्कालीन अध्यक्ष डा अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी ट्रेडर्सका सञ्चालकसँग ५० लाख रुपैयाँ घुस माग गरेको पाइएको छ । आयोगले डा अधिकारीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ ।  नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारी विरुद्ध पनि समान ५० लाख रुपैयाँको बिगो माग दाबी गर्दै दोस्रो मुद्दा दायर गरेको छ । आयोगले डा अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ । काठमाडौं महानगरपालिका ३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालीको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै ५ लाख रुपैयाँ घुस लिएको पाइएको छ । आयोगले डा अधिकारी, रमेश आचार्यविरुद्ध ५ लाख रुपैयाँको बिगो माग दाबी गर्दै तेस्रो मुद्दा दायर गरेको हो । आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरी विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको विसं २०४६ वैशाख १९ गतेदेखि विसं २०७८ फागुन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो । सो अवधिमा कोइरीको वैध आय ३ करोड ३७ लाख ७९ हजार ४ सय रुपैयाँ रहेको थियो । कोइरीले ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँको रकम खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले गरेको परीक्षणबाट ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँको रकमको स्रोत पुष्टि हुन नसकेको पाइएको छ । इञ्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती माला कुमारी महतोका नाममा जग्गा खरिद, सेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ । आयोगले इञ्जिनियर रामबाबु र उनकी श्रीमती माला कुमारी विरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको छ । 

एभरेस्ट बैंक एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपेमा आबद्ध

काठमाडौं । एभरेस्ट बैंकले एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्ड योजनामा प्रिन्सिपल मेम्बरसिप लिँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (नसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले अब नेपालपे डोमेस्टिक कार्ड जारी गर्न र कार्ड प्राप्त गर्न सक्ने प्रणाली (स्विच एकीकरण) सञ्चालनमा ल्याउनेछ । यसले बैंकका ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो भुक्तानी सेवा प्रदान गर्न मद्दत गर्नेछ । बैंकले यो सहकार्यमार्फत डिजिटल कारोबार प्रणालीलाई अझ मजबुत बनाउँदै आफ्ना ग्राहकहरूलाई घरेलु कार्डको सुलभ र सुरक्षित सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ । एभरेष्ट बैंकले देशभरि रहेका १३२ वटा शाखा, ४ विस्तारित काउन्टर, ३२ राजस्व संकलन काउन्टरहरू तथा १६७ एटीएम टर्मिनलमार्फत ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार बिरुवा वृक्षरोपण गरिँदै

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ ।  जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो । कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ ।  मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २ लाख २ हजार १३.४२ टन सीओटू बराबर (टीसीओटूई) रहेको  थियो । पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन् : व्यापार कर्जा: १९०,२९३.४२ टीसीओटूई परियोजना वित्त  : (जलविद्युत बाहेक): ७०५.५६ टीसीओटूई गाडी कर्जा :१,५२८.९८ टीसीओटूई घर कर्जा : ९,४८५.४६ टीसीओटूई त्यस्तै, बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरूले अनुमानित २० हजार ३४७.११  टीसीओटूई बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाइ थप जोड दिएको छ । सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्य अनुरूप बैंकले ग्रीन फाइनान्स, ऊर्जा-सदुपयोगी कर्जाहरू तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरू विस्तार गर्दै आइरहेको छ ।  साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण ९घटाउने, पुन: प्रयोग गर्ने र पुनर्चक्रण ० लाई प्रोत्साहन गर्दै आएको छ । यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १० हजार रूख रोप्ने साहसी पहल पनि सञ्चालन गरेको छ । यस अन्गर्गत हालसम्म लगभग ७ हजार ५०० रूखहरू रोपिइसकिएको छ ।