विश्व वातावरण दिवसमा सिटिजन्स बैंकले धनगढीमा गर्यो वृक्षारोपण
काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 'बिट द प्लाष्टिक' भन्ने मुल नारालाई आत्मसाथ गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हरियाली प्रवर्द्धन गर्न बैंकले बिहीबार वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । धनगढी उपमहानगरपालिका–३ स्थित कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय तथा मठ–मन्दिरमा सहयोगजस्ता कार्यहरू गर्दै आएको छ ।
इन्जिनियरहरूका लागि सुविधा : इन्भेष्टमेन्ट मेगा बैंक र इन्जिनियर्स एसोसिएसनबीच सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक साझेदारीको सम्झौता भएको छ । विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित गरिएको यो सम्झौतामा दुवै संस्थाका तर्फबाट उच्च अधिकारीहरूले हस्ताक्षर गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गर्दै सेवाको सुरुआत गरेका हुन् । सम्झौता अनुसार एसोसिएसनका सबै सदस्यहरूले बैंकको २७५ शाखा र वेबसाइटमार्फत 'प्रोफेशनल बचत खाता' खोल्न पाउनेछन् । जसमा १० लाख रुपैयाँको दुर्घटना बीमा सुविधा पनि समावेश गरिएको छ । साथै, सदस्यहरूले व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।
कुमारी बैंकका ग्राहकलाई भेइकल एकेडेमीका ड्राइभिङ कोर्समा छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर (गुर्जुधारा ट्रायल सेन्टर) बीच सेवा सुविधासम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले गुर्जुधारास्थित भेइकल एकेडेमीमा उपलब्ध सबै ड्राइभिङ कोर्सहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यातायात व्यवस्था कार्यालय, ठूलोभर्याङ्गले सवारी चालक अनुमतिपत्रको लागि सञ्चालन गर्दै आएको प्रयोगात्मक परीक्षा यही केन्द्रमार्फत सञ्चालन हुँदै आएको छ । कुमारी बैंकले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको छ । जसअन्तर्गत यो सहकार्य पनि एक महत्वपूर्ण कदमको रूपमा रहेको बैंकले जनाएको छ ।