एकै वर्षमा ८ अर्ब ५० करोड रूपैयाँ वैदेशिक लगानी भित्रियो
काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी क्रमशः बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा आठ अर्ब ५० करोड रूपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा उक्त वर्ष ३६.१ प्रतिशतले वैदेशिक लगानी वृद्धि भएको हो । सो वर्ष वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । आर्थिक वर्ष २०७९/८० मा वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । त्यसअघिको वर्ष हेर्ने हो भने आर्थिक वर्ष २०७८/७९ मा १८ अर्ब ६० करोड रूपैयाँसम्म वैदेशिक लगानी भित्रिएको थियो । नेपालले हालसम्म ६० भन्दा बढी मुलुकबाट वैदेशिक लगानी आकर्षित गर्दै आएको छ । सर्वेक्षण अनुसार तीन देशले मात्रै कुल विदेशी लगानीको कुल ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको देखिन्छ । कुन देशबाट बढी लगानी ? विदेशी लगानीमध्ये सबैभन्दा धेरै आउने देश भारत रहेको छ । हाल भारतको मात्रै १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको लगानी रहेको छ, जुन ३२.२ प्रतिशत बराबर हो । त्यस्तै चीनबाट ३३ अर्ब ८२ करोड रुपैयाँ अर्थात १०.२ प्रतिशत, सिंगापुरबाट २७ अर्ब ६६ करोड अर्थात् ८.३ प्रतिशत, आयरल्याण्डबाट २३ अर्ब १४ करोड अर्थात् ७ प्रतिशत, दक्षिण कोरियाबाट २० अर्ब १८ करोड अर्थात ६.१ प्रतिशत तथा अस्ट्रेलियाबाट १९ अर्ब ७१ करोड अर्थात ५.९ प्रतिशत लगानी प्राप्त भएको छ । क्षेत्रगत रुपमा वैदेशिक लगानी सबैभन्दा बढी उद्योग क्षेत्रमा भएको छ । यो क्षेत्रको हिस्सा सबैभन्दा धेरै ५९.४ प्रतिशत छ भने सेवा क्षेत्रमा ४०.५ प्रतिशत लगानी पुगेको छ । सर्वेक्षण अवधिसम्म देशमा कुल ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको कुल विदेशी लगानी कायम छ । राष्ट्र बैंकले २०१२÷१३ देखि नियमित रूपमा वैदेशिक लगानीको सर्वेक्षण गर्दै आएको छ । दक्षिण एशियाको अवस्था के छ ? दक्षिण एशियामा गएको वर्षको तुलनामा वैदेशिक प्रत्यक्ष लगानी ठूलो मात्रामा घटेको छ । सन् २०२४ मा दक्षिण एशियामा कुल वैदेशिक लगानी ३४.६ अर्ब अमेरिकी डलर मात्र भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८.८ प्रतिशत कम हो । सबैभन्दा ठूलो गिरावट भारतमा देखिएको छ । भारतमा वैदेशिक लगानी २०२३ मा २८.१ अर्ब डलरबाट घटेर २७.६ अर्ब डलरमा झरेको छ, जुन ४३.१ प्रतिशत कमी हो । तर नेपालले भने लगानी आकर्षणमा सुधार देखाएको छ । नेपालमा सन् २०२४ मा ६० करोड डलर वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.८ प्रतिशत वृद्धि हो । यसैगरी पाकिस्तानमा त्यस्तो लगानी ४०.१ प्रतिशतले बढेर २.६ अर्ब डलर पुगेको छ भने माल्दिभ्समा पनि ४.८ प्रतिशत वृद्धि भएको छ । यस्तै, बंगलादेश, भूटान र श्रीलंकामा लगानी घटेको छ ।
सानिमा बैंक र दराजबीच दशैं धमाका योजनामा सहकार्य
काठमाडौं । सानिमा बैंक लिमिटेडले बडादशैंको अवसरमा अनलाइन शपिङ प्लेटफर्म दराजसँग सहकार्य गर्दै 'दशैं धमाका योजना' सार्वजनिक गरेको छ । यस सहकार्यअन्तर्गत योजना अवधिभर दराजमार्फत सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानी गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्ने भएका छन् । यस योजना अनुसार, डेबिट कार्ड प्रयोग गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट पाउनका लागि दराजमार्फत बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । साथै, योजना अवधिभर 'पहिलो आउनेलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यो योजना भाद्र २४ गतेदेखि आश्विन ७ गतेसम्म लागू हुनेछ । बैंकले ग्राहकलाई डिजिटल भुक्तानीप्रति आकर्षित गराउन निरन्तर रुपमा विभिन्न छुट तथा अफरहरु प्रदान गर्दै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट सुविधा
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई स्वास्थ्य, पर्यटन, खाद्य तथा अन्य क्षेत्रमा सुविधा उपलब्ध गराउन विभिन्न संस्थासँग सम्झौता गरेको छ । सम्झौता अनुसार, बैंकका डेबिट वा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सहकार्य संस्थाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने भएका छन् । यस अन्तर्गत चितवनको कुरिनटारस्थित मनकामना दर्शनको केवलकार टिकटमा १० प्रतिशत, बानेश्वरको समाज डेण्टल हस्पिटलमा एक्सरे तथा फार्मेसीबाहेकका सेवामा १५ प्रतिशत, दरबारमार्गको मत्सुरी टोकियोमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट उपलब्ध हुनेछ । यसैगरी, पर्साको मंगलम डायगोनोस्टिक सेन्टरमा प्याथोलोजी सेवामा १० प्रतिशत, सिमराको होटल क्वीक २० रिभरसाइडमा खाना, आवास तथा पेय पदार्थमा ५ प्रतिशत, नयाँबजारको नाईस न्यू होम डेकोरमा कार्पेट र फ्लोरिङ सामग्रीमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । त्यसैगरी, ढुंगेधारास्थित शुभ काठमाडौं टायर सेन्टरमा एमआरएफ ब्रान्डका टायरमा १० प्रतिशतसम्म, मकवानपुरको कुलेखानी भिलेज रिसोर्टमा कोठा शुल्कमा १० प्रतिशतसम्म, हेटौंडाको रिगल हेटौंडा रिसोर्टमा खाना, आवास तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा भरतपुरस्थित कविलास रिसोर्ट एण्ड फनपार्कमा खाना तथा फनपार्क शुल्कमा १५ प्रतिशत छुट दिइने भएको छ । बैंकले यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । साथै, डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले विभिन्न शाखामार्फत वित्तीय जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।