नबिल बैंकबाट जीतबहादुर श्रेष्ठसहित ३ जना बाहिरिँदै, मूल्य ३०१.१० रुपैयाँ
काठमाडौं । नबिल बैंकबाट विभिन्न ३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनी जीतबहादुर श्रेष्ठ, जश श्रेष्ठ र जिज्ञासा अर्यालले बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका अनुसार जीत बहादुर श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता, जश बहादुर श्रेष्ठले २५ हजार कित्ता र जिज्ञासा अर्यालले ५० हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । जश श्रेष्ठले आफ्नो स्वामित्वको सेयरको मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकेका छन् भने जीत बहादुर र जिज्ञासाले भने मूल्य सार्वजनिक गरेका छैनन् । बैंकको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि सेयर बिक्रीमा राखिने बैंकले जनाएको छ ।
पुँजी बजारमा बैंकहरूको १ खर्ब २१ अर्ब रुपैयाँ लगानी, माछापुच्छ्रे र कृषि विकासले धेरै बढाए
काठमाडौं । वाणिज्य बैंकहरूले १ खर्ब बढी रकम सेयर धितो कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकले १ खर्ब २१ अर्ब ५८ करोड २८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । जबकि गत वर्षको असोजसम्मा बैंकहरुले ८४ अर्ब २१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । गत वर्षको तुलनामा चालु आवमा बैंकहरुले ४४.३७ प्रतिशत अर्थात् ३७ अर्ब ३७ करोड २३ लाख रुपैयाँ बढी सेयर धितो कर्जा प्रवाह गरेका हुन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा विगतमा गरिएका कडाइलाई खुकुलो गरेसँगै बैंकहरुले लगानी बढाएका हुन् । नीतिगत व्यवस्था सहज भएर सेयर बजारमा प्रवाह हुने रकम बढेको भएपनि बजार माथि उकालो लाग्न नसकेको लगानीकर्ताहरु बताउँछन् । चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले सेयर धितो कर्जा वृद्धि गरेको छ । माछापुच्छ्रे बैंकको २९२.४८ प्रतिशत बढाएर ३ अर्ब ५३ करोड २५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । जबकि गत वर्षको असोजमा बैंकले ९० करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेको थियो । यस्तै, असोज मसान्तसम्ममा कृषि विकास बैंकको २५१.९९ प्रतिशत बढेर ५ अर्ब ९१ करोड रुपैयाँ सेयर कर्जा लगानी प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६७ करोड रुपैयाँ सेयरमा लगानी गरेको थियो । समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको ८९.९८ प्रतिशत बढेर ७ अर्ब ७९ करोड रुपैयाँ, एनएमबि बैंकको ८६ प्रतिशत बढेर ३ अर्ब २ करोड रुपैयाँ, प्राइम बैंकको ७७.७८ प्रतिशत बढेर ९ अर्ब ८० करोड रुपैयाँ, एभरेष्ट बैंकको ७२.८२ प्रतिशत बढेर ३ अर्ब ६७ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ६७.११ प्रतिशत बढेर ६ अर्ब ९२ करोड रुपैयाँ, हिमालयन बैंकको ६५.४५ प्रतिशत बढेर २ अर्ब ९५ करोड रुपैयाँ, प्रभु बैंकको ६३.६९ प्रतिशत बढेर ५ अर्ब ९६ करोड रुपैयाँ, सानिमा बैंकको ५५.२५ प्रतिशत बढेर २ अर्ब ९६ करोड रुपैयाँ, नबिल बैंकको ४८.३८ प्रतिशत बढेर १६ अर्ब २६ करोड रुपैयाँ सेयरमा लगानी गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । राष्ट्र बैंकका अनुसार कुमारी बैंकको ३६.२९ प्रतिशत बढेर १० अर्ब ५४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २३.३२ प्रतिशत बढेर ३ अर्ब ८० करोड रुपैयाँ, सिटिजन्स बैंकको १८.७४ प्रतिशत बढेर ६ अर्ब ६१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको १७ प्रतिशत बढेर ५३ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७ प्रतिशत बढेर १२ अर्ब ५६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १५.७५ प्रतिशत बढेर ८ अर्ब ९५ करोड रुपैयाँ पुँजी बजारमा लगानी गरेका छन् । समीक्षा अवधिमा नेपाल बैंक र एनआईसी एशिया बैंकले भने सेयर बजारमा प्रवाह हुने कर्जा घटाएका छन् । एनआईसी एशिया बैंकले १६.०७ प्रतिशत घटाएर २ अर्ब ४७ करोड रुपैयाँ र नेपाल बैंकले ३.६१ प्रतिशत घटाएर ७ अर्ब २६ करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेका हुन् ।
मुक्तिनाथ विकास बैंकले महराजगञ्ज प्रहरीवृतलाई दियो दुई थान मोटरसाइकल
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त सहयोग शान्ति–सुरक्षा प्रवर्द्धनमा उपयोगी हुने अपेक्षा गरिएको छ । एक समारोहबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले प्रहरीवृत महराजगञ्जका प्रमुख निरञ्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । बैंकले गरेको सहयोगले प्रहरीलाई संवेदनशील क्षेत्रहरूको निगरानी, समयमै सूचना संकलन तथा समाजमा शान्ति–व्यवस्था कायम राख्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । बैंकका अनुसार सुरक्षित समाज निर्माण सबैको साझा दायित्व भएकाले नागरिक सुरक्षामा अग्रपंक्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग गर्नु संस्थाको सामाजिक जिम्मेवारी हो । यस सहयोगले प्रहरीको दैनिक कार्यसम्पादन सहज हुने बैंकको विश्वास छ ।