कामना सेवा विकास बैंकको शौचालय अब ‘पब्लिक ट्वाइलेट’

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका शाखाहरु शौचालय ‘पब्लिक ट्वाइलेट’ बनाउने निर्णय गरेको छ । बैंकले महानगरभित्रको ८ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने गरी आज काठमाडौँ महानगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बसनेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नितीअनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए । काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो । बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्ने जनाएको छ ।

नेपाल एसबिआई बैंकको नयाँ शाखा पुतलीसडकमा

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा पुतलीसडकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन नेपाल एसबिआई बैंकका अध्यक्ष रावीज अरोराले गरे । उक्त समारोहमा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, निर्देशक पिनाकी नाथ बेनर्जी, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो । नेपाल एसबिआई बैंकले ९१ शाखा, २१ एक्स्६ेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

२५ सय बढीलाई सनराइज बैंकले दियो वित्तीय साक्षरता तालिम

काठमाडौं । देशव्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप सनराइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।यस अभियान अन्तर्गत बैंकले यसै वर्ष २५ सयभन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्र्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको जनाएको छ । बैंकले नागरिकहरुमा बैंकिङ्ग सेवा सुविधाको बारेमा जनचेतना कम रहेको हालको अवस्थामा बैंकिङ्ग सेवा सुविधाको प्रयोगले कसरी जीवनस्तर विकास गर्न सकिन्छ, बचतको महत्व, कर्जाको सदुपयोगिता, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङ्गको प्रयोगले गर्न सकिने समयको बचत, डिजिटल बैंकिङ्गमा कसरी सुरक्षित रहन सकिन्छ लगायतका विषयहरुलाई समेटेर देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनबल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा विरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी,महेन्द्रनगर र डडेलधुरामा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । केहीसमय अघि मात्रै पनि बैंकले प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशमा साक्षरता कार्यक्रम गरीसकेको छ । बैंकले आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले बताएका छन् ।