ह्युन्डाई नेपालद्वारा ‘दशैं-तिहार, १० गुणा उपहार’ अफर, १० लाखसम्म जित्ने अवसर
काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आगामी दशैं–तिहारलाई लक्षित गर्दै 'दशैं-तिहार, १० गुणा उपहार' अफर घोषणा गरेको छ । यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म थप छुट जित्ने अवसर पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूलाई थप प्रोत्साहन स्वरूप २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर समेत प्रदान गरिनेछ । यस्तै, हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने जनाएको छ । कम्पनीका अनुसार यसले ह्युन्डाई ब्रान्डको गुणस्तर, भरपर्दोपन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ । भदौ २ गतेदेखि लागू हुने यो अफरमार्फत कम्पनीले सबै अटोप्रेमी र सम्भावित ग्राहकलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर विशेष अफरको लाभ लिन आमन्त्रण गरेको छ ।
ज्याप ईभीले विद्युतीय स्कुटर भाडा सेवा सुरु गर्दै, सदस्यता दर्ता भदौ १ गतेदेखि खुल्ला
काठमाडौं । ज्याप ईभीले नेपालमा विद्युतीय दुई-पाङ्ग्रे सवारी साधन भाडा सेवा सुरु गर्ने घोषणा गरेको छ । आगामी भदौ १ गते (अगस्ट १७) देखि प्रयोगकर्ताहरूले सदस्यताका लागि दर्ता गर्न सक्नेछन् । कम्पनीका अनुसार भदौ १ गतेदेखि इच्छुक प्रयोगकर्ताहरूले ज्यापको आधिकारिक वेबसाइटमा गई आफ्नो केवाइसी (ग्राहक पहिचान) विवरण पूरा गरेर सेवाको लागि प्रारम्भिक पहुँच प्राप्त गर्न सक्नेछन्। यो सेवा सेप्टेम्बरको मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा आउनेछ, जसले विशेष गरी विद्यार्थी र दैनिक यात्रुहरूका लागि सस्तो र पर्यावरण-मैत्री यातायातको विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ । ज्याप ईभीका प्रबन्ध निर्देशक, सुदीप रौनियारले भने, 'यो केवल एक भाडा सेवा मात्र होइन, यो 'गिग इकोनोमी' मा काम गर्नेहरू र सर्वसाधारणका लागि सस्तो सवारी साधनको पहुँच सहज बनाउने एक माध्यम हो । हामी यस्तो मोडेल सिर्जना गर्दैछौं जसले मानिसहरूलाई आर्थिक रूपमा सशक्त बनाउनुका साथै वातावरण संरक्षणमा पनि मद्दत गर्नेछ ।' काठमाडौं जस्तो शहरमा दिगो र पर्यावरण-मैत्री यातायात विकल्पहरूको माग दिनप्रतिदिन बढ्दै गइरहेको कम्पनीको भनाइ छ । के हो ज्याप ईभीको विशेषता ? यसैगरी ज्याप ईभीले 'ब्याट्री स्वापिङ' को नवीन अवधारणा प्रस्तुत गरेको छ । एक पटकको चार्जमा ६० किलोमिटर चल्ने स्कुटरको ब्याट्री सकिएपछि ५ मिनेटभन्दा कम समयमा तोकिएको स्टेसनमा अर्को चार्ज भएको ब्याट्री फेर्न सकिनेछ। कम्पनीले सुरुमा काठमाडौंका ३० स्थानमा यस्ता चार्जिङ स्टेसन राख्नेछ, जुन गिग वर्करहरूको आवतजावत हुने चिया पसल तथा खाजा घरहरूमा राखिनेछ। सेवा लिनका लागि एक पटक मात्र धरौटी राख्नुपर्नेछ जुन फिर्ता हुनेछ। कम्पनीले सुरुमा १० स्कुटर र २०० ब्याट्रीबाट सेवा थाल्ने र आगामी एक वर्षभित्र काठमाडौंमा ३००-४०० स्कुटर र १००० ब्याट्री पुर्याउने लक्ष्य राखेको छ । हाल बिहान ६ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने सेवा भविष्यमा २४ सै घण्टा उपलब्ध गराइनेछ। यो पहललाई भारतका अनुकूल भटनागर, ड्रिपर स्टार्टअप हाउस, र लिफफ्रग टेक्नोलोजीका अंकुर जी लगायतले समर्थन गरेका छन् । स्कुटरको चेसिस भारतको दिल्लीमा डिजाइन गरिएको हो भने ब्याट्री व्यवस्थापन प्रणाली अमेरिकी कम्पनी 'उर्जा वर्ल्ड' को रहेको जानकारी दिइयो । सुरक्षाका लागि स्कुटर र ब्याट्री दुवैमा जीपीएस जडान गरिएको छ । काठमाडौंको यातायात, गिग अर्थतन्त्र र महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने अपेक्षा कम्पनीले गरेको छ ।
दीपल एस-०५ र ई-भोल्ट फ्लाइङ कार : काँधबाट उडानसम्मको नेपाली अटो यात्रा
काठमाडौं । लगभग एक शताब्दीअघि नेपालमा पहिलो मोटर गाडीलाई मानिसहरूले काँधमा बोकेर भीमफेदीको उकालो चढाउँदै काठमाडौं भित्र्याएका थिए । त्यो एउटा युगको सुरुवात थियो । बिहीबार काठमाडौंको पाँचतारे होटल सोल्टीमा सयौं गाडीप्रेमीहरूको भीडबीच जब अत्याधुनिक विद्युतीय गाडी ‘दीपल एस-०५’ सार्वजनिक हुँदै थियो, त्यही बेला इतिहासले अनौठो तरिकाले आफूलाई दोहोर्याइरहेको थियो । भविष्यको सवारी मानिएको ‘फ्लाइङ कार’ (उड्ने कार) लाई पहिरोले बाटो छेकेपछि तातोपानी नाकामा मानिसहरूले काँधमै बोकेर नेपाल भित्र्याउँदै थिए । यो दृश्य केवल एउटा संयोग थिएन, यो नेपालको अटोमोबाइल यात्राको प्रतिक थियो, जहाँ विगतको संघर्ष, वर्तमानको क्रान्ति र भविष्यको सपना एकैसाथ जीवन्त भइरहेका थिए । यी दुवै घटनाको केन्द्रमा थिए नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धि र विश्वविख्यात चिनियाँ अटोमोबाइल निर्माता चाङ्गान अटो । सोल्टी होटलको भव्य समारोहमा एउटा गाडी सार्वजनिक गर्ने कार्यक्रम मात्र थिएन । यो १६३ वर्ष पुरानो इन्जिनियरिङ विरासत बोकेको चाङ्गान र ६० वर्षदेखि नेपाली उपभोक्ताको विश्वास जितेको एमएडब्लु ग्रुपबीचको साझेदारीको उत्सव थियो । ‘आज राति हामी केवल एउटा गाडी लन्च गरिरहेका छैनौं,’ एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, ‘हामी नवीनता, साझेदारी र नेपालमा यातायातको स्वच्छ, स्मार्ट र थप रोमाञ्चक भविष्यको साझा दृष्टिकोणको उत्सव मनाइरहेका छौं ।’ यो साझेदारीको जग निकै बलियो छ । करिब ५० अर्ब अमेरिकी डलर राजस्व भएको चाङ्गान चीनको तेस्रो ठूलो र त्यहाँको केन्द्रीय सरकारद्वारा लगानी गरिएका १०० कम्पनीमध्ये एक हो । अर्कोतर्फ सन् १९६४ मा मोरङको एउटा सानो इन्जिन वर्कशपबाट यात्रा सुरु गरेको एमएडब्लु आज नेपालको सबैभन्दा ठूलो अटोमोटिभ समूह बनेको छ । अग्रवालका अनुसार गत वर्ष मात्र ग्रुपले ३२ हजार ५ सयभन्दा बढी दुई-पाङ्ग्रे, १२ सयभन्दा बढी कार र ५ सय ५० भन्दा बढी हेभी इक्विपमेन्ट बिक्री गरेको थियो । जुन नेपाली बजारमा यसको गहिरो पकड र विश्वासको प्रमाण हो । ‘लक्जरी, स्टाइल, टेक पर्फेक्टेड’ नारालाई सार्थक तुल्याउँदै दीपल एस ०५ ले नेपाली विद्युतीय गाडी बजारमा नयाँ तरंग ल्याएको छ । यसका विशेषताहरू साँच्चै क्रान्तिकारी छन् । गोल्डेन शिल्ड ब्याट्री २.०ः सीएटीएल द्वारा निर्मित यो ब्याट्रीले ५ हजार साइकलको जीवन प्रदान गर्छ, जुन नेपालमा उपलब्धमध्ये सबैभन्दा लामो हो । यसमा रिमोट इन एन्ड आउट यसको अर्थ साँघुरो ठाउँमा पार्किङ गर्दा चाबीकै बटनले गाडीलाई अगाडि÷पछाडि सार्न सकिने सुविधा रहेको छ । अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्लेले चालकको दृष्टिपथमै नेभिगेसन देखाउँछ । जसले ड्राइभिङलाई सुरक्षित बनाउँछ । कम्पनीका अनुसार आरामदायी ‘क्वीन को–पाइलट’ सिट र गाडी बाहिर उभिएका व्यक्तिसँग कुरा गर्न मिल्ने बाहिरी स्पिकर जस्ता नवीन विशेषताहरूले यसलाई अरूभन्दा फरक बनाएको छ । जर्मनीमा ‘आइएफ डिजाइन अवार्ड २०२५’ जितेको यस एसयूभीमा एडीएएस २.५ सुइट अन्तर्गत १९ वटा उन्नत सुरक्षा सुविधा छन् । जबकि यस सेगमेन्टमा सामान्यतया ६ वटा मात्र हुन्छन् । कम्पनीले दीपल एस–०५ दुई भेरियन्टमा सार्वजनिक गरेको हो । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ । नेपालको ईभी क्रान्ति र दीपलको भूमिका नेपाल विश्वमै विद्युतीय गाडी अपनाउने अग्रणी देशहरूमध्ये एक हो । विष्णु अग्रवालले भने, ‘गत वर्ष देशमा बिक्री भएका सबै नयाँ कारहरूमध्ये ७६ प्रतिशत विद्युतीय थिए । ९० प्रतिशत भन्दा बढी बिजुली हरित जलविद्युतबाट आउने हुँदा यहाँ ईभी गाडी राख्नु वातावरण र तपाईंको वालेट दुवैका लागि स्मार्ट छ ।’ दीपलले एक वर्षभन्दा कम अवधिमा नेपालमा ९५० भन्दा बढी एस–०७ बिक्री गरिसकेको छ । एमएडब्लु वृद्धिले देशभर ८ वटा दीपल शोरुम र १२५ भन्दा बढी चार्जिङ स्टेसनको सञ्जाल विस्तार गरिसकेको छ । जसले नेपालको ईभी इकोसिस्टमलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । काँधमा बोकियो फ्लाइङ कार जतिबेला एस-०५ ले काठमाडौंमा वाहवाही बटुलिरहेको थियो । त्यति नै बेला दीपलको अर्को आश्चर्य ‘ई-भोल्ट’ फ्लाइङ कारले तातोपानी नाकामा सबैको ध्यान खिचिरहेको थियो । आगामी नाडा अटो शो २०२५ को मुख्य आकर्षण बन्न आइपुगेको यो कार पहिरोले बाटो अवरुद्ध हुँदा मानिसले बोकेरै ल्याउनु पर्यो । राणाकालमा बाटो नभएर र आज बाटो भएर पनि अवरुद्ध हुँदा दुवै पटक पहिलो सवारीले मानिसकै काँधको सहारा लिनु एउटा अविस्मरणीय घटना बनेको छ । ‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर भएको यो कार हेलिकप्टर जस्तै सिधै उड्न र अवतरण गर्न सक्छ । चाङ्गान ग्रुपले यस प्रविधिमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरिसकेको छ । के छन् विशेषता ? यो कार चांगानले विकास गरेको इलेक्ट्रीक ‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर भएको अत्याधुनिक सवारी हो । यसको अर्थ यो कारलाई उडान भर्न र अवतरण गर्नका लागि रनवे आवश्यक पर्दैन । हेलिकप्टर जस्तै सिधै उड्न र अवतरण गर्न सक्छ । यसमा ‘लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी’ प्रयोग गरिएको छ । जसले कम उचाइमा सुरक्षित उडान सुनिश्चित गर्दछ । साथै कारमा दीपल ब्राण्डका अन्य विद्युतीय गाडीमा पाइने अत्याधुनिक फिचरहरू पनि समावेश गरिएको छ । नाडा अटो शोको मुख्य प्रायोजक रहेको एमएडब्लू वृद्धिले यो कार प्रदर्शनीमा राख्न लागेको हो । नेपालमा पहिलो पटक प्रदर्शनी हुन लागेको यो उड्ने कार हेर्न मानिसहरू निकै उत्सुक देखिएका छन् । नेपालको विद्युतीय क्रान्तिमा चिनियाँ समर्थन नेपाल विश्वमै विद्युतीय गाडी अपनाउने अग्रणी देश बन्दैछ । यो यात्रामा चिनियाँ प्रविधि र लगानीको महत्त्वपूर्ण भूमिका रहेको कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि चिनियाँ राजदूत छेन सोङले बताए । ‘नेपालले सामना गरिरहेका हरेक चुनौतीमा चीनले साथ दिँदै आएको छ,’ उनले भने, ‘चिनियाँ प्रविधि अँगालेर एमएडब्लु ग्रुपले आफ्नो र नेपालको भविष्य सुरक्षित गरिरहेको छ ।’ दीपल एस-०५ को आगमन र ई-भोल्ट फ्लाइङ कारको प्रवेशले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ । यो केवल दुई उत्पादनको विषय मात्रै होइन, यो चीनको प्राविधिक शक्ति र नेपालको स्थानीय बजारप्रतिको गहिरो समझदारीको उत्कृष्ट उदाहरण भएको अधिकांशको बुझाइ छ । जसरी ब्रान्डको नाम ‘दीपल’ (गहिरो नीलो) ले असीमित सम्भावनालाई जनाउँछ । त्यसरी नै यी उत्पादनहरूले नेपालको हरित र समृद्ध भविष्यतर्फको यात्रामा एक मार्गदर्शक प्रकाश बन्ने वाचा कम्पनीको छ ।