विद्युतीय बस सञ्चालनमा, तर अझै तोकिएन चार्जिङ स्टेशनको महसुल
काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन शुरु भए पनि सरकारले चार्जिङ स्टेशनका लागि महसुल तोकेको छैन । नेपालमा निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालनमा आए पनि अहिलेसम्म चार्जिङ स्टेशनका विषयमा टुङ्गो लाग्न नसकेको हो । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने सरकारको नीति भए पनि महसुल नतोक्दा अरु उपभोक्ताले जतिकै महसुल बुझाउनुपरेको छ । पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादूर थापाले विद्युतीय बसलाई प्रोत्साहन गर्ने गरी चाँडो महसुल निर्धारण हुनुपर्ने बताए । विद्युतीय बसमा पेट्रोलियम पदार्थबाट चल्ने बसमा भन्दा सञ्चालन खर्च कम लाग्ने गर्छ । त्यसका आधारमा प्रालिले अहिले सञ्चालनमा रहेको चार बसमा सरकारले निर्धारण गरेको भाडादर भन्दा २० प्रतिशत कम भाडा लिने गरेको छ । सरकारले महसुलमा सहुलियत दिँदा भाडादरमा अझै बढी छुट दिन सकिने उनको भनाइ छ । उनले भने, “विद्युतीय बस प्रोत्साहन गर्दा एकातिर यात्रुलाई भाडा कम पर्छ भने अर्कातिर वातावरण पनि सफा बनाउँछ ।” अहिले सुन्दर यातायातका चार विद्युतीय बस सञ्चालनमा छन् । यही वर्ष थप २५ बस ल्याउने प्रालिले तयारी गरिरहेको छ । सरकारले साझा यातायातमार्फत खरिद गर्न लागेको ३०० विद्युतीय बस अन्योलमा रहँदा निजी क्षेत्रले भने यसमा इच्छा देखाएका छन् ।
यस्तो छ अत्याधुनिक विशेषतायुक्त ‘जीप कम्पास ट्रेलहक’, मूख्य फिचरमा ९ गियर
काठमाडाैं । अमेरिकन अटोमेकर कम्पनी ‘जीप’ को नेपालका लागि आधिकारीक बिक्रेता लाईफ अटोमोवाइल प्रा.लि.ले ‘जीप कम्पास’ का विभिन्न मोडेलहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । ती मोडेलहरुमध्ये उत्कृष्ट ट्रान्समिशन, पावरफुल इञ्जिन, राम्रो माइलेज, उत्कृष्ट अफरोड क्षमता र मल्टिपल टेरेन मोड्स समावेश भएको एसयूभी ‘जीप कम्पास ट्रेलहक’अत्याधुनिक विशेषतायुक्त एउटा प्रिमियम एसयूभी हो । कम्पनीले हाल नेपाली बजारमा एक करोड २४ लाख ९० हजार रुपैयाँ मूल्य तोकेको यस एसयूभीमा २.० लिटर टर्बोचार्ज्ड डिजेल इञ्जिन दिइएको छ जसले १७३ पीएसको पावर र ३५० एनएमको टर्क प्रोड्युस गर्दछ । यो इञ्जिनमा ९-स्पिड अटोमेटिक म्यानुअल ट्रान्समिशन पनि दिइएको छ । यस एसयूभीलाई जीप एक्टिभ ड्राइभ ४x४ लो सेटिङ्गको साथ पेश गरिएको छ । यसमा ड्राइवरले टेरेन सेलेक्सनमा अटो, स्नो, मड र स्यान्ड जस्ता ड्राइभिङ्ग मोडको अप्सन पाउने छन् । यस एसयूभीमा १७ इञ्चको अलोए व्हिल्स, ८.४ इञ्च यू कनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, बिल्ट-इन-नेभिगेशन र ७ इञ्च मल्टि-इन्फर्मेशन डिस्प्ले पनि समावेश छ । त्यसैगरी, अन्य फिचरहरुको रुपमा क्रूज कन्ट्रोल, इञ्जिन स्टार्ट/स्टप र एउटा प्यानारोमिक सनरुफ पनि दिइएको छ । कम्पास ट्रेलहकमा ७० भन्दा बढि सेफ्टि र सेक्युरिटी फिचरहरु समावेस छन् । यस एसयूभीमा ६ ओटा एयर ब्यागहरु, रोल ओभर मिटिगेसन, स्पिड वार्निङ्ग, एबीएस सिस्टम, ईबीडी सिस्टम, हिल डिसेन्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक, ट्र्याक्सन कन्ट्रोल सिस्टम, कर्नरिङ्ग फग ल्याम्प्स, पेडेस्ट्रियन प्रोटेक्सन, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, लेन डिपार्चर वार्निङ्ग प्लस, फुल स्पिड कोलिजन प्लस, फ्रन्ट एण्ड रियर पार्किङ्ग सेन्सर्स, रियर क्रस पाथ डिटेक्सन लगायतका सेफ्टि फिचरहरु पाउन सकिन्छ । यस अफरोडरको ग्राउण्ड क्लियरेन्स २०५ मिलिमिटर रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटि चाहिँ ६० लिटरको रहेको छ । त्यसैगरी ५ सिटर यस एसयूभीले १६.३ केएमपीएलको माइलेज दिन्छ । वास्तवमा रेड एक्स्टेन्सनको साथ ओभरअल ब्ल्याक इन्टेरियर थिम दिइएको यस एसयूभीले सबैलाई लोभ्याउने निश्चित छ ।
न्यू होलण्डका निर्माण उपकरण किन्दा ज्योति विकास बैंकबाट कर्जा पाइने
काठमाडौँ । ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच सम्झौता भएको छ । सम्झौतापछि राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ज्योति विकास बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुन रानाभाटले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुने जनाइएको छ । राशी अटोमोबाइल्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहीलाई सेवा दिंदै आएको छ ।