शिवपुरीको लालिगुराँस र राइडर कोरियन चन्द्रबहादुरको नेपाली भाषा

काठमाडौं । शनिबार साप्ताहिक विदा हुने गर्छ । तर, पत्रकारिता पेशामा के विदा, के कार्यालय दिन । शनिबारकै लागि मोटरहेड बाइकको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले एउटा निम्ता पाठाएको थियो । राइडरलाई सहभागी गराएर एड्भेन्चर राइड गर्ने कार्यक्रम मोटरहेडको रहेछ । एडभेन्चर राइडमा सहभागी हुने मौका पाएको थिइनँ । त्यसैले साप्ताहिक विदाको दिन भए पनि जान्छु भन्ने लाग्यो । र, गत शनिबार मोटरहेडको एडभेन्चर राइडमा सहभागी हुने भइयो । शनिबार विहान ७ बजेतिर मोटरहेडको शोरुम धोविघाटमा पुगें । म पुग्दा केही राइडरहरू आइपुगेका थिए, केही आउने क्रममा । मोटरहेडका महाप्रबन्धक उज्ज्वल जोशीसँग र केही राइडरसँग परिचय भयो । केहीबेरमा सबै राइडरहरु आइपुगे । राइडर आइपुगेपछि यात्राको बारेमा जेनेसिस एड्भेन्चर टुरका प्रबन्धक रूपक रोक्काले ‘ब्रिफिङ’ गरे । उनी पनि राइडर नै रहेछन् । म राइडर लेखनाथ पौडेलको बाइकमा बसें । बिहान ८ बजे धोविघाटदेखि मेलम्चीको चिसापानीसम्मको हाम्रो यात्रा सुरु भयो । यो रोमाञ्चक मोटरसाइकल यात्रामा ८ जना राइडर र म सहित ११ जना निस्क्यौं । बिहानीको खाजा जेनेसिस क्याफेमा खाने योजना थियो । उक्त क्याफेमा हामी पुग्यौं । सो क्याफेले राइडको व्यवस्थापन गरेको रहेछ । विहानीको खाजा खाएर हामी गन्तव्यतिर लाग्यौं । राइडर लेखनाथ पौडेल र मेरो दोस्ती जम्यो । यात्रामा रमाइला–रमाइला गफ हान्दै अघि बढ्यौं । हामी अघि परेछौं । अरू राइडरहरू पनि पछिपछि आउँदै थिए । हामी दुईको गफगाफको क्रममा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पुग्यौं । शिवपुरी क्षेत्र हाइकिङको लागि प्रसिद्ध छ । त्यसैले हाइकिङ जानेहरूको पनि सो क्षेत्रमा निकै भिड थियो । सायद शनिबारको दिन भएकोले होला, भीड अलि बढी नै देखिन्थ्यो । निकुन्ज क्षेत्रमा पस्न टिकट लिनुपर्छ । आयोजकले टिकट लिउन्जेल हामी एकापसमा गफियौं । एकजना राइडर कोरियन रहेछन् । २५ वर्षदेखि नेपालमा बसेका ती कोरियन साथीको नेपाली नाउ पनि रहेछ । उनलाई सबैले चन्द्रबहादुर लिम्बु भनेर चिन्दा रहेछन् । उनले बोलेको नेपाली भाषामा बेग्लै मिठास थियो । खासमा भन्ने हो भने म उनको फ्यान भइसकेको थिएँ, उनको नेपाली बोल्ने शैलीले गर्दा । भित्र पस्ने पास आयो । मख्ख पर्दै राइडर पौडेलको पछाडि बसेँ । निकुञ्जभित्रको बन र फुलेका लालिगुराँसले मन लोभ्यायो । किन हो किन फुलेको लालिगुराँस देखेपछि मेरो मन बेग्लै किसिमले पुलकित हुने गर्छ । यो यात्रामा पनि त्यस्तै भयो । ठाउँ ठाउँमा बस्दै, रमाइलो गर्दै अघि बढ्यौं । निकुञ्ज क्षेत्रको त्यो रमाइलो यात्रा कत्ति चाढै सकियो जस्तो लाग्यो । दिउँसोको साढे १२ बजे मेलम्ची नगरपालिकाको चिसापानीमा पुग्यौं । त्यहीको एउटा होटेलमा खाना खाइयो । चिसापानी पुग्दा थकित भइसकेका थियौं । धुलाम्मे कच्ची बाटो । मोटरसाइकलको यात्रा । यात्रा त वास्तवमै अविष्मरणीय भइसकेको थियो । कोरियन राइडरले त एक ठाउँमा बाइक पल्टाए पनि । उनलाई चोट नलागेकोले उनी लडे पनि हाम्रो लागि रमाइलै गरेजस्तै माहोल सिर्जना भयो । चिसापानीको होटल पुग्दा धुलोले अनुहार नदेखिने जस्तो भएको थियो धेरै जनाको । कच्ची बाटोमा बाइकको यात्रामा जे जे हुने गर्छ, सबै भयो । आफ्नो त जन्मस्थान भोजपुर । मेलम्ची पुगेको थिइनँ । त्यसमा पनि मोटरसाइकल राइडरसँगको पहिलो यात्रा थियो मेरो । त्यसैले बढी रोमान्चित थिएँ । नयाँ ठाउँ भएकाले उत्साहित थिएँ । होटलकी दिदीलाई सोध्दै होटेलको छतबाट देखिने दृश्यको अवलोकन गर्न चुकिनँ । खाना खाइसक्दा दिउँसोको १ बजिसकेको थियो । खाना खाएर केही समयपछि साथीहरू फोटा खिच्न व्यस्त भए । दिउसोको २ बजेपछि हामी काठमाडौं फर्किन लाग्यौं । चैतको घाममा चिसो हावा, पहाडि भेगको धुलौटे बाटोमा मोटरसाइकलको यात्रा, यात्रामा आइपर्ने रोमाञ्चक चुनौती, शिवपुरी राष्ट्रिय निकुन्जभित्रको लालिगुराँस । मेरो मनमा यस्तै यस्तै मात्रै घुमिरहेको थियो । बेलुकाको ५ बजे काठमाडौंको जेनेसिस क्याफेमा आइपुग्यौं । उक्त क्याफेमा आएर बेलुकीको खाजा खायौं । खाजा खादै यात्राको बारेमा गफ हुन थाल्यो । खाजा खाएर यात्राका अनुभव सुनाउँदै प्रबन्धक सुरेन्द्र कार्की भने – हामीलाई आशा छ, यो यात्राले राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरूबीच अद्वितीय भातृत्वको विकास गराउने छ, सडक र रमणीय स्थानहरूले निश्चित रूपमा मोटरहेड मोटरसाइकलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउन सक्छ । राइडर विकास केसी आफ्नो अनुभव सुनाउन तम्सिए । मुसुक हास्दै भने– आजको यात्रा अविस्मरणीय रह्यो, यस्तो यात्रा तय गर्नाले विभिन्न ठाउँको अवलोकन गर्न सकिनेछ, बेला बखतको यो रमाइलो यात्राले मन पनि हर्षित भएको छ । कोरोनाकालमा दैनिक जीवनयापन, व्यावसायिक गतिशीलताका विषयमा अन्तरक्रिया, आन्तरिक पर्यटन प्रवर्द्धन र सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका साथ शनिबार उक्त राइड कार्यक्रम आयोजना गरिएको मोटरहेड कम्पनीका प्रतिनिधि सुनाउँदै थिए । र, कार्यक्रम पनि करिब टुंगिदै थियो । कार्यक्रम सकियो । छुट्यौं । यात्राको बारेमा मनमा धेरै कुरा खेल्दै थिए । र, मोटरसाइकलका बारेमा पनि कुरा खेले मनमा । फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स । मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुने देखियो । मोटरहेडका बिक्री प्रबन्धक सुरेन्द्र कार्कीले मोटरसाइकलको बारेमा बताएको सम्झदा मलाई पनि यही मोटरसाइकल किनौं किनौं लाग्यो ।

यस्तो छ जावा मोटरसाइकलको न्यू ईयर स्किम्स

काठमाडौं । क्लासिक लिजेन्ड्सद्वारा निर्मित जाव मोटरसाइकलले नयाँ वर्षका लागि स्किम्स ल्याएको छ । नेपालका लागि अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले फोर्टी-टु ,जावा र पेराक सबै मोडलमा लागू हुने गरी न्यू ईयर स्किम ल्याएको जनाएको छ । उक्त स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको र नेपालमा पनि रुचाईइएको जावा मोटरसाइकलले यस स्किममार्फत सबैसँग थप जोडिन पाउने विश्वास पनि लिएको जनाएको छ ।

मोटरहेडले सम्पन्न गर्याे एड्भेन्चर राइड

काठमाडौं । मोटरहेड बाइकको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले शनिबार राइडरलाई सहभागी गराएर एड्भेन्चर साइड सम्पन्न गरेको छ । कम्पनीले पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्रा सम्पन्न गरेको हो । मोटरहे बिक्री प्रबन्धक सुरेन्द्र कार्की र जेनेसिस एडभेन्चर टुरका प्रबन्धक रूपक रोक्काले काठमाडौंको धोविघाटदेखि मेलम्चीको चिसापानीसम्मको यात्राको नेतृत्व गर्दै मोटरसाइकलमा रमणीय दृश्य हेर्दै घुमाउँदै उक्त सोरुमका चालक, पत्रकार र प्रभावशाली व्यक्तिहरूसँगै यात्रा गरेका थिए । जेनेसिस क्याफेले उक्त राइडको व्यवस्थापन गरेका मोटरहेड मोटरसाइकल बिक्री प्रबन्धक सुरेन्द्र कार्कीले जनाए । यो रोमाञ्चक मोटरसाइकल यात्रामा ८ जना राइडरले सो दिनमा ८६ किलोमिटर यात्रा गरेका छन् । यात्रामा राइडर सहित ११ जनाको उपस्थित थियो । प्रबन्धक कार्कीका अनुसार अफ रोड मोटरसाइकल किन्ने ग्राहकलाई रमाइलो गराउनको लागि उक्त यात्रा तय गरिएको हो । मोटरहेडले विगत पनि नियमित रूपमा राइड आउटको आयोजना गर्दै आएको छ । ‘यो अफरोड मोटरसाइकल हो, यसमा सोरुमका कर्मचारी, पत्रकार, ग्राहकहरूसँग बसेर यात्रा गर्ने योजना केही महिना अगाडि बनाएका थियौं, राइडरहरुसँग बलियो सम्बन्ध गाँस्नु हाम्रो एउटै मात्र चाहना हो,’ उनले भने । उक्त मोटरसाइकलले सुरक्षा र कम्फोर्टमा कुनै सम्झौता नगरी राइडिङ थ्रिलको अनुभूति दिलाउँछ । चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनीले विगत ५ वर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्री गर्दै आएको छ । फराकिलो र ठुलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरू माझ लोकप्रिय बन्दै गएको छ । हामीलाई आशा छ, यो यात्राले राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरूबिच पनि अद्वितीय भातृत्वको विकास गराउने प्रबन्धक कार्कीले जनाए । सडक र रमणीय स्थानहरूले निश्चित रूपमा मोटरहेड मोटरसाइकलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउन सक्छ । यस्तै, राइडर विकास के.सी भन्छन् आजको यात्रा अविस्मरणीय रह्यो, यस्तो यात्रा तय गर्नाले विभिन्न ठाउँको अवलोकन गर्न सकिनेछ, बेला बखतको यो रमाइलो यात्राले मन पनि हर्षित भएको छ । आफ्ना ग्राहकलाई कोरोनाकालमा दैनिक जीवनयापन, व्यावसायिक गतिशीलताका विषयमा अन्तक्रिया, आन्तरिक पर्यटन प्रवर्द्धक र सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका साथ शनिवार उक्त राइड कार्यक्रम आयोजना गरिएको जेनेसिस एडभेन्चर टुर प्रबन्धक रूपक रोक्काले बताए ।