नेपाल भित्रियो विद्युतीय माईक्रो बस, फुल चार्जमा २५० किलोमिटर चल्ने

काठमाडाैं । जाईमेन किङ्ग युनाईटेड लङ्ग अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुभारम्भ गरेको छ । श्री इकाे भिजनरी प्रालिले यसलाई नेपाल भित्र्याएकाे हाे । १४ सिट क्षमताकाे याे माइक्राेबसमा ५० किलाेवाट आवरकाे ब्याट्रि जडान गरिएकाे छ भने यसमा जडान गरिएकाे ८० किलाेवाटकाे माेटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्दछ ।एकपटककाे फुल चार्जमा २५० किलाेमिटर चलाउन सकिने याे माइक्राे बस फास्ट चार्जिङकाे माध्यमबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यस विद्युतिय माइक्रोबसको प्रतिकिलोमिटर लागत पच्चिस पैसाको हारहारिमा मात्र पर्न आउने कम्पनीले जनाएको छ । सन् १९८८ मा स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनहरूको रूपमा प्रयोग हुने बस उत्पादन तर्फ चीनकै सर्वाधिक ठूलो उत्पादकको रूपमा परिचित छ ।  

गाडीमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक छु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी सवारीसाधन आयातमा लागेको प्रतिबन्ध हटाउन सकारात्कम रहेको बताएका छन् । बुधबार नाडा अटोमोबाइल्स एशोसियसनको प्रतिनिधी मण्डललेसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतिय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढदो व्यापार घाटा कम गर्न सुझाव समेत दिएका छन् । उक्त भेटघाटमा नाडाका अध्यक्ष थापाले कार, जीप र भ्यानले दोब्बरभन्दा बढी राजश्व योगदान पुर्याउने बताउँदै नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरिदिन आग्रह गरे । यस्तै अध्यक्ष थापाले नाडा अटो एक्सपोको लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक रहेको भन्दै प्रधानमन्त्री देउवालाई प्रतिबन्ध खुल्ला गरि दिन आग्रह गरे । सो भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

साझाले विद्युतीय गाडीमा महिला चालकलाई प्राथमिकता दिने

काठमाडौं । साझा यातायातले विद्युतीय गाडी सञ्चालनका लागि महिला चालक तथा सहचालकलाई प्राथमिकता दिने जनाएको छ । साझाले बुधबार एक सूचना जारी गर्दै सञ्चालनको तयारीमा रहेको विद्युतीय बसमा महिला चालक तथा सहचालकलाई प्राथमिकतामा राखिने जनाएको हो । तयारी अनुसार साझाले पहिलो चरणमा ४ जना महिला चालक र ५ जना महिला सहचालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम समेत दिएको छ । पहिलो चरणमा चीनबाट काठमाडौं आइपुगेको तीन थान विद्युतीय बसको सडक क्षमता परीक्षण सकिएको साझाले जनाएको छ । यातायात व्यवस्था विभाग र साझा यातायातका प्रतिनिधिले जेठ दोस्रो सातादेखि उक्त विद्युतीय बसको सडक क्षमता परीक्षण सम्पन्न गरेका हुन । बसमा सिमेन्टका बोरादेखि मान्छे (यात्रु) राखेर सडक क्षमता परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बसको क्षमतामा कुनै समस्या नदेखिएको जनाइएको छ । साझाले आवश्यक तयारी सकेर छिट्टै काठमाडौंका शहरमा विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ । साझाले हाल सञ्चालन गर्दै आएका बसमा समेत महिला चालक तथा महिला सहचालकलाई प्राथमिकतामा राख्ने गरिएको जनाएको छ ।