साढे १ लाख रुपैयाँले बढ्यो बीवाइडी इ सिक्स कारको मूल्य
काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादक कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंकले गाडीको मूल्य बढाएको छ । कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएपनि बजारमा देखिएको समस्याको कारण मूल्य स्थिर राख्न प्रयास गरेको जनाएको छ । सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर ९डलरको मूल्य महंगो० भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाई छ । कम्पनीले बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेका छ । साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएका छ । पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण मूल्य बढाउनु परेको साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले बताए । सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बस्नु भएका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउन सक्नेछन् ।
नेपालमा टाटा नेक्सन ईभीको एक वर्ष पुरा, हरेक ग्राहकको घरमा चार्जर जडान गर्ने तयारी
काठमाडाैं । सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ गरेकाे एक वर्ष पुरा गरेकाे छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सले गरेकाे हाे । एक वर्षको छोटो अवधिमै देशकाे विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको कम्पनीकाे दावी छ । आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता, द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु यस इभीकाे विशेषता हाे । यस गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप ‘इजी एप’ मार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढीले गरिरहेका छन् । दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ । यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।
एक वर्षमा भित्रिए ५ अर्बका १८०७ विद्युतीय गाडी
काठमाडौं । सरकारले देशमा विदेशी मुद्राको सञ्चितीमा कमी आएको भन्दै गत बैशाखदेखि डिजेल तथा पेट्रोलबाट सञ्चालित सवारी साधन आयातमा पूर्ण रुपमा रोक लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै गत बैशाख १३ गतेदेखि २५० सीसी क्षमता माथिका मोटरसाइकल तथा स्कुटर र चार पाँग्रे जीप, भ्यान आयातमा पूर्ण रुपमा रोक लगाएको थियो । यसअघि असार मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको सरकारले मोटरसाइकल आयातमा झनै कडाई गर्दै १५० सीसी क्षमता माथिका दुईपाँग्रेदेखि चारपाँग्रे जीप भ्यान आगामी भदौ १४ गतेसम्म प्रतिबन्ध लगाएको छ । विदेशी मुद्रा सञ्चितीलाई देखाउँदै डिजेल तथा पेट्रोलबाट सञ्चालित दुईदेखि चार पाँग्रे सवारी आयातमा रोक लगाएको सरकारले विद्युतीय गाडी आयातमा भने प्रतिबन्ध लगाएको छैन । डिजेल तथा पेट्रोलबाट चल्ने गाडी आयातमा रोक लगाएसँगै पछिल्लो समय विद्युतीय गाडी आयातमा बृद्धि हुन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८÷०७९ को तथ्यांक अनुसार आयात प्रतिबन्धको असर विद्युतीय सवारीमा परेको पाइएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को एक वर्षको अवधिमा २६१ वटा मात्रै विद्युतीय चारपाँग्रे सवारी आयात भएकोमा गत आर्थिक वर्ष उल्लेख्य मात्रमा बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को एक वर्षको अवधिमा एक हजार ८०७ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट भित्रिएका छन् । चीबाट १ सय किलोवाटका १६७ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६९६ गरी ८२३ वटा गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडीहरु नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६९६, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताको १३२, र फ्रान्सबाट १ वटा गाडी नेपाल भित्रिएका छन् । यस्तै, युकेबाट १०० दखि १५० किलोवाट क्षमताका १३, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२ वटा, जापानबाट ७८, युकेबाट ४ वटागाडीहरु नेपाल आएका छन् । युकेबाट २०० देखि ३०० किलोवाट क्षमताका ४ र युकेबाटै ३०० क्षमताभन्दा माथिका २ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन । पाँच अर्बका गाडी भित्रिए गत आर्थिक वर्ष (एक वर्षको अवधिमा) नेपालमा विभिन्न देशबाट ५ अर्ब बढीका चार पाँग्रे विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार एक वर्षको अवधिमा १ हजार ८०७ वटा विद्युतीय गाडी नेपाल भित्रदा पाँच अर्ब ५ करोड ३२ लाख ५० हजार नेपाली रुपैयाँ विदेशीएको हो । यस्तैगरी, उक्त विद्युतीय गाडी आयातबाट सरकारले एक अर्ब ४३ करोड ९२ लाख रुपैयाँ बराबर राजश्व संकलन गरेको छ । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित हुने गाडीको आयातमा रोक लगाउँदा विद्युतीय गाडी आयातमा बृद्धि भएको गाडी बिक्रेताहरु बताउँछन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का महासचिव सुरेन्द्रकुमार उप्रेती पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने गाडीमा पूर्ण रुपमा रोक लगाउँदा विद्युतीय गाडीको आयातमा बृद्धि भएको बताउँछन् । ‘पछिल्लो समय सरकारले विद्युतीय गाडी आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि केही बढेको थियो तर, गत बैशाखदेखि सरकारले अन्य गाडी आयातमा रोक लगाउँदा विद्युतीय गाडीको आयात बढेको हो’, उनले भने । ठूला क्षमताका गाडीको आयात छैन विद्युतीय गाडीमा प्रोत्साहन गर्ने भन्दै सरकारले गत आर्थिक वर्षको बजेटमा विद्युतीय गाडी आयातमा सहुलियत दिएको थियो । तर, चालु आर्थिक वर्षको बजेट माफर्त १०० किलोवाट क्षमता माथिका चारपाँग्रे विद्युतीय गाडीको भन्सार र अन्तशुल्कमा वृद्धि गरेको छ । सरकारले किलोवाट नै तोकेर भन्सार र अन्तशुल्क बढाएपछि १०० किलोवाट क्षमता माथिका विद्युतीय गाडी आयात पूर्ण रुपमा रोकिएको नाडाका महासचिव उप्रेतीले बताए । उनले विद्युतीय गाडीको भन्सार र अन्तशुल्कमा बृद्धिसँगै डिजेल तथा पेट्रोलका गाडी आयातमा रोक लगाउँदा व्यवसायीसँग पुराना मोडलका गाडीको मात्र स्टक रहेको बताए । ‘उपभोक्ताले रोजेका कुनै गाडी अहिले बजारमा छैनन्, नयाँ ल्याउन रोक लगाइएको छ, अहिले बजारमा बिक्री नभएर लामो समयदेखि बसेका पुराना मोडलका गाडीबाहेक उपभोक्ताको रोजाइका विद्युतीय गाडी समेत छैनन्’, उनले भने । बजेटमा बृद्धि सरकारले १०० किलोवाट क्षमता माथिका चार पांग्रे विद्युतीय गाडीको भन्सार र अन्तःशुल्कमा वृद्धि गरेको छ । सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएको छ । २०० देखी ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ । मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जीप र भ्यानमा ६० प्रतिशत अन्तशुल्क रहेको छ । यसअघि अन्तशुल्कमा पूर्ण छुट दिएको थियो । त्यस्तै, तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भन्सार महशुलमा पनि भारी वृद्धि गरेका छन् । १०० किलोवाट देखी २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखी ३०० किलोवाटसम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरेको छ । हाल विद्युतीय सवारीसाधनमा भने १०० किलोवाटसम्मका १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको थियो ।