नाडा अटो शो स्थगित

काठमाडौं । आगामी भदौ ७ गतेदेखि काठमाडौंमा आयोजना गर्ने भनिएको नाडा अटो शो स्थगित भएको छ । आइतबार बसेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) कार्यसमिति बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको हो । सरकारले आगामी भदौ १४ गतेसम्म दुईपाँग्रे तथा चार पाँग्रे सवारी साधन आयातमा प्रतिबन्धलाई निरन्तरता दिएसँगै नाडाले अटो शो स्थगित गर्ने निर्णय गरेको हो । देशमा विदेशी मुद्रा सचिञ्तीमा कमी आएको भन्दै सरकारले गत बैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाएको छ । यसअघि दुई वर्षसम्म कोभिड-१९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो नाडाले यो वर्ष भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिन अटो शो भृकुटीमण्डपमा आयोजना गर्ने तयारी थालेको थियो । तर सरकारले दुई पाँग्रेदेखि चार पाँग्रे सवारी साधन आयात प्रतिबन्धलाई निरन्तरता दिएसँगै नाडाले अटो शो स्थगित गरेको हो । याे पनि ः  धेरै बिक्री हुने गाडी र बाइकमा नै प्रतिबन्ध, अनिश्चित बन्यो नाडा अटो शो

यामाहा नेपालले ४ जनालाई मोटो जिपी हेर्न थाइल्याण्ड लैजाने

काठमाडौं । नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी हेर्न चार जनालाई लैजाने भएको छ । कम्पनीले असार ९ गतेबाट सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्कीमअन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरूमध्ये बाट लक्की ड्रमार्फत १ जना र बाइक र स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना विजेता छनोट गरी थाइल्याण्ड लैजान लागेको हो । ‘रोड टू मोटोजिपी’ यामाहा नेपालले बाइकप्रेमीहरूलाई मोटोजिपी प्रत्यक्ष हेर्दाको दूर्लभ अनुभव प्रदान गर्ने उद्देश्यका साथ मोटोजिपीसँग समन्वय गरी ल्याइएको स्कीम रहेको कम्पनीले जनाएको छ । कम्पनीले चारजना विजेताहरूका लागि सो अवधिभरको लजिङ र फुडिङको व्यवस्था पनि बेहोर्ने जनाएको छ । स्कीममा सहभागी हुन मानिसहरूले साउन मसान्तसम्ममा कम्पनीको आधिकारिक शोरूममा आई फारम भरिसक्नु पर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार लक्की ड्र मार्फत् विजेताहरू छनोट गरिने कार्यक्रम भदाैमा राखिएको छ । यस वर्षको मोटोजिपी थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा भाद्र १४ देखि १७ सम्म हुँदैछ ।

मौद्रिक नीतिप्रति नाडा निराश, अध्यक्ष भन्छन् : माग सम्बोधन गरिएन

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा अटोमोबाइल्स क्षेत्रलाई सम्बोधन नै नगरिएको जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अटोमोबाइल्स क्षेत्रको कुनै पनि माग सम्बोधन नभएको नाडाका अध्यक्ष धुब्रवहादुर थापाले बताए । उनले अटोमोबाइल्स क्षेत्र हाल उच्च जोखिममा रहेको भन्दै अटोमोबाइल्स क्षेत्रलाई मौद्रिक नीतिले नछोएको बताए । ‘अटोमोबाइल्स क्षेत्र अहिले धेरै जोखिममा छ, विदेशी मुद्रा सञ्चितीलाई देखाउँदै अहिले आयातमा प्रतिबन्ध लगाइएको छ, हाम्रो माग मौद्रिक नीतिमाथि आयातमा लगाईएको प्रतिबन्ध र एलसीमा गरिएको कडाईलाई सम्बोधन हुन्छ कि भन्ने थियो, तर मौद्रिक नीतिमा हाम्रो मागलाई सम्बोधन नै भएन, अहिले जति जोखिम छ, त्यसलाई थप जोखिम हुने देखिएन’, उनले भने ।